नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकार परिवर्तनको विषय हल्ला मात्र भएको बताएका छन्।
नेकपा एमाले प्यूठान–काठमाडौँ सम्पर्क मञ्चद्वारा नयाँ वर्षको उपलक्ष्यमा शनिवार राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता गौतमले वर्तमान सरकार परिवर्तन हुन्छ भनी केही तत्वले हल्ला मात्र चलाएको र यसका पछाडि कुनै तथ्य र आधार नभएको प्रष्ट पारे।
एमाले नेतृत्वको सरकारले सरकारमा सहभागी सबै दललाई यथोचित स्थान दिएकाले यो सरकारको संरचनात्मक आधार बलियो भएको उनले बताए।
अर्को प्रसङ्गमा बोल्दै नेता गौतमले अब नेपालमा कुनै किसिमको जातीय र भाषिक विभेद नभएकाले त्यस्ता कुराको पछाडि नलागी समग्र राष्ट्र निर्माण केन्द्रित हुन आग्रह गरे। यही सरकारले स्थानीय निर्वाचन गराउने भएकाले पार्टी कार्यकर्तालाई त्यसतर्फ लाग्न निर्देशन दिए।
यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले अबको राष्ट्रिय मुद्दा भनेको संविधान कार्यान्वयन भएको बताए। उनले संविधान कार्यान्वयनका लागि पार्टी एक ढिक्का हुनुपर्ने र त्यसतर्फ नेतृत्वले विशेष ध्यान दिन आवश्यक रहेको बताए। रासस