प्रहरीको गोली लागेर १६ वर्षे नाति मारिएको पर्सिपल्ट उस्तै गरी ६८ वर्षे हजुरबुवाको निधन भयो। अघिल्लो मधेश आन्दोलनमा सम्भवतः सबैभन्दा पीडित बजराहीस्थित यो परिवारको विभत्स भोगाइ सुन्न मंगलबार बेलुकी हामी उनीहरूको घरमा उपस्थित थियौं।
यो उनै रोहन चौधरीको घर हो, जो भदौ २३ गते गोली लागेर निधन नभइदिएको भए बिहीबारबाट सुरु हुने एसएलसी परीक्षाका लागि तयारी गरिरहेका देखिने थिए।
हाम्रो समूह बाहिर बसेर कुरा गरिरहेकै बेला एक महिला घरको ढोकैमा उभिएर यो सबै दृश्य ब्याकुल भएर सुनिरहेकी थिइन्। आफूले पनि केही भन्न खोजेको छटपटीकै बीच उनले हातले इसारा गरिन्। नजिक जानेबित्तिकै एकैपटक धेरै कुरा बोल्न खोज्दाको अप्ठेरोले उनको गला अवरुद्ध भयो। बोल्नै सकिनन्। गलाबाट निस्कन नसकेको आवाज भक्कानिएर आँखाबाट आँसु बनेर बग्न थाल्यो।
‘मेरो बच्चाले त्यस्तो के अपराध गरेको थियो?’ एकै छिनपछि आवाज खुलेको बबिता चौधरीले तुफान मच्चिरहेको आँखाले हेर्दै प्रश्न सोधिन्, ‘के नेपालको यस्तै नियम हो? तपाईंहरू के भन्नुहुन्छ?’
त्यो क्षण यी आमाको आँखामा हेर्न पनि मुश्किल भइरहेको थियो।
‘एसएलसी तयारीमा लागेको ऊ तीन बजेदेखि अंग्रेजी ट्युसन पढ्थ्यो र त्यसका निम्ति साढे दुई बजे घरबाट निस्केको थियो,’ उनले भनिन्, ‘यसरी गएको छोरालाई चार बजे आसपासमै प्रहरीको गोली लागेको सुन्नुपर्दा मलाई कस्तो भयो होला?’
त्यसदिन घरमा बसिरहेको बेला एक्कासि मान्छेहरू ‘रोहनलाई के भयो–के भयो’ भन्दै चिच्याउँदै आएपछि बबिताको होस उडेको थियो। उनी केही विचारै नगरी त्यो भीड छिचोलेर दौडन थालिन्। खेतैखेत कुदेर अस्पताल पुगिन्।
गोली लागेर सडकमा लडेको उनको छोरालाई त्यता ल्याइएको खबर अस्पतालबाहिर सुन्नेबित्तिकै उनी त्यतै मुर्च्छा परिन्। दुईतिरबाट मान्छेले समातेर उनलाई अस्पताल भित्र लगे।
‘अस्पताल पुग्दा त खत्तम भइसकेको थियो,’ उनले भनिन्, ‘बेडमा लडेको उसको शरीरमा कुनै हलचल थिएन।’
‘के भन्नुहुन्छ तपाईंहरू? के नेपालको यही नियम छ?’ उनले फेरि जवाफ दिनै मुश्किल पर्ने प्रश्न तेस्र्याइन्।
उनलाई आफू वरपरको समाज देखेर पनि विरक्त लागेको रहेछ। ‘जिन्दगीभर मैले नचिनेको मानिस घर आउँदा पनि स्वागत गरेँ, पानी पिलाएँ,’ भन्दै गइन्, ‘गोली लागेर लड्दै गरेको बेला न मेरो छोरालाई थाम्ने कोही भइदियो न उसले ‘पानी पानी’ भनेर छट्पटाइरहेको बेला कसैले मुखमा अलिकति पानी हालिदियो। मान्छेहरू भन्छन् कतिबेरसम्म एक्लै सडकमा छटपटाएको छटपटायै थियो।’
आँखा र गालाभरि लतपतिएको आँसु दुवै हातले पुछेपछि उनी फेरि गर्जिन थालिन्, ‘सबैको निम्ति छोरा एकै समान हो। मेरो ठाउँमा अरूले आफूलाई राखेर हेरोस् न। कुनै पनि आमाले कति कष्ट सहेर सन्तान पाएकी हुन्छे, हुर्काएकी हुन्छे। कति सपना देखेकी हुन्छे। के म मात्रै त्यस्ती आमा हुँ? मेरो पीडा त जसले पनि बुझ्नुपर्ने हो। किन कसैले बुझिरहेको छैन?’
