वन्यजन्तु संरक्षणमा चोरी–सिकार सबैभन्दा ठूलो चुनौती थियो र यसलाई विगतमा धेरै हदसम्म नियन्त्रण लिने काम भयो । चोरी–सिकार नियन्त्रणमा लागि स्थानीय जनतासँगको सहकार्यमा नयाँ प्रविधिको प्रयोग गरियो ।
प्रहरी र प्रशासनले सक्रियता बढायो । फलतः चितवनले तीन पटकसम्म शून्य चोरी–सिकार वर्ष मनाउन सक्यो । तर अब यतिले मात्रै संरक्षण कार्य प्रभावकारी हुन्छ भन्नेमा ढुक्क हुने अवस्था रहेन । बुधबारदेखि सुरु भएको वन्यजन्तु सप्ताहको अघिल्लो महिनामा चितवन निकुञ्जको दुर्लभ एकसिङ्गे गैँडामा पहिलो पटक क्षयरोग पुष्टि भएको प्रतिवेदन आएपछि संरक्षणका लागि नयाँ चुनौती थपिएको छ ।
गैँडा विशेषज्ञ नरेश सुवेदी अब चोरी–सिकार मात्रै संरक्षणको चुनौती नरहेको बताउँछन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत रहेका सुवेदीले गैँडामै विशेषज्ञता हासिल गरेका छन्। “अब संरक्षण कार्यलाई प्रभावकारी बनाउन जङ्गली वन्यजन्तुको समेत गहिरो र वैज्ञानिक अध्ययनको खाँचो छ,” सुवेदीले भने – “कालगतिले मरेका वन्यजन्तुको पनि गहिरो अध्ययन नभई हुँदैन भन्ने पुष्टि भयो ।”
चितवन निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने अमलटारीमा २०७१ फागुन ५ गते एउटा पोथी गैँडा कालगतिले म¥यो । त्यसको नमुना सङ्कलन गरेर जर्मन–नेपाल टिवरक्युलोसिस सेन्टर काठमाडौँमा नमुना परीक्षणका लागि पठाइएको थियो । नमुना पठाएको आठ हप्तापछि प्रतिवेदन आयो । तर कुन प्रजातिको कीटाणु हो भनेर नेपालमा पुष्टि हुन सकेन । त्यसलाई पुनः जापानमा परीक्षणका लागि पठाइएपछि गैँडामा नयाँ क्षयरोग भएको पुष्टि भएको वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिए। करिब एक वर्षपछि यही चैतको पहिलो साता पुष्टि हुनसक्यो ।
उनका अनुसार कीटाणुको प्रजाति नेपालमा पत्ता नलागेपछि होक्कानो युनिभर्सिटी स्यापोरो जापानमा परीक्षणका लागि नमुना पठाइएको थियो । उक्त परीक्षणले माइक्रो ब्याक्टेरियम ओरिजिएस भएको पुष्टि भएको डा गैरेले प्रस्ट्याए। पहिला यो अरब भूमिको ओरिक्ज भन्ने वन्यजन्तुमा देखिएको क्षयरोगको कीटाणुसँग मेल खाएकाले यसको नाम माइक्रोब्याक्टेरियम ओरिजिएस भनिएको हो । अहिलेसम्म जङ्गलका गैँडामा यसरी क्षयरोग पुष्टि भएको यो नै पहिलो भएको गैँडा विशेषज्ञ सुवेदीले दाबी गर्छन्।
यसअघि चिडियाघरका गैँडामा भने देखिएको थियो । अब हरेक जनावरको विषयमा गम्भीर हुनुपर्छ र गहिरो अध्ययन पनि आवश्यक छ भन्ने यसले देखाएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले बताउँछन्।
उनले मुख्यगरी घरपालुवा जनावर र क्षयरोग लागेका हात्तीलाई सकेसम्म सङ्क्रमणको बेला जङ्गल नलैजानु एक महत्वपूर्ण उपाय हुने बताए। सँगसँगै बासस्थान संरक्षण र आहाराको राम्रो व्यवस्था भयो भने पनि रोग प्रतिरोधात्मक शक्ति बढी भई सङ्क्रमणका सम्भावना कम हुने गैँडा विशेषज्ञ सुवेदी बताउँछन्।
चितवनमा आठ–दश वर्षअघि पालुवा हात्तीमा क्षयरोग भेटिएपछि अहिले पनि उपचार जारी छ । तर ती हात्ती निर्बाध जङ्गल जाने भएकाले त्यसैबाट जङ्गली जनावरमा पनि रोग सर्ने सम्भावना बढी हुने संरक्षणकर्मी बताउँछन् । यसअघिको अध्ययनमा नेपालका पालुवा हात्तीमध्ये २३ प्रतिशतमा क्षयरोग भएको तथ्याङ्क थियो । औषधिको प्रयोग थालिएकाले अहिले केही घट्दो क्रममा छ । सोही विषयमा संरक्षण विज्ञ तथा सरोकारवाला संस्थाबीचको गम्भीर छलफलबाट सामूहिक रुपमा अघि बढ्ने गरी समितिसमेत बनाइएको छ । समितिको संयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपछि आइपी ढकाल छन्।
पछिल्लो तथ्याङ्कमा चितवनमा ६०५ गैँडा रहेका देखिएकामा कालगतिले पछिल्लो शून्य चोरी–सिकार अवधिमा १५ वटाभन्दा बढी गैँडा मरिसकेका छन्। नेपालमा ६४५ वटा गैँडा रहेको अनुमान छ । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल कुनै साना जनावर मरे भने पनि अहिले परीक्षण गर्न थालिएको बताउँछन्।
नयाँ वर्षको सुरुआतमा २०७३ साल वैशाख १ देखि ७ गतेसम्म २१औँ वन्यजन्तु सप्ताह मनाइँदै छ । यस वर्ष सप्ताहको नारा ‘वन्यजन्तुको भविष्य हाम्रै हातमा’ रहेको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। चितवनमा सातै दिन निकुञ्ज, उपभोक्ता समिति र संरक्षणकर्मीको सहभागितामा संरक्षणमूलक कार्यक्रम गरिने छ । रासस