नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। कांग्रेस क्षेत्र नं ४ चितवनले शुक्रबार फूलबारीमा आयोजना गरेको शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रममा उनले हतारमा पार्टी सरकारमा जान नहुने बताए।
मधेसमा देखिएको समस्या समाधान नहुँदै सरकारमा जाँदा काँग्रेसलाई दीर्घकालीन असर पर्ने बताउँदै उनले काँग्रेसको अगुवाइमा तराईका समस्या समाधान गर्नुपर्नेमा जोड दिए। सरकारले भूकम्पपीडितलाई राहत दिन नसकेको, कालोबजारी रोक्न नसकेको, संवैधानिक निकायमा राजनीतिकरण हाबी भएको आरोप लगाउँदै उनले यसले सरकारलाई अप्ठ्यारामा पार्ने बताए। सत्तामा रहेका तीन ठूला दलसमेत मिल्न नसक्नु नेतृत्वको अक्षमता भएको उनको टिप्पणी थियो।
सो अवसरमा पूर्वसांसद एवम् समाजसेवी मैयाँदेवी श्रेष्ठलाई सामाजिक र राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको क्षेत्रीय सभापति सरिता केसीले जानकारी दिए।