उनका दुःख सुनेर को को आए भनेर जिज्ञासा राख्यौं। सरकारबाट केही पहल भयो कि भनेर सोध्यौं। ‘पत्रकारहरू धेरै आए, भाषै नबुझ्ने विदेशीहरू पनि आए। कसैले केही गरेनन्,’ उनले आक्रोश थपिन्, ‘सरकारले त के गर्छ?’
पाँच कक्षाको पढाइ जलेश्वरमै सकेर उनका छोरा रोहन बुवा विनय चौधरीका साथ काठमाडौं गएका थिए। कालिमाटीको केइसी इन्जिनियरिङ कलेजमा काम गर्ने विनय घटना बेला पनि उतै थिए। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको लाइब्रेरीमा समेत लामो समय काम गरिसकेका उनले लगभग २८ वर्ष काठमाडौंमै बिताएका छन्।
‘नेताहरूले आफ्नो स्वार्थमा लागेर जनतालाई बलि चढाइरहेका छन्,’ छोराको घटनालगत्तै जलेश्वर आएपछि यतै बस्न थालेका विनय भनिरहेका थिए, ‘राजनीति गर्नेहरूले फैलाएको भ्रममा परेर हामी एकअर्काविरुद्ध खनिएका छौं। यसले देशलाई कहीँ पुर्याउँदैन। यो देश पहाडी, मधेसी दुवैको हो।’
आठ कक्षासम्म बुवा विनयसँग बसेर उतै पढेपछि बबिताका छोरा दुई वर्षअघि फर्किए र छेवैको शिशुज्ञान स्कुलमा ९ कक्षामा भर्ना भएका थिए। त्यहीँबाट यसपाला एसएलसी दिँदै थिए।
‘काठमाडौंबाट फर्किँदा उसले गितार बोकेर आएको थियो,’ रोहनको कोठामा थन्क्याइएको गितार निकाल्दै उनले भनिन्, ‘ऊ बेलाबेला बेफिक्री गितार बजाएर गाउँथ्यो। म आनन्द मानेर सुन्थेँ।’
जलेश्वरको ‘मिर्ची एफएम’मा दिनको एक घन्टा काम गर्ने रोहनले कमाएको पैसा ल्याएर आमालाई नै बुझाउने गरेको थियो। ‘मैले खाए–नखाएको पनि यो संसारमा उसैले मात्र सोध्थ्यो,’ उनी फेरि विह्वल भइन्, ‘अब कसले सोध्छ?’ आठवर्षे उनका दोस्रो (कान्छो) छोरा यतिबेला उनको माइतमै बसेर दुई कक्षा पढ्दैछन्।
रोहनले आमासँग कुराकानी क्रममा पढेलेखेर आफू पनि हजुरबुवाजस्तै पत्रकार बन्ने सपना सुनाउने गरेका थिए। हजुरबुवा अर्थात् गणेशप्रसाद चौधरी । सदरमुकाम जलेश्वरमा उनलाई ‘मन्त्रीजी’ भनेर चिनिन्थ्यो।
जिल्ला रेडक्रसमा सचिव बनेर धेरै वर्ष काम गरेका थिए उनले। रेडक्रसमा सचिवलाई मन्त्री भनिन्छ। महोत्तरी जिल्लामा रेडक्रस स्थापनाकालदेखि सक्रिय चौधरीको पुरानो परिचय त पत्रकार थियो। भूमिहार ब्राह्मणहरूको यस टोलका प्रबुद्ध यिनका दुई छोरा, एक छोरी छाडेर श्रीमती दुई वर्षअघि बितेकी थिइन्।
आफ्नै पोखरीसमेत भएका सम्पन्न परिवारका गणेशजीले ०२९ सालताका स्थानीय रूपमा जनवाणी साप्ताहिक निकालेका थिए। आफैं सम्पादक तथा प्रकाशक थिए। पञ्चायतकालमा १५ वर्षजति निकाले। त्यसपछि चार–पाँच वर्ष प्रभात साप्ताहिक पनि निकाले। त्यो पनि बन्द भयो। उनी राष्ट्रिय समाचार समितिका जिल्ला प्रतिनिधिका रूपमा कार्यरत रहे। स्थानीय पहिचान भने रेडक्रसकै स्वयंसेवाले बलियो बनाएको थियो।
