काठमाडौंको अध्यागमन छिचोलेर धेरै युवा छुट्टिन्छन्। देश, घर र परिवारसँग। सबैसँग गह्रौं झोला हुन्छ। त्योभन्दा गह्रौं मन हुन्छ। झोला बोक्नलाई छरपस्ट ट्रली छन्। मन आफ्नै थाप्लामा बोक्नुपर्छ।
रसिक अघि बढ्न खोज्छ। सक्दैन। चैत पछि हिमाल पग्लेझैं मन पग्लिन थाल्छ। आँखामा रह जम्छ। सकिनसकी बाँध बाध्छ। बाँध फुटेर आधा मन भुइँमा पोखिन्छ। मुख सुस्साउन थाल्छ। सुक्क सुक्क। ऊ पछाडि फर्किन्छ। बा, आमा र बहिनीले एकतमासले हेरिरहेका छन्। फेरि अगाडि बढ्छ। पोखिएका आँसुमा धेरैका पाइला परिसकेका छन्।
विदेश तन्नेरीको तिर्थ बनेको छ। चिचिलोले हुर्किदै गर्दा विदेश जानुपर्छ भन्ने सिक्छ। तर रसिकलाई त्यस्तो सिकाइएको होइन। 'इन्जेनेल'। उसले नमस्ते भन्न सिकेपछिको दोश्रो शब्द थियो यो। 'बाबु ठुलो भएर के हुने?' पाहुना र ठुलाबडाको कोसेली हुने गर्थ्यो। ऊ जिब्रो फड्कार्थ्यो। बाआमा गर्वले छाती फुलाउँथे। मानौं ऊ सफल ईन्जिनियर नै हो। उसलाई ईन्जिनियर भनेको धेरैपछि थाहा भयो।
समाजमा डक्टर, ईन्जिनियर र सिएहरुको प्रतिष्ठा छ। उनीहरुको आम्दानी मनग्य हुन्छ। चौबाटो काट्दा धेरै नमस्ते फर्काउने उनीहरू नै हुन्छन्। राम्रा सवारी उनिहरू नै चढ्छन। फराकिला घरघडेरी उनिहरू नै जोड्छन्। अनि बाआमाले सन्तानलाई उच्च उद्देश्य लिन नसिकाएर के सिकाउन् त? रसिक हुर्किदै गयो। ऊ सँगै उसको ईन्जिनियर पनि तन्नेरी भयो। ऊ रसिक रहेन। ई. रसिक बन्यो।
रसिक भाग्यमानी छ। यस अर्थमा कि उसको जुँगाको रेखीसँगै सपनाले समेत आकार पायो। मध्यम परिवारका धेरै छोरा यस्ता छन्, जो विमान चालक बन्ने लक्ष्य बोक्छन्। तन्नेरीमा बस चालक मै चित्त बुझाउँछन्। अभिभावक पनि अनौठो सपनाको ब्यापार गर्छन्। मानौं डाक्टर, ईन्जिनियर, पाइलट र सिए मात्र पेशा हुन्। योग्यता हुन्। अरु यिनैको वैभवका साक्षीमात्र लायक छन्।
पढाई सकेर काम खोज्ने बेला आयो। खोजेपछि के भेट्टिन्न? उसले जागिर पायो। जागिर पाउनुको हर्ष नै बेग्लै। जागिरले पैसामात्र दिन्न। मानसम्मान र पहिचान दिन्छ। त्योभन्दा ठूलो कुरा फरक जीवन दिन्छ। जागिर भित्रको समय, लगन र अनुशासनले उसलाई फुरुङ्ग पार्यो। जागिर बाहिरको अथाह स्वतन्त्रताले हर्षित भयो। उसलाई लाग्यो- अरुको जीवन एकपत्रे हुँदा जागिरेको जीवन पत्रैपत्रले भरिएको हुन्छ। हर पत्रमा सम्भावनाका अथाह रङ हुन्छन्। जागिरे रुचीअनुसार आफ्नै रङमा पोतिन्छ। आखिर एउटा युवकलाई चाहिने यिनै कुरा त हुन्। केही घण्टे परिबन्द। त्यसपछl आनन्दै आनन्द।
