विश्वास श्रेष्ठको एक गोल मद्दतले मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी पाँचौ पोखरा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको खेलमा झापा ११ लाई १—० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो।
खेलको अतिरिक्त समयमा श्रेष्ठले गोल गरेका थिए। बुद्ध चेम्जोङले हेड गर्दै डी एरिया बाहिर मिलाइदिएको पासलाई श्रेष्ठले गोलमा परिणत गरे। अन्तिम समयमा सम्हालिन नसक्दा झापा प्रतियोगिताबाट बाहिरियो।
श्रेष्ठ आजको खेलको म्यान अफ दि म्याच घोषित भए । पोखरा कपमा दोस्रो र तेस्रो संस्करणको विजेता मनाङले फाइनल प्रवेशको लागि ८ गते सशस्त्र प्रहरीको एपिएफ क्लबसँग खेल्नेछ । सोमबारको खेल आर्मी र थ्री स्टार क्लबबीच हुनेछ।