उनका रसाएका आँखाले स्पष्ट मेरो विगत प्रतिबिम्बित गरिरहेका थिए । वर्तमानमा टाढा टाढासम्म कुनै सम्बन्ध नभएका हामी विगतको भोगाईले नै नजिकिँदै थियौं ।
असमान हाम्रो विगतको सम्बन्ध यति मात्रै हो की, हाम्रा परिस्थिति एकै थिए । हाम्रा पीडा उस्तै थिए । उनले भोगेको पीडाको दर मेरोभन्दा कैँयन गुणा ठूला हुनुपर्छ भन्ने आभाष मलाई भइरहेको थियो । उनको भक्कानिन खोजेका स्वरहरुले स्पष्ट रुपमा यही संकेत गरिरहेका थिए ।
‘सर, मैले जीवनमा जे जति भोगे यसैले नै मलाई यति दृढ बनाएको छ,’ उनी आंशिक रुपमा कोट्याइएको आफ्नो विगतलाई समापन गर्ने तरखर गर्दै थिइन ।
एकनाशले कागजमा दौडिरहेको मेरो कलम पनि त्यही अड्डियो ।
‘जुनु, तिमीले भोगेको विगतले नै एउटा पाठ सिकाएको हुनुपर्छ, सम्बन्धका बारेमा,’ मैले मेरो विज्ञता देखाए ।
अनि कसरी अहिले तिमी सम्बन्धलाई नै वेवास्ता गरिरहेकी छ्यौं ।
मैले सम्बन्धलाई वेवास्ता गरेकी होइन । मैले देखेकी छु, पैसाको अघि सम्बन्धहरु कसरी नाँच्छन्, त्यही पैसा नहुँदा सम्बन्धको जग कति क्षिण भएर जान्छ । जुनुले पनि आफ्नो विज्ञता देखाईन ।
अनि श्यामको पनि यही सोच हो र ? मेरो यो प्रश्नले जुनु केही अल्मलिई ।
यही त समस्या छ, उ र म बीच । उसको र मेरो विगतमा पनि समानता छ । अब मलाई गाह्रो भएन यो बुझ्न की यी दुवैले दुई परिवार हुनुको पीडा राम्ररी बुझेका छन् । उसँग मेरो सम्बन्ध गाँसिएपछि पनि केही समय हामीले एक अर्काको विगत बाँच्यौं, जुनु भन्दै थिइ । तरपनि उसको सोचमा परिवर्तन आएन ।
हो, यही भुल गर्दैछौं, तिमी ! मैले सम्झाए । तिम्रा कुराबाट उ सम्बन्धलाई बढी जोड दिने मान्छे भएको मेरो बुझाई बनेको छ ।
दुनियाँको छोड । तिमी र उ बीच पैसाको होइन सम्बन्धको जोड बलियो रहेछ, त्यसैले तिमीले पनि सम्बन्धलाई नै प्राथमिकता दिनु पर्छ । यति भनि नसक्दै मलाई लाग्दै थियो कही म उसको महत्वकांक्षाको हत्या त गरिरहेको छैन् ।
‘हो, उ मलाई भन्ने गर्छ, मेरो बाको पनि दुई परिवार तिम्रो बाको पनि दुई परिवार, म पनि अर्काे विहे गरौ ?’, उनले हाँस्दै भनिन ।
तर मैले यही समस्या देखेँ ।
‘त्यसोभए तिमीले उसलाई यतै काठमाडौं बोलाउनु सही हुन्छ,’ मेरो विवेक बल्यो । यसअघि पनि जुनु र श्यामबीच दुरी बढेको गाँइगुँइ उनकै साथीहरुको गफमा सुनेको थिए ।
उसले पनि चाँहेको यही हो, तर यसो गर्दा अहिले उसले गरिरहेको मासिक डेढ लाख कमाई गुम्छ नि, उनी फेरि पैसालाई सम्बन्धसँग तौलिदैँ थिइन ।
तिमीलाई एउटा उदाहरण दिउ, म उनलाई सम्झाउन अर्काे उपाय खोज्दै थिए ।
सम्बन्धमा सानो सानो कुराको प्रभाव पर्छ, तिम्रो बा को दुई परिवार हुनुको कारण तिमीले कहिल्यै खोज्यौं, म उसको विगत सम्झाउदै थे वा मेरो विगत कोट्याउदै थिए, मैले वास्ता गरिन ।
यस्तै साना साना कुराले मानिसमा चाँडो फाँटो ल्याउन सक्छ । तिमी यो फाँटो बढाउने पक्षमा छौं कि घटाउने यो तिम्रै जिम्मा ।
‘सर, अहिले मेरा बा आमासँगै बस्छन् । अस्ति घर पुग्दा मेरो आमासँग यस्तै गफ भएको थियो,’ उनी बताउँदै गइन । मेरो आमासंग प्रश्न थियो, हामी अझै पनि किन बा कै ध्यान बढी दिन्छौं, उनको विगत त हामीले भोग्यौ, विगतमा उनीबाट भएका सबै प्रहार बिर्सने त हामी हौं, अनि किन अझै हामी उनका दम्भ अघि झुक्नु पर्ने ?’
