आज कविताको घरमा निकै ठूलो चहलपहल छ। जे जे सामान जुनजुन ठाउँमा हुनुपर्ने हो सवै त्यही ठाउँमा छन्। सोफा पुछिएको छ, झ्यालका सिसाहरु टल्काइएको छ। मानिसहरु ओहोर दोहोर गरिरहेछन्, घरिभित्र घरि वाहिर, कविताका आफन्तहरु जम्मा भएका छन्।
कविताले सुनेकी छिन्, आज उनलाई हेर्न कोही केटा आउँदै छ। आज उनी अघि पछि भन्दा आफुलाई राम्री देखाउन कोशिश गर्दैछिन्, कारण आज उनको जीवनको अर्को एउटा महत्वपूर्ण दिन। आजको दिनले निर्णय गर्नेछ, अबको उनको बाँकी जीवन कस्तो हुनेछ। आफूसँगैका साथीहरु श्रीमानसँग घुम्न गएका, छोरा छोरीसँगै राखेर सेल्फी खिचेको देख्दा उसलाई पनि कम्ता रहर लागेको होइन। त्यसमाथि नयाँ नयाँ ठाउँ घुम्नु, फोटो खिचाउनु, फेसवुकमा पोष्ट गर्नु उनको रहर हो।
अघि पछिका दिनहरु भन्दा आजको दिन, किन किन उनलाई अर्कै लागिरहेको छ, मनै रोमाञ्चित भएजस्तो। ओठमा गुलावी लिविस्टिक लगाइसकेपछि एकपटक ऐना हेर्छिन्, अनि मनमनै कल्पना गर्छिन्, मेरो सिउँदोमा सिन्दुर भरिदा कस्तो देखिन्छु होला म? त्यसो त उनको सिउँदोमा सिन्दुर नपरेको त होइन, रमेशको नामको सिन्दुर एकपटक उनले लगाइसकेकी छिन्। उनलाई अहिले पनि याद छ, रमेशलाई उनले भनेकी थिइन्,मलाई तपाइको नामको सिन्दुरले सिउँदो रगाँउन मन छ। रमेशले भोलिपल्टै उसको सिउँदोमा सिन्दुर हालिदिएको थियो, सदासदा नछुट्टिने कसम खाएका थिए। समय कहाँ आफूले सोचेजस्तो हुँदोरहेछ र? विस्तारै विस्तारै उनीहरुको मायामा दैव लागेको थियो।
कविता ए कविता, भर्याङको खुटकिला उक्लदै ममीले वोलाउनुभयो। होइन तैले कतिबेर लाइराख्या तल केटाहरु हेर्न आइसके। ल ममी...म आइसके, कविताले जवाफ दिइन। सारीको सप्को मिलाउँदै एकपटक ऐना हेरिन, पहिलो पटक ममी घरमा नभएको मौका छोपेर सारी र चोलो अनि पोते लगाएको याद गरिन र मनमनै एकपटक हासिन्। अव भने विस्तारै विस्तारै उनको मनमा डर पलाउन सुरु भइसकेको थियो, कस्तो होला अहिले हेर्न आउने केटा? फोटो त पटक पटक फेसवुकमा नहेरेको पनि होइनन् उनले, तर भेट पहिलो पटक हुँदै थियो, फोटो र वास्तविक जीवनमा केटा कत्तिको फरक देखिएला? अझ उनलाई त तुलना गर्नु थियो, उनले सवैभन्दा धेरै माया गरेको रमेश र यो केटाको बीचमा भिन्नता या समानता के के होला? यस्तै यस्तै सम्झदै थिइन्, ममी कोठैमा आइपुग्नु भएछ, होइन यो केटी के गर्दै छे हँ?’ सकियो ममी अब सकियो। कविताले जवाफ दिइन्।
ममीले कवितालाई आफूसँगै तल लैजानुभयो। ४ जना नयाँ मानिसहरु सोफामा ढसमस्स अडेस लागेर बसेका थिए। सवैलाई एकएक गरी नियालिन कविताले, उमेर अलिकम भएको निलो कोट लगाउने पक्कै पनि केटा हो, मनमनै विचार गरिन्। ल अव कुरा सुरु गरांै न त, आउने मध्यको एकजनाले भने। कविता भने त्यही केटातिरै ध्यान दिँदै थिइन्, अनुहार कता कता रमेशसँग मिलेजस्तो लाग्यो उनलाई, रमेशलाई उनले पहिले पटक उनको घरमा वोलाएकी थिइन्, करिव ६ वर्ष अघि, रमेश त्यही ठाउँमा बसेको थियो।
कवितालाई रमेशलाई बोलाउन आँट त आएको थिएन, तर ममीको कुरा काटन सकिनन् उनले अनि वोलाएकी थिइन् पहिलो पटक, रमेश त्यही ठाउँमा बसेको थियोे, कता कता डराएको जस्तो अनुहार, आज त्यही डर उनले नयाँ केटाको अनुहारमा देखिन। अरुवेलामा कति खुलेर वोल्ने रमेश खोइँ त्यसदिन निकै भावुक देखिन्थ्यो। त्यस दिन बेलुका निकै लामो पत्र लेखेकी थिइन् कविताले रमेशलाई, घर गएकोमा धन्यवाद समेत दिँदै।
