काठमाडौं उपत्यकामा माटो र बालुवाको मोटो पत्रले भुइँचालो तरंगलाई अझ तीव्रता दिनसक्छ, त्यही भएर ठूलो भुइँचालो जाँदा यहाँ सबै ध्वस्त हुन सक्छ भन्ने मान्यता थियो। त्यसविपरीत सानो भुइँचालो जाँदा बढी कम्पन रेकर्ड भयो भने ठूलो भुइँचालो जाँदा कम। यसले अनुमान गरिएभन्दा कम क्षति भयो।
काठमाडौं उपत्यकाको माटोमै ठूलो भुइँचालो जाँदा ‘भुइँचालो प्रतिरोधक’ व्यवहार देखाउने गुण रहेको अर्को वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ।
वैशाख १२ र त्यसपछिका तीन साना–ठूला भुइँचालाको तथ्यांक विश्लेषणबाट भूगर्भविद् सुधीर रजौरिया ‘काठमाडौं उपत्यकाको माटोमा भुइँचालो तरंगले ल्याउने कम्पनको मात्रा सानो भुइँचालोको तुलनामा ठूलोमा कम रहेको’ निष्कर्षमा पुगेका छन्।
उनले यसै साता राजधानीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै आफ्नो अनुसन्धान–निष्कर्ष सार्वजनिक गरेका हुन्।
खानी तथा भूगर्भ विभाग, पेट्रोलियम अन्वेषण परियोजना प्रमुख रजौरियाले यो अनुसन्धान क्रममा वैशाख १२ को ७.८ र त्यसपछिका ७.३, ६.७ र ६.५ म्याग्निच्युडका परकम्पको तथ्यांक विश्लेषण गरेका थिए। तीमध्ये ६.७ र ६.५ को तुलनामा ७.८ र ७.३ म्याग्निच्युडका भुइँचालामा कम्पनको अनुपात सानो रहेको अनुसन्धानबाट देखिएको छ।
‘हामीले वैशाखयता चारवटा साना–ठूला भुइँचालाले काठमाडौं उपत्यकाभित्र कस्तो प्रभाव पार्यो भन्ने तथ्यांक विश्लेषण गर्यौं। काठमाडौं उपत्यकाभित्र माटोको बाक्लो तह रहेका स्थानमा कम्पनको मात्रा फरक–फरक भेटियो। सानो भुइँचालो जाँदा बढी कम्पन रेकर्ड भयो भने ठूलो भुइँचालो जाँदा कम पाइयो,’ कार्यपत्र प्रस्तुतिपछि आफ्नो अनुसन्धान–निष्कर्ष प्रस्ट्याउँदै रजौरियाले सेतोपाटीसँग भने।
‘यो हामीले सोचेभन्दा र विगतको स्थापित मान्यताभन्दा फरक अवस्था हो। काठमाडौं उपत्यकामा माटो र बालुवाको मोटो पत्रले भुइँचालो तरंगलाई अझ तीव्रता दिनसक्छ, त्यही भएर ठूलो भुइँचालो जाँदा यहाँ सबै ध्वस्त हुन सक्छ भन्ने मान्यता थियो। त्यसविपरीत ठूलो भुइँचालो तरंगलाई यहाँको माटोले तीव्रता दिन सकेन, जसले अनुमान गरिएभन्दा कम क्षति भयो।’
उनका अनुसार, सामान्यतया चट्टानमाथि रहेका स्थानमा भन्दा माटो तथा बालुवाको मोटो पत्रमाथि रहेका स्थानमा कम्पन बढी हुन्छ। त्यस्ता स्थानमा क्षतिको सम्भावना पनि बढी नै हुन्छ। गोरखा भुइँचालोमा भने काठमाडौं उपत्यकाको माटोको पत्रले यस्तो प्रतिक्रिया देखाएन। बरु यहाँ माटोको बाक्लो पत्रमाथि रहेका स्थानमा चट्टानमाथि रहेको स्थानको तुलनामा कम्पनको तीव्रता बढ्न नसकेको रजौरियाले बताए। ‘मुख्य भुइँचालोपछि गएका परकम्पको समयमा भने माटोमाथि रहेका स्थानमा तुलनात्मक बढी कम्पन भएको पाइयो,’ उनले भने।
त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पसका सह–प्राध्यापक डा. दीपक चाम्लागाइँले पनि उपत्यकाका ४० भन्दा बढी ठाउँबाट माटोको नमूना संकलन गरेर भुइँचालो आउँदा देखिने परिवर्तन अनुसन्धान गरेका थिए।
उनका अनुसार, पाँच म्याग्निच्युडभन्दा ठूलो भुइँचालो जाँदा यहाँको माटोले ‘नन–लिनियर’ प्रतिक्रिया देखाउँछ। यस्तो अवस्थामा माटोले भुइँचालो तरंगको शक्ति सोस्छ र जमिन हल्लिने दर ह्वात्तै घट्छ। पाँच म्याग्निच्युडभन्दा सानो भुइँचालो गयो भने यहाँको माटोले ‘लिनियर’ प्रतिक्रिया देखाउँछ। यस्तो अवस्थामा माटोले भुइँचालो तरंगको शक्ति सोस्दैन, उल्टो बढाइदिन्छ। यसले जमिन हल्लिने दर पनि बढ्छ।
अग्ला घरमा बढी क्षति
वैशाख १२ को भुइँचालोले काठमाडौंका होचाभन्दा अग्ला घरलाई बढी क्षति पुर्याएको पाइएको छ। धरहरा ढल्नु र अग्ला टावरमा क्षति पुग्नु यसको उदाहरण हो। साना घर भने त्यस्तामा बढी क्षति पुगेका छन्, जसको इञ्जिनियरिङ संरचना कमजोर थियो। वा, जुन घर लामो समयदेखि मर्मतसम्भार गरिएको थिएन।
ठूलो भुइँचालो जाँदा काठमाडौंमा कम्पनको मात्रा तुलनात्मक कम थियो भने अग्ला घरहरूमा किन बढी क्षति पुग्यो त?
