आँगनमै ठूल्ठूला भाँडामा पकाउने र खन्याउने गरिरहेको त्यो ठाउँमा सुनसान गाउँभन्दा विपरित अलिक चहलपहल थियो।
‘के को भोज हो?’
अपरिचित मानिस एक्कासि टुपुल्किएर यस्तो प्रश्न राख्नेबित्तिकै वडा नम्बर ७, बथान टोलका सबै चनाखो भएर हेर्न थाले।
‘उसको दुलही मर्यो,’ फुसको टाटीमा ढाड राखेर ढल्किरहेका रामप्रसाद सदाले जवाफ दिए, ‘आज तेह्र दिनको भोज छ।’
छेउछाउमा ठूल्ठूला पन्यू लिएर बसेका तन्नेरी फेरि विशाल कराहीको तेलमा हल्का रातो तारिँदै गरेको काउलीलाई तीनतिरबाटै चलाउन थाले।
यता रामप्रसादले इसारा गरेको अधवैंशे मानिस टुक्रुक्क बसेका थिए। कपाल खौरिएको र सेतो पहिरन। ४५ वर्ष हाराहारी उमेरका उनको नाम रहेछ, उजरा सदा।
‘पेटको बिमारी थियो,’ ४० वर्षमै दिवंगत भएकी आफ्नी दुलही फगुनीदेवीबारे उजरा बताउन थाले, ‘दुई महिनामै मरिहाल्यो।’
उनकी दुलहीको के रोग लागेर मृत्यु भएको भन्ने उजरालाई थाहा छैन। उनले त पेट दुख्यो भनेपछि पटकपटक छेवैको राजमार्गस्थित कटारी बजार लगेर डाक्टर देखाएका थिए। डाक्टरले ठीक हुन्छ भनेका थिए। भएन।
‘मंगनीमा ढेउवा ज्यान भयो (सित्तैमा पैसा खेर गयो),’ उजराले भने, ‘गरिब मान्छेको कपार (निधार) मा सुख लेखेको हुँदैन।’
दुई महिना अन्तरालमा श्रीमतिलाई जचाउन र औषधी गर्न मात्र २५ हजार खर्च भएको उनले सुनाए। त्यति खर्च गरेर पनि श्रीमति नबाँचेपछि उनलाई अब बेकारै त्यति धेरै ऋण लिइएछ भनेर थकथकी लाग्न थालेको छ।
बनी (साहुकहाँ गएर मजदुरी) गर्नेबाहेक आम्दानीको कुनै बाटो नरहेको उजराका तीन सन्तान छन्। जेठी छोरीको बिहे धनगढी कुढवाहामा गरेका छन्। दुई तन्नेरी छोरा यतै छन्।
गाउँभरिका अधिकांश तन्नेरी वैदेशिक रोजगारीमा गइरहेको जानकारी पाइसकेको अवस्थामा उनलाई सोधियो, ‘छोराहरू कमाउन विदेश गएनन्?’
उनले जवाफ दिए, ‘गएनन्।’
त्यसपछि छेउमा बसेका रामप्रसादले सम्झाइदिएपछि उजराले फेरि जवाफ दिए, ‘विदेश पठाउन पनि त पैसा चाहिन्छ। मैले छोरालाई विदेश पठाउन कहाँबाट पैसा ल्याउने?’
