सन् ६० को दशक पश्चिमी समाजमा गहिरो सामाजिक–साँस्कृतिक उथलपुथलको समय थियो।
चरमोत्कर्षमा पुगेको नागरिक आन्दोलन र नारीवाद, गर्भरोधक औषधि आविष्कार, प्रयोगशालमा ‘साइकेडेलिक’ लागुऔषध निर्माण, आणविक युद्धको त्रासदी, भियतनाम युद्धका घाउ लगायत कारणले साँस्कृतिक परिवर्तनको संघारमा पुग्यो पश्चिमी समाज। नयाँ र पुरानो पुस्ताबीचको खाडल गहिरियो। सामाजिक संस्थाले व्यक्तिमाथिको पकड गुमाउँदै गयो। परम्परागत मूल्य–मान्यता भत्कँदै गए।
स्थापित मान्यताको धज्जी उडाउँदै त्यही दशकमा सुरु भएको हिप्पी आन्दोलन प्रति–साँस्कृतिक आन्दोलनको सबैभन्दा सशक्त रूप थियो। सन् १९६३ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्यालगत्तै सान फ्रान्सिस्कोमा जम्मा भएका केही युवायुवतीले आफ्नो जीवनशैलीमार्फत् परम्परागत समाजलाई दिएको चुनौती हिप्पी आन्दोलनका नामले तीव्र गतिमा अन्य देशमा समेत फैलदै गयो।
अहिंसा, प्रेम, स्वतन्त्रता र समूहगत जीवन हिप्पी आन्दोलनका प्रमुख आदर्श थिए। उक्त विद्रोह संगीत, खुला यौन सम्बन्ध, अध्यात्म र चेतना विस्तार गर्ने ‘एलएसडी’ जस्ता लागुऔषधको प्रयोगमार्फत अभिव्यक्त भयो। पराइ संस्कृति र स्वतन्त्रताको चाहनाले हजारौं माइल टाढाको काठमाडौं सहरसमेत हिप्पी केन्द्रका रूपमा विकसित भयो।
अब चर्चा गरौं ‘हिप्पी धर्म’ भन्ने पुस्तकको। के थियो काठमाडौंमा हिप्पीहरूका निम्ति आकर्षक? कस्ता थिए उनीहरूका दिनचर्या?
आफूलाई पत्रकारका रूपमा पनि चिनाउने भारतीय सेनाका सेवानिवृत्त अधिकारी एफडी कोलाबाभलाको यो पुस्तक विशेषतः काठमाडौंमा भएका हिप्पी गतिविकिको चाखलाग्दो वर्णन हो।
६० को दशकमा झोछेँ (फ्रिक स्ट्रिट) मा रहेको किशोर राणाको क्याफे भ्रमण गरौं। भित्तामा प्रेम र शान्तिका सन्देश पढ्न पाइन्छ। पश्चिमी सेलिब्रिटीका ठूल्ठुला पोस्टर टाँसिएका छन्। प्रसिद्ध ‘रोलिङ स्टोन’ र ‘बिटल्स’ गीत र पूर्वीय भजनका संगीतमय धुनले वातावरण रोमाञ्चित बनाएको छ।
चरस भरिएका पाइप र गाँजाका परिकार क्याफेको मेनुमा उपलब्ध छ। चरसका केही सर्कोसँगै हिप्पीहरू ‘आध्यात्मिक’ रूपले आनन्दित महशुस गर्छन्। धुवाँले भरिएको उन्मादपूर्ण वातावरणमा पुग्ने जोकोही त्यसै लठ्ठिएको देखिन्छ।
कपाल र दाह्री पालेका, टुप्पी पालेका, लामा जुँगा भएका, विचित्रको कपडा लगाएका र कपडा नै नलगाएका हिप्पीहरूको आदर्शभूमि बनेको छ, काठमाडौं। उनीहरू समूहमा बस्छन्। साँझ रोमान्समा बित्छ। आफूसँग भएको चरस र खानेकुरा सबैले बाँडछन्। वातावरण प्रेमपूर्ण छ।
काठमाडौं जीवनयापनका निम्ति सस्तो पनि छ। ‘ब्लु टिबेटन’ रेस्टुरेन्टमा बफ, तरकारीको झोल, टिबेटन जाममा बेरिएका ठूला आकारका रोटी र चिया तीन रुपैयाँमा उपलब्ध छ। त्यो पनि महँगो लागे, ‘ग्लोब टि हाउस’ छ, जहाँ पेटभरि खाना र चिया एक रुपैयाँमै पाइन्छ। थप ५० पैसा तिरेर राति रेस्टुरेन्टमै सुत्न पनि सकिन्छ।
तैपनि हिप्पीहरूको गुनासो थियो– महँगो छ काठमाडौं!