यसको पनि वैज्ञानिक कारण छ।
ठूलो भुइँचालो जाँदा त्यसले ल्याउने कम्पन तीव्र भयो भने साना आकारका घर गर्ल्यामगुर्लुम ढल्छन्। अग्ला घरलाई त क्षति पुर्याउने नै भयो। कम्पन कम भयो, तर जमिन विस्तारै लामो समय लगाएर हल्लियो भने साना घरका तुलनामा अग्ला घरमै बढी क्षति पुग्छ।
उदाहरणका लागि, किस्तीमा एउटा मात्र गिलास राखेर हल्लाउँ। छिटो–छिटो हल्लायो भने एउटै गिलास पनि ढल्छ। लामो समय लगाएर विस्तारै हल्लायो भने केही हुँदैन। अब त्यही किस्तीमा दुई–तीनवटा गिलास खप्ट्याएर राखौं। लामो समय लगाएर विस्तारै हल्लाउँ। यसो गर्दा माथिल्लो तहको गिलास ढल्छ।
‘जमिन तीव्र गतिमा थर्थर थर्थर हल्लियो भने साना घरका निम्ति जोखिमपूर्ण हुन्छ। लामो समय लगाएर विस्तारै हल्लियो भने त्यस्ता घर तुलनात्मक सुरक्षित हुन्छन्। अग्ला घर भने जोखिममा पर्छन्। काठमाडौंमा यसपालि त्यही भयो,’ रजौरियाले भने, ‘गोरखा भुइँचालोमा कम तला भएका घर भत्काउनसक्ने थर्थर थर्थर खालको तरंग कम रह्यो, यसले भूकम्पको स्रोतक्षेत्र नजिक भए पनि काठमाडौंमा आधुनिक प्रविधि प्रयोग गरी बनाइएका साना घर तुलनात्मक सुरक्षित रहे।’
अमेरिकी वैज्ञानिक जाँ फिलिप एभोकले आफ्नो प्रतिवेदनमा यही उल्लेख गरेका छन्। ‘साइन्स’ जर्नलमा प्रकाशित उनको अनुसन्धान प्रतिवेदनमा वैशाख १२ को भुइँचालोले जमिनलाई तीव्र झट्का दिनुभन्दा लामो समय लगाएर विस्तारै हल्लाएको उल्लेख छ।
‘काठमाडौं उपत्यकाको ठिक मुनि आइपुग्दा जमिन थर्किने दर कम भयो। यसको कारण, यहाँको चट्टान नरम प्रकृतिको भएकाले हुन सक्छ,’ सम्मेलनकै क्रममा जाँ फिलिपले सेतोपाटीसँग भनेका थिए, ‘नरम प्रकृतिको चट्टानमा थर्किने दर कम हुन्छ। यसो हो भने यो काठमाडौंका लागि अर्को खुसीको कुरा हो। यसमा थप अनुसन्धान हुनुपर्छ।’
स्रोत क्षेत्र विस्थापन सुस्त
गोरखा भुइँचालो क्रममा स्रोत क्षेत्रको विस्थापन दर पनि सुस्त रहेको रजौरिया बताउँछन्।
भुइँचालो तरंग केन्द्रविन्दुबाट जुन स्थानसम्म फैलियो त्यसलाई ‘स्रोत क्षेत्र’ भनिन्छ। केन्द्रविन्दु गोरखाको बारपाक थियो। बारपाकमा जमिनको सतहभन्दा लगभग ११ किलोमिटर मुनिबाट भौगर्भिक दरारमा विस्थापन सुरु भयो। यसले पूर्वमा दोलखासम्म झन्डै १५० किलोमिटर र उत्तर-दक्षिणमा झन्डै ४० किलोमिटर क्षेत्र विस्थापन गर्यो। यो क्षेत्र नै गोरखा भुइँचालोको स्रोत क्षेत्र हो।
‘म्याग्निच्युड ठूलो भए पनि यस्तै प्रकारका अन्य भुइँचालोको तुलनामा क्षति कम हुनुमा दुइटा कारण छन्– एउटा, कम्पनको तीव्रता तुलनात्मक कम थियो, अर्को स्रोत क्षेत्रमा भएको विस्थापन सुस्त थियो,’ उनले भने, ‘स्रोत क्षेत्र विस्थापन सुस्त हुनुले पनि कम्पनको तीव्रता बढ्न नसकेको हुन सक्छ।’
बेसीभन्दा डाँडामा बढी क्षति