उसमा उत्साहको कमी थिएन। सिकेका कुराको चित्र उतार्ने पहिलो अवसर पनि थियो, जागिर । कसर बाँकी राख्ने कुरै भएन। दिलोज्यान लाएर काम गर्थ्यो। मसान्तमा तलब आउँथ्यो। होटेल र डेराको तिरेर पनि केही बच्यो। दुईचार पैसा घर पनि पुर्यायो। सबै अफिस बाइकमा आउँथे। ऊ माइक्रोमा। कनिष्ठ स्टाफले कहिले किन्ने हो? भनेर प्रश्न तेर्स्याउन थाले। एकदिन टलक्क टल्किने बाइकमा चढेर अफिस पुग्यो। उसको इज्जतको अर्को तला थपियो। अफिस छुटेर बोइलर, चिउरा र बियरको भोज नै दियो।
नामले मात्र नभएर ऊ मनैले रसिक थियो। फुर्सदमा साथीसङ्गीसँग घुमफिरका फोटा फेसबुकमा हालिहाल्थ्यो। मोजमस्तीले भरिएको लाइफ उसको एकाउन्टले देखाउँथ्यो। अरब, जापान र कोरिया गएका दमालीले समेत र्याल काड्थे। वर्षमा २ पटक पुग्ने उसको बखान भने दिनकै २ पटक गाउँ पुग्न थाल्यो।
दसैंमा नयाँ बाइकमा चढेर ऊ घर पुग्यो। गाउँलेसामु उसको उचाइ झनै चुलियो। तिमी भन्नेले तपाईं, केटा भन्नेले बाबु, रसिक भन्नेले रसिक जी भन्न थाले। 'पढेर मान्छे ठुलो हुन्छ' उसका बाको आहान साच्चै पुरा भयो। रसिक दङ्ग पर्ने नै भयो।
काठमाडौं फर्किने अघिल्लो साँझ घरका सबै गफ गर्न बसे। 'गाउँमा सबैले लेन्टर घर बनाइसके। खरदारको जागिर। अहिलेसम्म तेरो खर्च पुर्याउँदैमा ठीक्क भो। अलिकती रिन नि लाछ। यो जस्ता फालेर ढलान गर्न परो भनेको।' रसिकतिर बाले आश फाले।
'अहिले त गाउँभरका केटाजति अरब गएर पैसो कमाछन्। बाटातिर घरघडेरी नजोड्ने कोही छैन।'आमा बोलिरहिन् 'नपढेका केटाले त तेत्रो गरे। हाम्रो रसिकले यही कमाउँछ भन्चु म गाम्लेलाई।'
रसिक रनभुलमा पर्यो। ऊ चुपचाप संवादको साक्षी बस्यो। बाआमाको असिमित अपेक्षाले मनमनै डरायो पनि।
'बैशाकमा एसएलसी सकेर मुनी क्याम्पस पढ्न काठमाडौं जानी हुम्' बहिनीले बल्ल पालो पाई। घरब्यवहारको लामो छलफल सकियो। सबै सुत्न आआफ्नो खाटतिर लागे।
रसिक खाटमा उत्तानो पर्यो। आफ्नो घरको न्यानो ओच्छ्यानमा उसलाई पहिलो पटक निद्रा परेन। रात गहिरो छ। उ धुरी हेर्न खोज्छ। कालो मात्र देख्छ। आँखा अड्याउने ठाउँ पाउँदैन। दायाँबायाँ गर्छ। चारैतिर रात पसारिएको छ। अध्याँरो मडारिएको छ। उसले बाइक फाइनान्स गरेको छ। हरमहिनाको तलब बैंकमा तिर्नुपर्ने छ। कोठा भाडा महंगो छ। होटेलको नियमित खर्च छ। काठमाडौंको ठाउँमा चल्न अलिकती पैसा खल्तीमा पनि हुनुपर्यो। ऊसँग जागिर छ। मनग्य पैसा छैन।
दसैंमा घरसम्म आउने पेट्रोल किन्न आधा तलब हाल्नुपर्यो। नाकाबन्दीले होटेल खर्च दोब्बरिएको छ। कालोबजारीको बिगबिगी छ। आवश्यकता असङ्ख्य छन्। यो बादल छिट्टै हट्ला भन्ने संकेत पनि छैन।
आफ्ना दौंतरीले घरबारको व्यवस्था मिलाइसकेछन्। एसएलसी पछि एकै बसमा उनीहरू काठमाडौं आएका थिए। रसिक क्याम्पस भर्ना भयो। उनिहरू अरब हिंडे। बिदाइ गर्न एयरपोर्ट पुगेको रसिकलाई उनिहरुले भने 'ल, भविष्य बना यार ! आफू त पढ्न सकिएन।'
पढ्न जेहेन्दार रसिकले केही गर्छ भन्ने भरोशा उनिहरूको आँखामा प्रष्ट देखिन्थ्यो। 'तँ पढाईमा तेज मान्छे। तलाई त देश मै विदेश छ नि।'
