तातोपानी नाका हुँदै तस्करी गर्न लागिएका विभिन्न समयमा बरामद गरिएका सुन र पक्राउ परेकाहरु। तस्विरः किशोर बुढाथोकी
पटक–पटक हुने तस्करीका घटनाले नेपाल–चीनबीचको स्थलमार्ग तातोपानी नाका बदनामित हुँदै आएको छ । भुईंचालो गएदेखि बन्द यो नाकाबाट अझै पनि तस्करी हुने गरेको शुक्रबार पुष्टी भयो।
शुक्रबार अपरान्ह तातोपानीबाट राजधानी जाँदै गरेको एक जीपमा १८ किलो सुन फेला परेपछि नाका बन्द हुँदा पनि तस्करी हुने गरेको खुलेको हो ।
यो मार्ग भई चीनबाट नेपाललाई अन्तर्राष्ट्रिय ट्रान्जिट बनाई सुन तस्करी हुने गरेको आधिकारिक रुपमा २०७० मंसिरमा पुष्टि भएको थियो । त्यसबेला १७ किलो सुन तातोपानी भन्सार गेटमै बरामद भएको थियो । चीनको खासाबाट तातोपानी हुँदै काठमाडौंमा सुन जाँदैछ भन्ने सुराकी पाएपछि भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको सयूंक्त टोलीले सुन बरामद गरेको थियो।
त्यसयता अहिलेसम्म १ सय भन्दा धेरै किलो सुन बरामद भइसकेको छ । सिन्धुपाल्चोकमा मात्रै नभएर यो नाका हुँदै तस्करी गर्न लागिएको ९ किलो सुन काभ्रेमा र ३५ किलो कोटेश्वरमा बरामद गरिएको थियो। यसबाट पनि प्रष्ट हुन्छ यो नाका हुँदै राजधानीमा धेरै सुन जाने गरेको छ ।
बरामद गरिएका सुनको घटनाका प्रकृति हेर्दा सुराकी बिना हालसम्म सुन बरामद गर्न सकिएको छैन । स्रोतअनुसार आपसी साथीभाईमा ‘पैसा’को कुरामा सहमति नभएपछि सुराकी हुने गरेको छ । प्रहरी, भन्सारले त्यही सुराकीले दिएको जानकारी अनुसार सुरक्षा कडाई गरेपछि सुन बरामद हुने गरेको छ । सुराकी भएकामध्ये पनि कतिपय बरामद हुनै सक्दैनन् । तस्करीहरुले विभिन्न शैली अपनाई प्रहरीलाईसमेत छल्ने गरेका उदाहरणसमेत धेरै छन् । यसरी हेर्दा पनि तातोपानी नाका हुँदै ठूलो परिमाणमा सुन राजधानी गइरहेको अनुमान गर्न सकिन्छ ।
तस्करी गर्न लागिएको सुन बरामद गर्न विभिन्न सुराकीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसी सुराकी बिना सुन समाउन मुस्किल हुने बताउँछन्। अहिलेसम्मको सुन बरामदको घटनालाई नै हेर्ने हो भने पनि सुरक्षा जाँचकै कारण तस्कर र सुन बरामद भएको छैन।
भुईंचालो गएपछि तातोपानी नाका बन्द छ । शुक्रबार बरामद गरिएको सुन कसरी ल्याइयो भन्नेमा प्रहरी नै अनविज्ञ छ । एसपी केसी बरामद गरिएको सुन चीनबाटै आएको अनुमान लगाउँछन् । ‘उता(ल्हास्सा)मा बस्ने केही चाइनिजहरुले नेपाली क्यारिङवालासँग कन्ट्याक्ट गर्दा रहेछन्,’ प्रारम्भिक अनुसन्धानबाट खुलेको तथ्य जनाउँदै एसपी रविन्द्रले सेतोपाटीसँग भने, ‘सुनसँगै पक्राउ परेकाहरुलाई काठमाडौंमा पुगेर आफूले बोकेको सुन कसलाई दिने भन्नेबारेसमेत थाहा नहुँदो रहेछ।’ उनले प्रारम्भिक अनुसन्धानअनुसार सुनसँगै पक्राउ पर्नेहरु भरिया मात्रै हुने गरेको बताए । ‘तस्करहरुको नयाँ नयाँ शैली पत्ता लगाउनु प्रह्रीको पहिलो चुनौति हो,’ उनी भन्छन्, ‘तस्करी रोक्न अझै प्रहरीले ठूलो मेहनत गर्नुपर्छ।’
