अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखले ब्यक्तिगत रिसइवीका आधारमा कनकमणि दीक्षितलाई हिरासतमा राखेको आरोप दीक्षितका तर्फबाट कानुनी लडाइमा संलग्न वरिष्ठ अधिवक्ता शम्भु थापाले लगाएका छन्।
‘म अदातलको क्षेत्रभित्र प्रवेश गर्दिनँ,’ थापाले बुधवार नयाँवानेश्वरमा भेलाभएका नागरिक समाजका प्रतिनिधिहरुलाइ सम्वोधन गर्दै भने, ‘तर, दीक्षितका गल्ती के हुन् भन्ने कुरा खोज्नका निम्ति तपाइँहरु स्वयम् अगाडि बढ्नु होस्।’
यदि नागरिक समाजले यस कुराको खोजी नगर्ने हो भने अहिले मौन बस्ने संस्कृति विकास गर्नका निम्ति जुन त्रास सिर्जना गर्न खोजिँदैछ त्यो रणनीतिले सफलता पाउने थापाको भनाइ थियो ।
आयोगले पत्ता लगाएको नभइ कनकमणि दीक्षित स्वयंले स्वदेस र विदेसमा भएको भनेर प्रस्तुत गरेको उनको सम्पत्ति विवरणलाई नै आधार बनाएर दुश्प्रचार गरिएको आरोप लगाउँदै थापाले तर, त्यो सम्पत्ति कतैबाट पनि गैरकानुनी नभएको आधारहरु प्रस्तुत गरे। विदेसमा कार्यरत रहँदा कमाएको सम्पत्ति स्वयं मन्त्री भएका व्यक्तिहरुको पनि फेलापरेको अवस्थामा दीक्षितलाई अपराधीका रुपमा प्रस्तुत गरिएकामा उनले आश्चर्य प्रकट गरे । बेलायतको बैंकमा देखिएको पैसा भने राष्ट्रबैंकको अनुमतिमा दीक्षितका पिताले निकै अघि आर्जन गरेको र हाल बुढेसकाल लागेपछि छोरालाई नामसारी गरेको उनको कथन थियो ।
‘लिक्विडेसन’ मा गइसकेको साझा यातायातलाई डुबाउने को थिए र किन डुबाएका थिए भनेर खोजी नै नगरेर अहिले उन्नतीमा लाग्दै गरेको त्यही संस्थामा भ्रष्टाचार भनिन्छ भने त्यसको प्रमाण देखाउनुपर्ने थापाले माँग गरे। तर, कसैको पुरानो सम्पत्तिलाई अर्कै प्रसंगमा जोडेर बेइज्जती गर्न नमिल्ने जिकिर थापाको थियो ।
हिरासतमा पर्नेबित्तिकै कुनै पनि नागरिकले कानुनी सुविधा उपभोग गर्न पाउने अवस्थामा दीक्षितका हकमा आफूलाई भेट्नसमेत नदिइएकोबाट यसमा अख्तियार प्रमुखको गलत नियत स्पष्ट हुने थापाले बताए एकातिर वकिललाई भेट्न नदिने र अर्कातिर बहसमा बन्दीको निवेदनै छैन भनेर सरासर अन्याय गरिएको उनले जानकारी दिए।
‘यो देसको सबैभन्दा ठूलो भ्रष्टाचारी वा अपराधी भए पनि भेट्न पाउनु पथ्र्यो,’ दीक्षितसँगै कुनै समय अख्तियार प्रमुखको नियुक्तिको सार्वजनिक विरोध गरेका र यसैगरि दुःख झेलिसकेका वरिष्ठ अधिवक्ता थापाले भने, ‘जनआन्दोलनलगत्तै लोकमानसिंह कार्कीलाई हटाएर जसलाई मुख्यसचिव बनाइयो उही भ्रष्टाचारी, कार्की नियुक्तीको विरोधमा लागेका अधिवक्ता टिकाराम भट्टराईकी शाखाअधिकृत पत्नी भ्रष्टाचारी, त्यही विरोधमा लागेका उपभोक्ता मञ्चका अगुवा ज्योती बानियाँ भ्रष्टाचारी गर्दै जुन लश्कर लाग्न थालेको छ त्यसले प्रमुख आयुक्तको नियत स्पष्ट पार्दैलगेको छ।’
कुनै व्यक्तिविशेषको विरोध गर्नेलाई पञ्चायतमा राजकाज मुद्दा लाग्नुभन्दा पनि भयावह अवस्था अहिले सिर्जना हुनथालेको उनले बताए ।
कार्यक्रमको अध्यक्षता त्रिभूवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले गरेका थिए ।
अख्तियारको काम गराइबाट अब कुनै पनि नेपालीलाई सार्वजनिक ओहदामा गएर इमान्दारितापूर्वक मुलुकको सेवागर्न अनिच्छुक बनाउन थालिएको आरोप प्राध्यापक माथेमाले लगाए।
माथेमाले केहि समयअघि पोखरा विश्वविद्यालयका उपकुलपतिलगायत सिंगो टोलीलाई नै हिरासतमा राखेर बिना कुनै प्रमाण अपराधीको व्यवहार गरिएको स्मरण गरे । केवल अभियोगका भरमा त्यस्तरी डरलाग्दो कारबाहीमा परेका प्राध्यापकहरुको पछि दोष प्रमाणित हुन सकेको थिएन।
‘पाठ्यक्रम बनाउँदा वाहिरका विज्ञहरू किन समावेश गरेको जस्ता हावादारी प्रश्नहरु उनीहरुलाई सोधियो,’ माथेमाले भने,‘पछि सबैले सफाइ त पाए । तर, एक वर्षसम्म सिंगो विश्वविद्यालयलाई पुगेको क्षति र खूद प्राध्यापकहरुको मानहानीको कुनै क्षतिपूर्ति हुनसक्ने अवस्था थिएन।’
पर्याप्त अनुसन्धान बिना नै यस्तो गम्भीर सजायको भागी बनाइने यो गैरजिम्मेवार परम्पराको अन्त्य हुनैपर्ने माग माथेमाले राखे।
कार्यक्रममा अधिवक्ता रमेश बडालले दीक्षितमाथि लगाइएका अभियोगहरुका कुनै आधार नरहेको स्पष्ट पारेका थिए। त्यसैगरि उपभोक्ता अधिकारकर्मी ज्योती बानियाँले ब्यक्तिगत दुश्मनीका आधारमा हुने कारबाहीको शृंखलाअझै लम्बिने बताए। कार्यक्रममा सहभागीहरुले पनि आफ्ना विचार राख्दै यो खतराको तरबार स्वतन्त्र विचार राख्नेहरुबाट बढ्दै गएर अन्ततोगत्वा ठूला राजनीतिक दलहरुकै गर्धनमा खस्ने चेतावनी दिएका थिए।