बागमती सफाइ महाअभियानले १५० औं सप्ताहको उपलक्ष्यमा शनिबार गुह्येश्वरीमा उत्सव मनाइरहँदा बागमतीको फोहोर मिल्काउन खटिइरहेका अभियन्ताहरूलाई खिन्न महसुस भयो।
शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी बागमती छिर्दा अभियन्ताहरू रोकिए। सुरक्षाकर्मीले भण्डारीलाई घेराभित्र राखे। अभियन्तालाई छिर्न दिइएन। राष्ट्रपतिामात्र नदीमा गइन्। राष्ट्रपतिले कति फोहोर उठाइन्÷उठाइनन्, सुरक्षाकर्मीले मात्रै देखे।
‘हिजो बागमतीको दुर्गन्धले सहरै प्रदुषित गराउँदा राष्ट्रपति टिप्न आएका थिएनन्,’ रुद्रमती सरोकार समाजका उपाध्यक्ष शशिकुमार मैनाली आक्रोशित बन्दैथिए, ‘आज हामी (अभियन्ता)लाई नै बाहिर राखेर राष्ट्रपतिलाई छिराइयो, राष्ट्रपति हामीसँग गएर फोहोर टिप्न हुँदैन?’
मैनाली १०८ हप्तादेखि बागमती सफाइमा संलग्न छन्। बागमती तुलनात्मक रुपमा सफा भएको उनको अनुभव छ।
करिब पाँच लाखसम्म सफाइमा जुटेको भनिए पनि बागमती अहिले पनि सोचेजति सफा छैन। फोहोर फाल्ने क्रम रोकिएको छैन। ढल मिसिइरहेको छ। तै पनि अभियन्ताहरू बागमती पसिरहन्छन्। बागमतीमा फोहोर मिसाउन हुन्न भन्ने चेतना फैलाउने आफूहरूको एउटैमात्र प्रमुख उद्देश्य रहेको अभियन्ता बताउँछन्।
सफाइ अभियानका संयोजक पूर्वमुख्यसचिव लीलामणि पौडेलका अनुसार तीन वर्षपहिलेको बागमती र अहिलेको बागमतीमा आकाश–पाताल फरक छ। बागमतीको मूल बागद्वार पनि सफा गरिसकेको पौडेल बताउँछन्।
उनीजति कोही पसेको छैन बागमती। तर सरकारी निकाय कहिल्यै बागमतीमा पसेन। फोहोर उठाएन।
‘जति फाल्छन्, उति टिप्ने हो, सम्झाउने हो बुझाउने यही हो हाम्रो उद्देश्य,’ बागमती सफाइमा सरकारी उदासिनताप्रति पौडेल भन्छन्, ‘गभरमेन्टलाई त हामीले झक्झक्याइरहेका छौं। दबाब दिइरहेका छौं।’
बागमती सफाइको अभियान चलेको तीन वर्षपछि बल्ल सरकारले खोलाको दुबैतिर ढल बनाउन थालेको छ। ‘ढल बिछ्याउने काम भइरहेको छ, बागमती सफाइका लागि सरकार लागिरहेको छ,’ सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले भनिन्, ‘यसका लागि कार्ययोजना पनि बनाउँदै लानेछौं।’
पूर्वमुख्यसचिव पौडेलका अनुसार ढल सरकारले बनाउने हो, अभियानले हैन। त्यसैले सरकारी निकायलाई दबाब दिइने गरेको छ, चेतावनी दिइन्छ।
आफू मुख्यसचिव भएका बखत बागमतीमा फोहोर गर्नेलाई किन कारबाही गर्न नसक्नुभएको? भन्ने प्रश्नमा पौडेलले भने, ‘सफा ठाउँमा फोहोर फाल्नेलाई पो कारबाही गर्ने त, फोहोर ठाउँमा फोहोर फाल्नेलाई के कारबाही गर्ने ? त्यसैले फोहोर नफाल भनेर आफैं थालेको हो। सबैले उल्लंघन गरेको ठाउँमा कानुनी फोर्स हुँदैन।’
बागमती सफा बनाउने सोच भएको मान्छेले आफैंबाट काम थाल्नुपर्ने पौडेलको तर्क छ। ‘आफूले गरेको फोहोर खल्तीमा राख्छु, सुरक्षित ठाउँमा व्यवस्थापन गर्छु भनेर देखाउन सक्नुपर्छ,’ उनी भन्छन्, ‘आफू चाहिँ फोहोर गर्ने अनि त्यसले फोहोर ग¥यो कारबाही गर्नुप¥यो भन्न मिल्दैन।’
उनका अनुसार बागमतीमा जति फोहोर फाल्छन्, टिप्ने हो। खबरदारी गर्ने हो।
‘यहाँ उल्टो भइरहेको छ, आफूचाहिँ गैरजिम्मेवार हुने। सिंगापुर, अमेरिका कति सफा रहेछन् यी सहर भनेर थुक निल्ने,’ पौडेल भन्छन्, ‘अनि यहाँ चाहिँ पिच्च–पिच्च थुक्ने ?’