शान्ति र स्वतन्त्रता खोज्दै सन् १९६६ को डिसेम्बर महिनामा दुई सय जना हिप्पी पहिलोपटक काठमाडौं आएका थिए।
कस्तो थियो त स्थानीयको प्रतिक्रिया?
लेखक भन्छन्, ‘कसैले उत्सुकतापूर्वक हेरे, केटाकेटीले रमाइलो माने, ठूलाबडाले आँखा चिम्लिए, धेरैले खिल्ली उडाए, जताततै थिए काठमाडौंमा हिप्पीहरू!’
केही स्थानीय युवा भने हिप्पी जीवनशैलीभन्दा हिप्पी युवतीबाट आकर्षित भएका थिए। त्यही आकर्षणमा परेर कसैकसैले हिप्पीहरूलाई घरमा डिनरको निम्ता पनि दिन्थे। स्थानीय युवाहरूको गुनासो थियो– रक्सीबिना अपरिचित युवतीहरूसँग रोमान्स नहुने, तर हिप्पीहरूले रक्सी नखाने!
पुस्तकको चाखलाग्दो पक्ष भनेको हिप्पी पात्रहरूको वर्णन हो। १५ जना सिखहरूसँग एकैसाथ प्रेम गर्ने २० वर्षीया लिन्डा चरसको नसामा झुलेकी छन्। उनी आफूलाई ‘तान्त्रिक’ सम्प्रदायको सदस्य र यौनका मामलामा उदार रहेको बताउँछिन्।
उता, जर्मन युवती इन्ज कसरी भिसा अवधिभन्दा लामो समय काठमाडौंमा बस्दैछिन् भनेर सबै आश्चर्य मान्छन्। इन्ज जवाफ दिन्छिन्, ‘अलिकति भाग्य, अलिकति घुस र केही महत्वपूर्ण नेपालीसँग रोमान्स गर्दै म अर्को एक वर्ष काठमाडौं बस्न सक्छु।’
इन्जजस्तै सबै हिप्पी भाग्यशाली थिएनन्। खर्च सकिएपछि आफ्नो पासपोर्ट बेच्ने केही हिप्पी जेल परेका थिए। हिप्पीका सबै गतिविधिलाई उदार मानिएको काठमाडौंले समेत पचाएको थिएन।
ज्याकोबिउज म्यारियालाई नांगै हिँडेकोमा दुईपटक प्रहरीले पक्राउ गरेको थियो। म्यारियाको भनाइ थियो– ‘भगवानले मानिसलाई कपडासहित निर्माण गरेनन्। लुगा–कपडा बन्धन हो, लुगा लगाउनु पाखण्डीपनको परिचय हो।’
जेलमा बस्दा पनि म्यारियाले कपडा लगाउन मानेनन, तर प्रहरीले जबर्जस्ती गर्यो। अन्तमा, म्यारियाले सुत्न दिएको तन्ना च्यातेर डोरी बनाए र झुन्डिएर आत्महत्या गरे।
हेरोइन सेवनका कारण कतिपयको अवस्था दयनीय थियो। ‘कालु’ नामबाट परिचित अमेरिकी युवा आफू आधा मानिस र आधा बाघ भएको बताउँथे। टर्कीमा बस्दा आत्महत्याको प्रयास पनि गरे, तर प्रहरीले उनलाई बचायो। उनले अनेकौं प्रायस गरे, तर उनको शरीरलाई ‘भुत’ले छाडेन।
अर्का हिप्पीलाई आफू जिसस क्राइस्टमा परिणत भएको महशुस भयो। आफ्ना सबै कपडा खोलेर जिसस भएको दाबी गर्ने ती हिप्पी महिलाई थिइन्। उक्त घटनाका कारण फ्रिकस्ट्रिटमा सनसनी मच्चिएको थियो।
आफूलाई शान्तिप्रिय भने पनि केही हिप्पी लागुऔषधका कारण हिंस्रक हुँदै थिए। खुकुरी लिएर एक हिप्पीले काठमाडौंको सडकमा सबैलाई मार्ने धम्की दिएका थिए। उनीहरूको खुला यौन सम्बन्ध, लागुऔषध प्रयोग, ‘स्वार्थरहित’ जीवनको आदर्शभन्दा वास्तविक जीवन भिन्न थियो। हिप्पी अर्थतन्त्रले हिप्पी आदर्शलाई लामो समय थेग्न सक्दैन थियो।