दुवैजना मोवाइल त बोक्थे तर पनि मोवाइलमा मेसेज लेख्नुभन्दा पत्र लेख्नु उनीहरुलाई विशेष लाग्थ्यो। एक अर्काको यादमा हराउँदै पत्र लेख्नु, पत्रमा जीवनको रेखाहरु कोर्नु, सँगै बाँच्ने सँगै पर्ने कसम खानु, दिनभरिका काम र यादहरुको वारेमा सविस्तार वर्णन गर्नु दैनिकी नै वनिसकेको थियो। खोइँ घरमा के के कुरा हुँदै थिए, जाडरक्सी केही नखाने केटो असल छ, एकजना वुढो मान्छे वताउँदै थिए। शायद लमि होला मनमनै अनुमान गरिन्। ल अव एकपटक केटा र केटीले कुराकानी गर्नुपर्यो नि त अनि फाइनल गराैंला, कविताको काकाले प्वाक्क वोले। कविताको अनुहार कालो निलोे भयो।
कविता अघि अघि लागिन्, केटो पछिपछि लाग्यो। आफ्नै कोठामा पुगिन्, कविताको वर्थडेमा रमेशले उपहार दिएको कुर्तासुरुवाल ह्याङ्गरमा झुण्डिरहेको थियो। इच्छा चाहना रुची अनि भविष्यका बारेमा केही उनीहरुका बीच कुराकानी भयो, केटो असल रहेछ कमर्समा माष्टर्स गरेको रहेछ बैँकंमा काम गर्ने। विगतका बारेमा केटाले चासो राख्यो। विगतमा साथी थियो तर समयले साथ दिएन ऊ आफ्नो बाटो लाग्यो म आफ्नो बाटो, ढाट्नु उचित ठानिनन् अनि यत्ति कुरा वताइदिइन्। केटो पीडादायक हाँसो हास्यो, उनी मौन भइन्। दुवैजना कोठावाट निस्किए।
तल झरेपछि केटालाई सोधियो केटी कस्तो लागिन्? उसले हुन्छ भन्ने जवाफ दियो। त्यसैगरी कवितालाई पनि सोधियो तेरो के विचार छ कवि? उसले पनि हुन्छ भन्ने इशारासहितको टाउको हल्लाइन्। अन्तत विहेको कुरो पक्का भयो। अव कविताले आफ्नो जन्मघर छाडेर अर्काको घर जानुपर्ने भयो, यत्ति सम्झिँदा पनि मुख अमिलो भएर आयो कविताको। ६ वर्ष प्रेम गरेकी थिइन् कविताले रमेशसँग। ६ वर्षमा जीवनभरको खुशी पाइन रमेशवाट उनले, तर अन्त्यमा एकाएक रमेशले धोका दिएको थियो कवितालाई तर उनले भने धोका दिएपनि धेरै माया गरिरहिन्।
यस्तै यस्तै सम्झिँदै आफ्नो कोठामा गइन्। सिरानमुनि राखेका पत्रहरु निकालिन्। जहाँ रमेशले उनलाई लेखेको दर्जनौं पत्रहरु थिए। आत्मीय कवि, मिठ्ठो सम्झना, जीवनभरिको माया पनि, खोइँ कहाँवाट सुरु गरौं यी पत्रहरु कोर्न, के भनेर सम्वोधन गरौं तिमीलाई लाग्छ अव हामी एकहुन मात्र बाँकी छ.......। त्यसो त रमेशले पठाएको पत्रहरु मात्र होइन आफूले रमेशलाई पठाएको पत्रहरु पनि उसँगै थिए। कारण यी पत्रहरु उनीहरु आफ्नो भविष्यको एउटा राम्रो इतिहास वनाउन चाहन्थे।
आफ्नो युवा अवस्थामा लेखेका प्रेम पत्रहरु विहेपछि सजाएर राख्ने रहर थियो कविताको, कहिलेकाहीँ त रहरै रहरमा रमेशलाई भन्ने गर्थिन्, भोलिपर्सि म पनि त ठूलो मान्छे वन्छु, अनि लिलाम गर्नुपर्छ हाम्रो प्रेमपत्रहरु। कविता विच्छौनामा पल्टिन्छिन् अनि सम्झिन्छिन् आफ्नो विगतहरु। विगतका यादहरु उनको मानसपटलमा एकाएक फिल्मको रिल जस्तै गरी घुमिरहन्छ। कत्ति रमाइला थिए ति दिनहरु, रमेशको साथमा घुम्न होइन भेट्न मात्रै पाउँदा पनि कत्ति खुशी हुन्थिन् कविता।
कहिले फनपार्क त कहिले वालाजुपार्क, माया साट्दै जीवनका योजनाहरु वुन्दै हिड्थे उनीहरु। कवितालाई अहिले पनि याद छ, साना साना कुरामा पनि कत्ति खुशी हुन्थे उनीहरु। कति धेरै माया गर्थिन् कविता, रमेशलाई। मायालु गीतहरु गुनगुनाउँदै मोवाइलमा एमएमएस गर्नु उनको दैनिकी थियो, त्यसको वदलामा एसएमएस पठाउँथ्यो रमेश। उनको बाबाले वोक्ने त्यो मोवाइलमा सेभ गरिएका मेसेज हेरेर आज पनि खुशी हुन्छिन् कविता।
सवै पत्रहरु एकएक गरी पढिन् कविताले, अनि मेसेज पनि। झ्यालमा राखिएको लाइटर निकालिन र सवै पत्रहरु जलाइन्, पत्रहरु विस्तारै जल्दै गयो, अनि विस्तारै खरानी पनि भयो। अनि प्रण गरिन् अव रमेशका यादहरु यसैगरी जल्नेछन् र खरानी वन्नेछन्, नयाँ जीवनका लागि।