काठमाडौंमा संविधान निर्माणका आखिरी दिन चलिरहेका बेला यता मधेसमा भने आन्दोलन चलिरहेको थियो। गाउँगाउँबाट नागरिकहरू सदरमुकाममा प्रदर्शनका लागि आउने क्रम बढ्दो थियो।
भदौ २३ गते सदरमुकाम जलेश्वर पस्ने चारैतिरका गौंडा थुन्न प्रहरी तैनाथ थिए। जनता रोकिएनन्। सहरमा एकैदिन तीन जनाको ज्यान जाने गरी प्रहरी कारबाही भयो। केही घाइते भए। त्यसै दिन १६ वर्षे नाति रोहन बितेको खबरले हजुरबुवा गणेशजी विह्वल भए।
पृथकतावादी सिके राउतको भिडियो प्रदर्शन गर्न चाहने केही युवाले माहोल तताइरहेका थिए। आन्दोलनकारी र प्रहरी प्रशासनबीच सम्बन्ध कति तनावपूर्ण भइसकेको थियो भने क्रमशः लाठीचार्ज, अश्रुग्यास, पानीको फोहरा र रबरको गोली चलाउने प्रहरी शैली बदलिँदै थियो। उता प्रदर्शनकारी पनि हिंस्रक बन्दै थिए। उनीहरुले सशस्त्र प्रहरीका असई धनबहादुर बिकलाई एक्लै पारेर लाठी र चिर्पट बर्साए। गम्भीर घाइते भएका विकको स्थानीय अस्पतालमा उपचार सम्भव भएन। एम्बुलेन्समा हालेर गाउँको बाटो हुँदै विकलाई उपचारका लागि ठूलो अस्पताल लगिँदै थियो। विकलाई बोकेको एम्बुलेन्ससमेत एउटा गाउँमा स्थानीयले घेरे। एम्बुलेन्स बाहिर तानेर घाइते विकको हत्या गरे। उनका कुरुवा र एम्बुलेन्स चालक भागेर बाँचेका थिए।
तिनै असई बिकका कुरुवा भाग्दाभाग्दै कुनै एउटा गाउँमा लुकेका थिए। त्यहीँबाट उनले प्रहरीलाई खबर गरी आफूलाई लिन आउन अनुरोध गरे। प्रहरीले बाटो क्लिएर गर्न भ्यान बढायो।
गणेशजी आन्दोलनरत सदरमुकाम बजारमा कफ्र्यू भएकाले साइकल लिएर घुम्न निस्किए। मन बहलाउन केही पर हटियातिर गए। सदरमुकामबाट चार किलोमिटर पर रानी रत्नवाडा भन्ने ठाउँ थियो। छोरा विजय चौधरी भन्छन्, ‘बजारमा कफ्र्यू छ, घरमा कति बस्नु भनेर साइकल लिएर बुवा रत्नवाडा जानुभएको थियो। नाति बितेको तेस्रो दिनको कुरा थियो। असई बिकका कुरुवालाई लिन गएको प्रहरी भ्यानले त्यो हटियामा स्थानीयबासीको भीड देख्यो।’
गणेशजी एउटा पसलमा सुर्ती किनेर काट्न लगाउँदै थिए, त्यही बेला प्रहरी गाडी देखेर झस्किए। अरु पनि तर्सिए र गाउँभित्र पस्न थाले। उनी पनि हतारहतार दौडिए।
स्थानीयबासीलाई उद्धृत गर्दै स्थानीय सञ्चारकर्मी भन्छन्, ‘गाउँलेका अनुसार उहाँ भागिरहेको बाटो उकालो नभएको भए वा उहाँ आफैं अग्लो नभएको भए पनि गोली लाग्न पुग्ने थिएन कि?’