आर्थिक अभाव बढ्दै गएपछि आफूमात्र सेवन गर्न ड्रग्स लुकाउने, झगडा गर्ने, चोरी गर्ने, हिप्पी महिलाले यौनकर्मीका रूपमा काम गर्ने र पुरुषले सडकमा माग्ने अवस्था आएको थियो। ड्रग्सका कारण धेरै हिप्पीको शारीरिक अवस्था कमजोर भएको थियो। उपचार गर्ने पैसा नभएकाले कयौंको अवस्था दयनीय थियो।
त्यही भएर पनि धेरै हिप्पीलाई आफ्नो आदर्शको भ्रम टुट्दै गएको थियो। एक अमेरिकी युवतीले अमेरिकी दूतावासका अधिकारीको आवासअघि गएर सहयोगका लागि धर्ना दिइन्। र, याचना गरिन्– ‘धेरै भयो अब म सहन सक्दिनँ!’ उनलाई नुहाइयो, खाना खुवाइयो र अमेरिका फर्काइयो।
क्यानाडेली युवती सिन्डीले केही समय अघिदेखि नै आफ्नो भविष्य अन्धकारमय देख्न थालिन्। उनी आफ्नो देश फर्केर त्यहाँको एक विज्ञापन संस्थामा काम गर्ने तयारीमा लागिन्। सिन्डी भन्थिन्– ‘हिप्पी हुनुमा कुनै भविष्य छैन, यो अँध्यारो बाटो हो।’
हिप्पी भएर आफूले कयौं अनुभव बटुलेको सिन्डीको भनाइ थियो। एसियाका सयभन्दा बढी पुरुषसँग सुतेकोमा उनलाई गर्व छ।
हिप्पी जीवनको आकर्षणबाट भाग्न पनि सजिलो छैन। एक ब्रिटिस हिप्पीले आफ्ना बाबुआमालाई घर फर्कन हवाइ टिकट पठाइदिन अनुरोध गरे। जब टिकटको पैसा हात लाग्यो, उनले यतै बस्ने निर्णय गरे। हिप्पी जीवन अँध्यारो छ, तर आकर्षक छ। भाग्न पनि सजिलो छैन।
तर, काठमाडौं सधैं उस्तै रहेन। राष्ट्र संघ र अमेरिकी दबाबमा नेपालमा गाँजा उत्पादन, बिक्री तथा सेवनमाथि प्रतिबन्ध लगाइयो। त्यसपछि यो हिप्पीहरूको स्वर्ग रहेन। सन् १९७३ जुलाई १७ मा काठमाडौंमा प्रहरीले लागुऔषधविरुद्ध कडा कदम उठायो। हिप्पी संसारका निम्ति ‘प्याराडाइज लस्ट’ समान भयो।
हिप्पीहरूको स्वर्ग त संसारभरि नै अन्त्य हुँदै थियो। लागुऔषधमाथिको प्रतिबन्ध, बाँच्नका लागि गर्नुपर्ने परिश्रम, कठोर यथार्थता र हिप्पी अर्थतन्त्रले थेग्न नसक्ने जीवनशैलीजस्ता कारणले उक्त आन्दोलन धराशयी हुँदै गएको थियो। हिप्पीहरू क्रमशः घर फर्कन थाले। धेरैले टिप्पणी गरे– हिप्पीहरू केटाकेटी नै थिए, बल्ल हुर्किए।
पुस्तकका अन्य भाग भारतका खासगरी गोवा र बम्बईका हिप्पी गतिविधिसँग सम्बन्धित छन्। चाहे भारतमा होस् वा नेपालमा हिप्पी जीवनमा कुनै अन्तर छैन।
हिप्पीसँगै काठमाडौं र भारतीय सहरमा फिरन्ते जीवन बिताएका लेखकले घटनालाई सुन्दर ढंगले वर्णन गरेका छन्। बेलाबेला भेटिने अनावश्यक टिप्पणी र उपदेशले पुस्तक भद्दा बनाएको छ। लेखकको हिप्पी जीवनप्रति आकर्षण प्रस्ट रूपमा झल्कन्छ। उनी आफैं चरेस र एलएसडीको अनुभव लिन्छन्, तर हिप्पीलाई असल जीवन कसरी जिउने भन्नेबारे उपदेश दिन हिच्किचाउँदैनन्।
कयौंपटक हिप्पी युवतीले यौन सम्बन्ध राख्न गरेको अनुरोध अस्वीकार गरेको दाबी गर्छन्। यौनका मुद्दामा आफूलाई सज्जन ठान्ने लेखक पुस्तकमा हिप्पी युवतीका सुन्दरता र शारीरीक अंगको विस्तृत चित्रण गर्न भने लाज मान्दैनन्।
पुस्तकले हिप्पी आन्दोलनसम्बन्धी प्राज्ञिक बहसमा धेरै ज्ञान नथप्ला, तर उनीहरूको जीवनलाई नजिकबाट चियाउन र बुझ्न पुस्तक उपयोगी छ।