भुइँचालो तरंगले पार्ने प्रभाव त्यहाँको भूगर्भ र ‘टोपोग्राफी’ ले फरक पार्छ।
काठमाडौं उपत्यका कचौरा आकारको भए पनि यसको पिँध उबडखाबड छ। कीर्तिपुर, नैकापदेखि बल्खु, पुल्चोकसम्म चट्टानी पहाड छन्। कचौराजस्तो भए भुइँचालो तरंग सबै ठाउँबाट बराबर सतहमा आउँछ। उबडखाबड भए सतहमा पर्ने प्रभाव फरक पर्छ। भुइँचालोले पार्ने प्रभावको सही विश्लेषण गर्न टोपोग्राफी अध्ययन जरुरी भएको रजौरिया बताउँछन्।
‘काठमाडौं उपत्यका बाहिरको सन्दर्भमा बेसीभन्दा पहाडका टुप्पामा बढी क्षति भएको छ,’ उनले भने, ‘डाँडाका टुप्पामा चारैतिरबाट आएको भुइँचालो तरंग आपसमा मिल्छन्। यसले एकै ठाउँमा धेरै ऊर्जा निष्कासन हुन्छ र जमिन धेरै हल्लिन्छ।’
भुइँचालोको यो असर ध्यानमा राखेर सरकारले पहाडका टुप्पामा बस्ती बसाउन निरुत्साहित गर्नुपर्ने वा भुइँचालो प्रतिरोधक प्रविधिको प्रयोगतर्फ जनचेतना जगाउनुपर्ने उनको राय छ।
भुइँचालो अनुसन्धान केन्द्रको खाँचो
वैज्ञानिक अनुसन्धानका हिसाबले वैशाख १२ को भुइँचालो नेपालका निम्ति महत्वपूर्ण रहेको रजौरियाको भनाइ छ। यसका तीन कारण छन् :
पहिलो, नेपालमा आधुनिक उपकरण जडान गरेर वैज्ञानिक ढंगले भुइँचालो अनुगमन गर्ने प्रक्रिया थालनीपछिको यो पहिलो ठूलो भुइँचालो हो। विभागले काठमाडौं उपत्यका र देशका विभिन्न ठाउँमा भुइँचालो–मापक उपकरणहरू राखेको छ। ती उपकरणले भुइँचालो जाँदा जमिन कसरी थर्कियो, कति बेर थर्कियो लगायत मसिना–मसिना तथ्यांक दिन्छन्। यसअघि १९९० सालमा ठूलो भुइँचालो जाँदा नेपालसँग केन्द्रविन्दु पत्ता लगाउने ल्याकतधरि थिएन।
दोस्रो, भुइँचालो जानुको कारण मानिएको ‘प्लेट टेक्टोनिक्स’ सिद्धान्त प्रतिपादन भएयता नेपालमा यति ठूलो भुइँचालो गएको थिएन। जुन इन्डियन प्लेट र युरेसियन प्लेटको ठक्करबाट हिमालय क्षेत्रमा भुइँचालो जान्छ भनेर हामी भन्छौं, त्यो सिद्धान्त १९९० सालको भुइँचालो बेला बनेकै थिएन।
र, तेस्रो, यो नेपालको पहिलो यति ठूलो भुइँचालो हो, जसमा संसारभरका भूगर्भ वैज्ञानिकले आ–आफ्नो ढंगबाट वैज्ञानिक मोडलहरू प्रयोग गरी अनुसन्धान गरिरहेका छन्।
‘अनुसन्धानको हिसाबले यो भुइँचालो हाम्रा निम्ति महत्वपूर्ण छ। आधुनिक वैज्ञानिक उपकरणहरूले प्रशस्त भौगर्भिक तथ्यांक रेकर्ड गरेका छन्। ठूलो भुइँचालो जाँदा यहाँको जमिनले कस्तो प्रतिक्रिया देखाउँदो रहेछ भन्नेबारे हामीले आफ्नै तथ्यांकबाट विश्लेषण गर्न पाएका छौं,’ रजौरियाले भने, ‘यसले हिमालय क्षेत्रको भूगर्भ बुझ्न र भविष्यमा यस्तै भुइँचालो आउँदाको स्थिति आँकलन गर्न सजिलो हुनेछ।’
यसका लागि देशका सबै भूगर्भविद्लाई एकै ठाउँ ल्याएर भुइँचालो अनुसन्धान केन्द्रजस्तो स्वायत्त निकाय गठन गर्न सके आगामी दिनमा भौगर्भिक अनुसन्धानदेखि जोखिम मूल्यांकनमा समेत सजिलो हुने उनले बताए।
यो पनि हेर्नुहोस्