अहिले पनि साथीहरू च्याटमा भन्छन्। 'उनीहरूले उन्नति गरिसकेछन्। मेरो त पढ्दाखेरिकै १० लाख ॠण रहेछ।' रसिकले खुइय गर्यो। कहिले तिर्ने कहिले कमाउने।
'मलाई ॠण नै खोजेर त किन पढाउनु पर्थ्यो र बाले? म सामान्य विषय पढेर नि यति त कमाउन सक्थें। पहिलाजस्तो डाक्टर, ईन्जिनियर हुनेजतिले कमाउने जमाना पनि रहेन अब। घुसखोरी, कालाबजारी र दलाली गर्न सक्नेले पो कमाउँछ पैसो। वा ठूलै नेताको आड लागेर ठेक्कपट्टा, दुई नम्मरी जान्नु पर्यो। त्यस्ता मान्छेलाई पढ्न पनि पर्दैन।'उसलाई खल्खली पसिना छुट्यो।
घाँटी बगर बन्यो। आँतले पानी खोज्यो। पानी पिउन भित्तामा झुन्डिएको बेडस्विच थिच्यो। बिस्तारै फैलेको प्रकाशको परावर्तन तखतामा सजाएका उसका मेडल छोएर फर्किए। उसका आँखा तिर्मिराए। छातीभित्र एकमुल्का प्रकाश सुल बनेर पस्यो। मन उज्यालो भयो। 'त्यसो त शिक्षा आर्जनका लागि मात्र कहाँ हो र? यो त जीवनका लागि हो।' उ अलिकति शान्त देखियो। बत्ती निभायो। र अध्याँरोको घुम्टोभित्र एकैछिनमा अलप भयो।
बिहान अबेर उठ्यो। पुर्वतिर फर्कियो। घाममाथि आएको छ। पारिको क्षितिज स्पष्ट देखिन्थ्यो। कुनै तुँवालो थिएन। आमाले चिया खान भित्र डाकिन्। बाले चिया सुरुप्प पार्दै सोधे, 'के बिचार अरिस त?'
'म विदेश जाने प्लानमा छु। अनि बनाम्ला घर।'
'जागिर पाकै छस्, किन जानु परो विदेश?'
'पढ्न जाने।'
'विदेश जानलाई पैसो पनि छैन' बाले निधारमा गाँठो पारे।
'स्कलरसिपमा। पैसा लाग्दैन।'
'अलिअली आर्जन पनि हुन्छ तर?' बालाई पैसाको खाँचो छ।
'हुन्छ। फुर्सदमा काम पनि गर्छु।'
'पढाइअनुसारको काम मिल्छ?'
'मिल्छ। विदेशमा डाक्टर, ईन्जिनियर भएर इज्जत कमाएका नेपाली थुप्रै छन्।' रसिकले आंशिक सत्य बोल्यो। बाले पत्याएझैं गरे। आखिर बाआमा पनि छोरो विदेश जाओस् भन्ने चाहन्छन्। देश र देशमै बस्ने तन्नेरीको हालत उनीहरुले देखिसके।
दसैं सकियो। आफ्नै देशमै बसेर ठूलो मान्छे बन्ने सपना पनि सकियो। बाँच्नका लागि चाहिने पैसो नै रहेछ। मनमा चेत पस्यो। तत्काललाई खड्किएको पैसा नै हो। जागिरलाई उसले दोश्रो प्राथमिकतामा राख्यो। राजधानी फर्केर विदेश जाने डकुमेन्ट मिलाउन सुरु गर्यो। थुप्रै युनिभर्सिटीमा एप्लाई गर्यो।
ऊ विदेश जाने भयो। मन यतै डुलिरहेछ। 'केही वर्षमा पैसा, पढाई र प्रविधी बोकेर देश फिर्नुछ', आफ्नो मनलाई सम्झाउँछ। यसो भन्ने चिनजानका कत्ति मान्छे उतै भासिए। मन एकोहोरो बन्छ। मन बुझाउनलाई गर्ने अरु कुरा पनि त छैन। देशमा काम गर्ने वातावरण पनि भएन। वा अवसर खोज्न सकिन।
'छोरो ठूलो देश जाने भो' सन्तानको हर पाइलामा मख्ख पर्नु त बाआमाको विशेषता नै हो। रसिकलाई बिदाइ गर्न सपरिवार एयरपोर्ट जम्मा भएका छन्। उसको मन ढुङ्गो बनेको छ।