जिल्ला रेडक्रस कार्यालयका कर्मचारी जेठा छोरा विजय त्यतिबेला बजारमा गोली लागेर घाइते भएकी रामशीला देवी मण्डल नामकी अधवैँशेलाई एम्बुलेन्समा राखेर अस्पताल पुर्याएका मात्र के थिए, आफ्नै बुवालाई गोली लागेको थाहा पाएको आधा घन्टाभित्र घटनास्थल पुगे। साइकल माथि, बुवा तल पल्टिरहेको देखे। गोली आँखीभौँनेर हानिएको रहेछ।
एम्बुलेन्समा अस्पताल लगे पनि बुवा पहिल्यै बितिसकेको छोराले चाल पाए। एउटी अधवैँशे महिला पनि त्यसैगरी अनाहक मारिएकी थिइन्। अरू तीनजना भने कलिला किशोर थिए।
जिल्ला अस्पतालमा हजुरबुवा गणेश र नाति रोहन एकैघरकासहित पाँच वटा शव केही दिनसम्म राखियो। प्रहरीहरु जिल्ला अस्पतालभित्र औजार लिएर पोस्टमार्टम गराउन खोज्थे, बाहिर आक्रोशित जनसमुदाय देखेर तर्सिन्थे। आन्दोलनकारी र प्रशासनबीच छलफल जारी रह्यो। अन्ततः एक सातापछि पाँच वटै शव दाहसंस्कारका लागि मलामी लैजाने निर्णय भयो। मलामी जाने बाटो निर्धारित भयो।
रातो खोला घाटमा जाने मलामीको भीडले जिल्लाको वातावरण शोकाकुल बनाएको थियो। शोकमग्न सदरमुकामबासी घर फर्किँदा साँझ पर्न लागेको थियो। ठीक त्यही बेला त्यही दिन काठमाडौंमा संविधान जारी हुँदै थियो।
आफ्ना बुवा चढेर गएको साइकल केही दिनपछि विजयले घर ल्याए। बुवा किन मारिनुपर्यो, किन उनीमाथि गोली लाग्नुपर्यो, किन त्यहाँ गोली चलाउनुपर्यो उनले अहिलेसम्म बुझ्न सकेका छैनन्।
छोरा विजय भन्छन्, ‘मेरा बुवामाथि किन गोली हानियो हामी अहिलेसम्म अन्यौलमा छौं। के कारण हो यत्रो आन्दोलनमा प्रहरीले एक्कासि धातुकै गोली हान्ने गर्यो? चेतावनी दिने, लाठीचार्ज गर्ने, पानीको फोहरा हान्ने, अश्रुग्यास प्रहार गर्ने र आवश्यक परे रबरको गोली हान्ने किन गरेन?’
‘न्यायिक छानबिन नभई घटना के कसरी भए हामीलाई सही रूपमा जानकारी हुँदैन र हामीलाई चित्त शान्ति पनि हुँदैन,’ उनी भन्छन्।
यतिबेला चौधरी परिवारमा न सहरकै पुराना पत्रकार गणेशजी रहे न हजुरबुवाजस्तै पत्रकार बन्छु भन्ने उनका १६ वर्षे नाति रोहन।
‘अचेल त म दिनभरि पोखरीछेउ बसेर बिताउँछु,’ घरै अगाडि घाटसहित बनाइएको देहाती पाराको पोखरी देखाउँदै आमा बबिताले भनिन्, ‘छोराको याद आएर मन त्यसै पोलिरहन्छ। के गर्ने!’
त्यसै पोखरीमा वर्षौअघि एक जना मानिस डुबेको देखेदेखि रोहनले त्यसमा पाइताला पनि हाल्न छाडेका रहेछन्। ‘मृत्युसँग त्यति डराउँथ्यो मेरो छोरा,’ उनले भनिन्।
छोराले कुनै अपराध गरेको भए पनि गल्ती गरेको थियो मारियो भनेर चित्त बुझाउने बाटो रहने थियो भनेर बबिता सुनाउँछिन्। ‘जस्तो त्यो खसीको हत्या गर्छ नि,’ उनले अर्को हृदयविदारक उदाहरण दिइन्, ‘त्यस्तै जानी जानी सरकारले मेरो छोराको हत्या गरेको छ।’
उनले आक्रोश पोख्ने क्रममा मधेसका नाममा राजनीति गर्ने नेताहरूलाई पनि छाडिनन्। ‘यो अपराधमा सबभन्दा ठूलो सजाय त त्यो नेताहरूलाई दिनुपर्छ, जसले यत्रो काण्ड गराए,’ भनिन्, ‘उनीहरू वा उनीहरूका सन्तान त कोही मरेनन्, हाम्रा छोराछोरीको बलि चढाए।’