सरकारले नेपाली बजारमा सुन ल्याउँदा नेपाल राष्ट्र बैंकमार्फत् मासिक १५ किलो मात्र ल्याउन पाउने प्रावधान राखेको छ । सरकारी बैधानिक रुपमा एअरपोर्टबाट सुन ल्याउने गर्छ । नेपाली बजारमा सुनको मागलाई बैधानिकताले नथेगेकाले तस्करी बढेको हो । तातोपानी नाकाबाट सुन बैध रुपमा ल्याउन नपाइने भएकाले पनि व्यवसायीहरुले बाध्यतामा तस्करी गर्नुपरेको स्रोतको दावी छ । स्रोतअनुसार तस्करहरुले अपनाउने फरक फरक तरिकाले पनि सुरक्षा संयन्त्रले पनि बिना सुराकी त्यस्ता सामान बरामद गर्न सक्दैन । बिना सुराकी पक्राउ गर्न नसक्ने भएकाले पनि खासाबाट कति सुन अवैध रुपमा काठमाडौ जान्छ भन्ने एकिन गर्न कठिन छ । यो आधारमा ठूलो परिणाममा सुन खासाबाट आउने गरेको भएपनि चोरी निकासी हुने भएकाले यसको तथ्यांक पाउन कठिन देखिन्छ।
राष्ट्र वैंकले व्यापार घाटा कम गर्ने उद्देश्यले परिणात्मक वन्देज लगाएपछि खासाबाट अवैध रुपमा सुन नेपाल भित्रने गरेको हो । तातोपानी भन्सारबाट वैधानिक रुपमा सुन नआउने भन्सार अधिकारीहरु बताउँछन् । व्यक्तिले तीन तोलासम्म सुनका गहना ल्याउन पाउने कानुनी प्रावधान भएपनि व्यावसायिक प्रयोजनका लागि सुन ल्याउनै नपाउने भएकाले चोरी तस्करीको माध्यमबाट सुन आउने गरेको उनीहरुको ठम्माई छ ।
तातोपानी भन्सार कार्यालयका अधिकारीहरु हङकङबाट ल्हासा हुँदै नाकासम्म सुन आउने गरेको अनुमान लगाउँछन् । ‘सुनसँगै पक्राउ परेकाहरुले ‘पारी(खासा)बाट दिएको र काठमाण्डौंमा भेट्छु भनेको छ’ जस्ता अभिव्यक्ति दिनुले पनि यसको सत्तजाल कहाँसम्म छ भन्नै कठिन छ,’ अनुसन्धानमा संलग्न अधिकारी भन्छन् ,‘सुनसँगै पक्राउ परेकाहरु प्रायः सबैको एउटै बोली भएकाले ठूलै गिरोह सक्रिय रहेको भने हुनसक्छ ।’ चीनबाट नेपालको सिन्धुपाल्चोक हुँदै काठमाण्डौं पु¥याइने सबै सुन चाइनिज नहुने गरेकोसमेत पाइएको छ । यो नाकामा बरामद गरिएको सुनमा एकपटक मेड इन स्वीजरल्याण्ड लेखेको पाइएको थियो ।
स्रोतअनुसार तातोपानी नाकाबाट सुन ओसारपसार गर्नैका लागि व्यापारीहरुको एक समूह संगठित रुपमै लागिरहेको छ । सुरक्षा व्यवस्था कडा हुने भएकाले थोरै परिमाणको सुन राजधानी भित्र्याउन पनि ठूलै जनशक्ति खर्चिनुपर्ने हुन्छ । संगठित समूह अवैध रुपमा सुन नेपाल भित्र्याउने काममा संलग्न हुने गरेका स्रोत बतउँछ । अरनिको राजमार्गमा पटक÷पटक ठूलो परिमाणको सुन बरामद हुनुले पनि ठूलो परिमाणमा सुन आईरहेको पुष्टि हुन्छ । खासाबाट आएको सुन सबै नेपाली बजारमा खपत हुन नसक्ने एक व्यवसायी दावी गर्छन् । ‘तातोपानी नाका हुँदै आउने सुनका खास कारोबारी चिनियाँ र भारतीय हुन्,’ उनी भन्छन्, ‘नेपालीहरु सबै क्यारिङ गर्ने मात्र हुन् ।’ उनले खासाबाट आउने सुनको बिक्रेता चिनियाँ र क्रेता भारतीय व्यवसायी हुने खुलाए ।