मेरो तपार्इँलाई पनि प्रश्न छ, के हामी महिलाले मात्रै सरहरु जस्ता लोग्ने मान्छेको सोचलाई अंगिकार गर्नुपर्ने ? जुनु केही आवेगमा देखिई । उनको यो प्रश्नले मसँग पुरुष हुनुको क्षतिपूर्ति मागिरहेको थियो । मैले नगरेको अपराधको भरपाई मागिरहेको थियो ।
म नाजवाफ भए । मैले कुनै उत्तर भेटिरहेको थिइन । मानौं, म त्यस्तो कचहरीको बहसमा सहभागी थिए, जसको एक कुनामा उभ्याइएको पिडक र उसकै छेउमा पीडितको पक्षबाट प्रश्न गरिरहेको अधिवक्ता दुवैको अनुहार मसँग मेल खान्थ्यो ।
जुनुको प्रश्नले सृजित मौनता चिर्ने मसँग विकल्प बनिरहेको थिएन । लाग्दैथ्यो म अनाहक किन यो कचहरीको बहसमा सामेल भइरहेछु । मेरो व्यक्तिगत बहसको सुनवाई भएको त बर्षाै भइसकेको छ । सुनवाईको लाभबाट मरो वर्तमान फुल्न थालिसकेको छ । अहिले मलाई मेरो विगत कहिलेकाँही जीवनको यात्रामा भेटिने जुनुहरुको रसाएका आँखाले सम्झाउँथे, या मेरो छोरो अनिरुद्रको भविष्य खोज्दै गरेका अनुहारले । अनिरुद्रको जीवनमा मेरो विगतको प्रभाव परेको छैन्, उसका निश्चल आँखामा कुनै सन्ताप छैन् । यसैले मलाई खुशी बनाएको छ ।
‘म उसलाई यतै काठमाडौं बोलाउ त ?’ ढिलो गरि आएको जुनुको प्रश्नले मलाई फेरि कचहरीमै फर्काउदै थियो । जुनुको यही प्रश्नपछि लाग्यो जीविनको दृष्टिकोण सन्तुलित बनाउन उनलाई बोध गराइरहेका मेरा तर्क अहिले पुष्टी हुँदै गएको छ । उनी मेरै तर्कमा निश्कर्ष खोजिरहेकी थिइन र मलाई पनि यही सही लागेको हो ।
‘हो, तिमीले त्यसै गर्नुपर्छ होला, मैले सही थपे । उ यहा काठमाडौंमा पनि राम्रै कमाउँछ क्यारे । अंग्रेजीमा राम्रो दख्खल भएको श्यामलाई अहिले पनि केही गैरसरकारी संस्थाबाट कामको प्रस्ताव आइरहेको सुनेको थिए । नेपालमै बस्ने इच्छा या सायद अझ बेसी जुनुसँंगै बस्ने इच्छाले श्याम केही समययता फर्किने मनस्थितिमा छ । तर, जुनुकै करले उ फर्किन सकिरहेको छैन् ।
तिमीले देखेको सपना, उसको पनि भविष्यसँग जोडिएको छ , मैले भने । विवाहको यत्रो समयसम्म पक्कै पनि तिमीहरुबीच सपना आदानप्रदान नभएको त होइन होला । तिमीहरुले चाहेमा यही बसेर पनि आफ्नो भविष्य राम्रो बनाउन सक्छौं । तिमी पनि मिहेनति नै छौं, अध्यापनसहित दुईटा जागिर खाइरहेकी छौं । उसले नेपालमै पनि राम्रो कमाउन सकिरहेकै थियो र अझै सक्छ पनि । मात्र यति हो की, तिमीले देखेको सपना केही वर्ष ढिला पुरा होला । तर पुरा त हुन्छ नै ।
कुराकानीको क्रममा बीचमा कलम बिसाएकोले मलाई त्यो काम पुरा गर्नु थियो, त्यसैले मैले पनि वार्तालाप यही टुंग्याउन चाहे । जुनुले धेरै हदसम्म मेरै निश्कर्षलाई आत्मसाथ गर्न लागेकोमा म पनि आश्वस्त भए ।
हामीले कुराको यही बीट मा¥यौं । मेरो कलम फेरी सल्बलाउन थाले । आजै एउटा साहित्यक मासिक पत्रिकालाई कथा दिनुपर्ने छ, पत्रिकाको सम्पादकले मलाई दिएको डेडलाईन हिजै सकिएको हो । कुन्नी के मिलिरहेको थिएन । तर अहिले कलम सरासर दौडिरहेको छ । जुनु आई गई । मेरो कलम उसैको कथा लेख्न प्रेरित भइरह्यो ।
म जुनुको कथा अतिक्रमण गरिरहेको छु । सायद सबै कथाकार यसरी नै अर्काको कथा अतिक्रमण गर्छन् । मलाई आवरण चाहिएको छ, मेरो कथा लेख्न । सायद यही आवरण बनेर पो जुनु आई । मलाई थहा छैन्, मेरो कलम कसको कथा लेख्दै थियो ।
के मेरो विगत परिमार्जन गर्न उद्दत छ मेरो कलम ? के यो कथा पढेर जुनुले अन्याय बोध गर्दिन् ? के उसको कथामा मलाई मेरो कथा मिसाउने अधिकार छ ?