काभ्रेपलाञ्चोकमा चालु आवको झन्डै दुई महिनाको अवधिमा प्रहरीले अदालतबाट दोषी ठहर भएका ३० जना फरार अपराधीलाई पक्राउ गरेको छ ।
गत मङ्सिर १० गतेदेखि अहिलेसम्म उनीहरुलाई फरकफरक स्थान तथा मितिमा कर्तव्यज्यान, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगी र लागुऔषधलगायतका विभिन्न मुद्दाका फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको हो ।
फरार अपराधीबाट दुई महिनाको अवधिमा कुल १४ वर्ष ११ महिना २६ दिन कैद भुक्तान असुल गरिएको र उनीहरुसँग सोही अवधिमा कुल १० करोड ३० लाख ६७ हजार ११५ रूपैंया जरिवानासमेत असुल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए।
उनले जिल्लामा अझै फरार अपराधीको सङ्ख्या ६१० रहेको उल्लेख गर्दै पक्राउ गर्न गाउँगाउँमा समेत प्रहरी परिचालन गरिएको बताए ।
अदालतबाट फैसला भएर अपराधी ठहर भएकालाई पक्राउ गर्न प्राथमिकताका साथ काम गरिरहेको उनले बताए।
चालु आव २०७२÷७३ को अहिलेसम्म कुल १६३ जना फरार अपराधी पक्राउ परेका छन्। उनीहरुसँग ७२ वर्ष नौ महिना १४ दिन कैद असुल भएको र झन्डै कुल रु १८ करोड ६६ लाख पाँच हजार ७६२ जरिवाना असुल भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ। रासस