नेपाली व्यवसायीले निश्चित रकम लिएर चीनको बोर्डर देखि भारतको बोर्डरसम्म सुन पु¥याइदिने ठेक्का लिएका हुन्छन् । पछिल्लो समय तातोपानी नाकाबाट नाम चलेकै व्यवसायीले पनि सुन क्यारिङको जिम्मा लिने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार सामाजिक प्रतिष्ठा भएकै व्यक्तिले ठेक्का लिएर सामान्य सवारी साधनमा राखेर सुन राजधानी पठाउने गरेका छन् ।
चीनका विभिन्न सहरमा किन्न पाइने ‘शुद्ध’ सुन नै नाकाबाट तस्करी हुने सुन हो । स्रोतअनुसार चिनियाँ व्यापारीले चीनका विभिन्न सहरमा खरिद गरि भारतीय नागरिकको साथमै नेपाली क्यारिङवालालाई कुती या खासामा सुन जिम्मा दिने गर्दछन् । नेपाली क्यारिङवालालाई सुन राजधानी पु¥याएवापत निश्चित रकम तोकिएको हुन्छ । सुन जिम्मा दिने बेलामा भएको सहमतिअनुसार नै सुन राजधानी भित्रने स्रोतको दावी छ । प्रहरीका दर्जनौं चेकपोष्ट पार गर्दै तातोपानीदेखि काठमाडौसम्म सुन लान त्यति सहज छैन तर संगठित तस्करहरुको रणनीतिले जोखिम कामलाई पनि सहज बनाइदिएको छ । सवारी साधनमा बनाईएका फल्स बटम र विभिन्न भागमा सुरक्षित रुपमा राखिएको सुन भेट्न सुरक्षाकर्मीलाई कसैले सुराकी नै गर्नुपर्ने हुन्छ । ‘सुन ल्याउँदा विशेषगरी सामान्य सवारी साधन तथा विश्वास गर्न नसकिने व्यक्तिहरुलाई जाँचस्थल आएपछि पैदलमै पठाइन्छ ,’ ती व्यवसायीले भने ।
पछिल्लो समय एअरपोर्ट भन्सारमा जाँच कडा पारिएपछि तस्करहरुले सुन ल्याउने नयाँ मार्गको रुपमा अरनिको राजमार्गको प्रयोग गर्न थालेको भन्सारका एक कर्मचारी बताउँछन् । खासाबाट चोर बाटो प्रयोग गरेर नेपाल प्रवेश गराएपछि अरनिको राजमार्गको विकल्प प्रयोग गरेर पनि सुन राजधानी पु¥याउन सकिने भएकाले यो मार्ग तस्करीका लागि सहज भएको उनको अनुमान छ । अझ रमाइलो कुरा त तातोपानीबाट काठमाडौसम्म कहिलेकाहीं पक्राउ हुने गरेको भएपनि काठमाडौबाट भारतको सीमासम्म कहिल्यै त्यस्ता सामान पक्राउ परेका छैनन् । रक्तचन्दन व्यवसायबाट घाटा खाएका वा पलायन भएका व्यवसायीहरुनै सुन तस्करमा लागेको स्रोतको दाबी छ ।
चिनियाँ भन्सारमा हुने कडा चेक जाँचका कारण भन्सारबाट नभई चोर बाटोबाट सुन भित्रने गरेको बताइन्छ । सुन निकासीमा चिनियाँ भन्सारले समेत कडाइ गर्ने गरेको छ । चोर बाटो हुँदै तातोपानी ल्याइएको सुन विभिन्न सवारी साधनमा फल्सबटम बनाएर राजधानी पुर्याउने गरिएको स्रोतको भनाई छ । फल्सबटम बनाउँदा गाडी टुट फुट समेत हुने भएकाले चालकले मात्रै फल्सबटम बनाउन नसक्ने भएकाले यस्ता अवैध कारोवारमा प्रायःगाडीधनीको समेत संलग्नता हुने शंका गर्न सकिन्छ ।