यस्तो अवस्थामा छोरा पनि साहुको जनबन गरेरै कमाउने गरिरहेका छन्। यसरी मजदुरी गर्दा खुवाइपियाइ गरेर दिनको दुई–अढाइ सय पाइने उजराले सुनाए। त्यहाँ भएका सबैले सानो झुप्रोबाहेक आफूहरूसँग एक टुक्रा जमिन नरहेको सुनाए। आफ्नो खेत नभएपछि अरूकहाँ गएर मजदुरी नै गर्नुपर्ने उनीहरूको कथन थियो।
पढ्ने काम त न उजराले गरे न उनका सन्तानले। ‘यताबाट हामी थप्पड लगाएर पठाउँथ्यौं, उता स्कुलमा मास्टरले थप्पड लगाउँथ्यो,’ उनले भने, ‘त्यसैले मेरा छोराहरू बीचमै अन्त हराउने गर्थे। पढेनन्।’
अन्त–अन्तका स्कुल राम्रो हुने गरेको र मास्टरहरूले पनि नियमित पढाउने गरेकाले विद्यार्थी टनाटन रहे पनि गाउँको स्कुलमा भने त्यस्तो ‘सुविधा’ नरहेको उजराले प्रस्ट पारे। यस्तो अवस्थामा आफू मात्र होइन, सिंगो गाउँकै मुसहर समुदायका सबैले जनबन गरेरै गुजारा चलाउने गरेको उनको कथन थियो।
उनका अनुसार त्यस क्षेत्रकै मुसहर परिवारका २५ जना बच्चा स्कुल जाँदैनन्। अहिले गएका पनि लामो समय टिक्न मुस्किलै पर्छ। यति हुँदाहुँदै आफूहरूको अवस्था पहिलेभन्दा निकै राम्रो भएको सुनाउन यी मुसहरहरूले छुटाएनन्।
‘पहिलेजस्तो धाक सुन्नुपर्दैन,’ उनीहरूले भने, ‘अहिले गरिबहरुको निम्ति धेरै कुरा राम्रो छ।’
त्यहाँ पाक्दै गरेको भोज खान करिब सय जना उनीहरूकै समुदायका मानिस आउने जानकारी दिइयो।
‘अरू समुदायका आउँदैनन्?’
सुनेर ‘कस्तो प्रश्न गरेको होला’ भनेजस्तो आँखा लगाउँदै उनीहरूले सामूहिक रूपमै भने, ‘मुसहरको घरमा खान अरू को आउँछ?’
गाउँमै अरू जातका मानिसको घरमा भने बेलाबेला खान बोलाउने र आफूहरू जाने गरेको उनीहरूले सुनाए। यसरी खुवाउने बेला बेग्लै राखिने गरिएको छ।
‘किन बेग्लै?’
प्रश्न सुनेर फेरि उनीहरूले ‘कस्तो प्रश्न गरेको होला’ भनेजस्तो आँखा लगाए। ‘हामी छोट जाति भएपछि त भिन्दै ख्वाउनु परिहाल्छ,’ उनीहरूले थपे, ‘अहिले राम्रो भएको भनेकै पहिलेजस्तो हेप्ने होइन, राम्रो बोलीचाली हो।’
उनीहरूका अनुसार गाउँकै अन्य जातिमा पनि बूढापाका अझै हेपेर व्यवहार गर्छन्। ‘अहिले पढेलेखेका ठिटा त नराम्रो व्यवहार गर्दैन हजुर,’ उनीहरूले भने, ‘हामी मुसहरलाई यति हुनु पनि धेरै राम्रो हो।’
केही महिनाअघि मधेस आन्दोलन हुँदा उनीहरूलाई निकै मर्का परेको रहेछ। ‘३–४ महिना त हडतालै गरिदियो,’ एकजनाले यसो भनेका मात्र थिए छेवैका अर्काले बीचैमा कुरा काट्दै भने, ‘धुर... ६ महिना बन्दी भयो।’
‘त्यही त,’ थपे, ‘यत्रो बन्दी हुँदा मिलमा दाउराको तौल नै बन्द भयो। दुई सय क्विन्टल हुने दाउरा सुकेर ७५ क्विन्टल पनि भएन। घाटा भइहाल्यो।’ यसले आफूहरूको बेहाल भएको र कहिल्यै कसैले आफ्नो कुरा नसुन्ने गरेको उनीहरूले बताए।
मधेसी हक अधिकारको कुरा सोध्दा उनीहरूले आफूले राम्ररी नबुझेको जवाफ दिए। ‘नागरिकता पाउन गाह्रो भएको छैन?’ अलिक सजिलो हुने गरी फेरि सोधियो।
‘सबै प्रमाण छ भने गाह्रो हुँदैन,’ उनीहरुरूले भने, ‘छैन भने धेरै गाह्रो हुन्छ। पुलिस प्रमाण गर्नुपर्छ। पाँचवटा भलामनाको नागरिकता राख्नुपर्छ। उसबाट सर्जमिन गराएपछि अनि बल्ल दिन्छ।’
उनीहरूमध्येकै एक जना तन्नेरी देवकुमार सदाले भने बा–आमा मरेपछि धनुषास्थित सानीआमाको घरमा हुर्केको र उतै नागरिकता लिएको सुनाए। अर्थात्, जुनसुकै हिसाबले पनि उनीहरूलाई नागरिकताको समस्या परेको रहेनछ।
‘भन्नुको मतलब तपाईंहरूलाई मधेसी हेपिएको जस्तो लाग्दैन? आन्दोलनसँग मतलब छैन?’