पौडेलले पढेलेखेका मान्छेले नै कानुन बनाउने, उल्लंघन आफैं गर्ने गरेको आरोप लगाए। ‘हामी जति पनि दबाब दिनसक्ने ठाउँका मान्छे छौं, पढेलेखेका कानुन जानेका मान्छे छौं,’ पौडेल भन्छन्, ‘जम्मैले नगर्ने कूकर्म गर्ने अनि फलानो भन्ने ?’
बागमती सफाइको तीन वर्षयताका अनवरत् अभियन्ता पौडेललाई ठूलो पश्चाताप रहेछ– आफूले विगतमा बागमतीमा धेरै फोहोर गरेँ भनेर। त्यसैले सफाइ अभियानमा ढिलै भए पनि हिँडेको उनी बताउँछन्। ‘मैले पहिले–पहिले कति फोहोर गरेँ कति,’ पौडेल भन्छन्, ‘बागमतीमा फोहोर गरेकोमा पश्चाताप छ, त्यसैले म अभियानमा होमिएँ।’
अहिलेसम्ममा बागमती सफाइ अभियानमा पाँच लाख मानिस संलग्न भएको अनुमान छ। पौडेलका अनुसार यस अभियानमा १२ सय जति संघ–संस्था छन्।
नियमित सफा गर्ने निकाय त छन्, तर फाट्टफुट्ट। बागमती सफाइ विकास समिति छ खोलैमा। नगरपालिका छ, वातावरण मन्त्रालय, विभाग, सडक विभाग, सहरी विकास मन्त्रालय, खानेपानी सरसफाइ विभाग छ, धेरै छन्।
‘यिनीहरूले नगरेरै त हो हामी यहाँ पसेको,’ पौडेल भन्छन्, ‘यिनीहरूलाई हामीले कामप्रति जिम्मेवार बनाउने, सघाउने, उत्प्रेरित गराउने, उत्साहित बनाउने र दबाब दिने हो। काम गरेनन् भने हामी उनीहरूको अनुत्तरदायीको सार्वजनिक भण्डाफोर गर्छौं। अनि कारबाहीको लागि दबाब दिन्छौं।’
पौडेलका अनुसार अहिले घचघच्याउने तहसम्म पुगिसकिएको छ।
‘कतिपय कामचोर र फटाहा छन्, तिनलाई दबाब दिने हो,’ पौडेल भन्छन्।
अभियन्ता मैनालीका अनुसार बागमतीमा अहिले सरकारको उपस्थिति हेर्ने हो भने सुरक्षा निकायबाहेक कोही छैन। सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरीले स्वःस्फूर्त फोहोर फाल्न सघाइरहेका छन्। तीन वर्षको अवधिमा धेरै संघ–संस्था अभियानमा सहभागी छन्।
उनका अनुसार गुह्येश्वरीदेखि बानेश्वरसम्म बागमती धेरै नै सफा छ। फोहोर फाल्ने क्रम विस्तार विस्तार रोकिँदै गएको छ। ‘गुह्येश्वरीदेखि बानेश्वरसम्म धेरै नै सफा छ, धेरै ठाउँ नुहाउनयोग्य बनाएका छौं,’ मैनाली भन्छन्।
मैनालीका अनुसार बागमतीमा सरकारको लगानी प्रष्ट छैन। ढल व्यवस्थापन छैन। रुद्रमतीमा सुरू हुन खोजिरहेको छ। खोला दायाँवायाँ ढल बनाउन सरकारले खोजेको छ।
‘बागमती सम्पदा पनि हो र यसलाई ढलमुक्त बनाउनुपर्छ भनेर प्रेरणाको हिसाबले सरकार लागेको छैन,’ मैनाली भन्छन्।
बागमती सफाइ अभियन्ता तथा एपेक्स कलेजका प्रिन्सिपल एलपी भानु शर्माका अनुसार बागमतीमा फोहोर फाल्ने क्रम ९० प्रतिशतले घटेको छ। त्यसैले अभियान सफल बन्दै गएको मान्न सकिन्छ।
‘सरकारले पनि तालमा ताल मिलाएर सफा गरेको भए, ढल फाल्न छोडेको भए, पानी सफा गरेको भए त के हुन्थ्यो हुन्थ्यो नि,’ शर्मा भन्छन्, ‘यही बागमतीमा अर्बौंको प्रोजेक्ट छ एडिबीको, काम गरेको भए हुन्थ्यो होला।’