राप्ती नदीमा भएको डुंगा दुर्घटनामा घाइते भएकाहरूमध्ये एक बालकको मृत्यु भएको छ। निकुञ्जस्थित नेपाली सेनाका अनुसार गत १ गते भएको डुंगा दुर्घटनामा घाइते भएका ७० जनामध्ये १० वर्षीय बालक देवकुमार श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो।
रामनवलमीको उपलक्ष्यमा चैत कृष्ण औंसीदेखि चितवन राष्ट्रिय निकुञ्जस्थित कसरामा लागेको विक्रम बाबाको दर्शन गरेर फर्किँदै हिँडेका दर्शनार्थी चढेको ढुंगा राप्ती नदीमा डुबेको थियो। तत्कालै नेपाली सेनाको गणबाट परिचालित टोलीले सबैको उद्दार गरेको थियो।
उद्दार गरिएकामध्ये बालकको बिहीबार मृत्यु भएको गणपति कर्णेल माधव थापाले बताए। नयाँ वर्ष सार्वजनिक विदा भएकाले दर्शनार्थीहरूको चाप अत्यधिक थियो। राप्ती नदीको बीच भागमा डुंगा अनियन्त्रित भई पल्टेको थियो। सेनाको श्रीजंग गणले राप्तीमा राखेको सेफ्टी रोपको सहायताले केही दर्शनार्थी डुब्नबाट जोगिएका कर्णेल थापाले बताए।
उद्दार गरिएकामध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई श्रीजंग गणको प्राथमिक उपचार केन्द्रमा उपचार गरी थप उपचारको लागि भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएको नेपाली सेनाले जनाएको छ।
दर्शनार्थीहरूलाई सुरक्षित गराउन हाल श्रीजंग गणले राप्ती तर्ने सबै दर्शनार्थीलाई लाइफ ज्याकेट उपलब्ध गराएको छ। उक्त धार्मिक मेला चैत २५ देखि वैशाख १० गतेसम्म चल्ने छ। वर्षेनि लाग्ने उक्त मेलामा लाखौं भक्तजन आउने गरेका छन्।