‘जसलाई खान पुगेको छ उसलाई त किन मतलब नहुनु। जुलुस हडतालमा गइरहेकै छन्,’ उनीहरूले भने, ‘हामीलाइ चाहिँ खानेकै दिक्कत छ। कता जुलुसमा जाने?’
उनले एउटा स्थानीय श्लोकै हालेर सुनाए–
‘परेवा धन, मुसहर जन
खेतमा गएपछि मात्रै गन’
पाक्दै गरेको भोजको छेउछाउ बसेका मुसहरहरू एकछिनसम्म गलल्ल हाँसे। साहुहरूले भन्नेगरेको यो श्लोक अथ्र्याउँदै रामप्रसादले भने, ‘खेतमा मजदुरी गर्दाको बखत बाहेक हाम्रो गन्ती कहाँ कतै हुन्छ?’
मुसहरहरूको यो बसोबास क्षेत्रबाटै एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभामा जितेका हुन्। उनको उपस्थितिलाई यी सीमान्तकृत वर्गले कसरी लिएका छन्?
‘तपाईंकहाँबाट जितेका नेताले जनताको सेवा कत्तिको गर्छन्?’
जवाफमा सबैले एक स्वरले असन्तुष्टि पोखे, ‘नेताले पनि कतै सेवा गर्छ? न कसैले पहिले गरेको थियो न अब गर्छ। झन् हाम्रो कुरा त कसैले सुन्दैन।’
‘जिताएर पठाएको नेताले पनि सुन्दैनन्?’
‘कहाँ सुन्छन्?’ रामप्रसादले यति भन्नेबित्तिकै केही सम्झन खोजेजस्तो गरे, ‘त्यो कुन ठूलो नेता आएको थियो नि...काठमाडौंबाट। के हो रे उसको नाम?’
बीचैमा एउटाले प्वाक्क बोले, ‘प्रचण्ड?’
‘अँ प्रचण्ड...’ रामप्रसादले थपे, ‘धर्मप्रसादभन्दा बढी विकास गर्छ भनेर सबैले भन्यो। आखिर केही फाइदा भएन।’
त्यत्तिकैमा छेउमा बसेका अर्काले भने, ‘धुर, के को फाइदा? कोही जितेर केही फाइदा हुँदैन।’
अर्कोले थपे, ‘बरु भोट दिएर समय खेर फाल्नुको साटो जंगलमा गएको भए दाउरा ल्याउन सकिन्थ्यो।’
जति जे गरे पनि आफ्नो दुःख आफैसँग रहने उनीहरूको सामूहिक भनाइ थियो। जस्तो, उजरा सदाको दुःख अरू कसैले बाँड्न सक्दैन। बितेका दुई महिनामा उनले श्रीमतिको उपचारमा ऋण लिएर २५ हजार लगाए। श्रीमती मरिन्। मरेपछि फेरि गाउँ समाजमा व्यवहार गर्ने पर्यो।
‘अर्को दस हजार काज किरिया र यो भोजमा लागिसक्यो,’ उनले भने, ‘३५ हजारको ऋण मेरो टाउकोमा छ।’
उजराका अनुसार उनको अवस्था नाजुक भए पनि उनका सम्धिको आर्थिक अवस्था धेरै राम्रो छ। सम्धिका दुवै छोराले अरबमा कमाएर घर पठाइरहेका छन्।
‘यो सबै पैसाको उधारो व्यवस्था सम्धिले नै गरिदिएका हुन्,’ उनले भने, ‘तै पनि सैकडा पाँच प्रतिशतका दरले ब्याज लिन्छु भनेका छन्।’
‘कसरी तिर्नुहुन्छ?’
‘नसिब राम्रो भयो भने दुई वर्षभित्रै तिरिहाल्छु,’ उनले भने, ‘बस्, हामी गरिबको कमाउने बाटो बन्द नहोस्।’