एउटा मैनबत्तीको मुल्य न्युनतम रु.५ देखि रु.१० पर्छ।
बसन्तपुरमा बलेको मैनबत्तीको संख्या करिब १० देखि १५ हजार थियो।
हिसाब गर्दा औसत रु. १ लाख जति हुन जान्छ।
सोच्नुस त!
प्रति २५ के.जी ,रु.१५०० को दरले रु. १ लाखको कमसेकम ६६ देखि ६७ बोरा वा भनौ १६७५ के.जी चामल आउँदो रै’छ।
१ के.जी चामलले करिब ६ जनालाई पुग्छ त्यसैगरि हेर्दा १६७५ के.जी चामलले करिब- करिब १० हजार ५० जनालाई एक छाक भात खान पुग्दो रैछ।
यसैगरि १ जीवनजल/सिटामोलको पत्तालाई रु.१० पर्छ।
रु.१ लाखको कमसेकम १० हजार जीवनजल/सिटामोलको पत्ता आउँदो रैछ।
नेपाल जस्तो देश जहाँ बर्सेनि कमसेकम २४ हजार (१६ वर्ष मुनिका बाल-बालिका) को सामान्य झाडा-पखाला लागेर वा ज्वरो आएर मृत्यु हुनेगर्छ त्यो देशमा मैनबत्ती ठूलो कि सिटामोल?
मरेकाको लागि बेलुन उडाएर, मैनबत्ती बालेर के पो भयो र?
मैनबत्ती पग्ल्यो र बेलुन उड्यो।
खै बचेका उस्तै छन्।
न घर छ सबै दुःख दुरूस्तै छन्।
वर्ष बित्यो सबैको मुखमा झुन्डिएको कुरा ‘सरकारले भूकम्पपीडितका लागि केही गरेन।’
सरकार एउटा systemले चल्ने हो र त्यो systemका हामी पनि एक हिस्सा हौ।
सरकार निकम्मा छ भन्नुको अर्थ हामी नलायक छौ। सरकारले केही गरेन। तर हामीले किन केही गरेनौ? एकदिन भावना फलाक्ने, कुर्लने त्यसपछि चुप हैन? देश बनाउन त हिड्छौ तर जुत्ताको तुना अरूले नै बान्दियोस् भन्ने सोच राख्छौ। मान्छे सामाजिक प्राणी भएकाले उसबाट राम्रा-नराम्रा दुवै काम हुनसक्छ।
उसबाट राम्रा काम बढी भए कि नराम्रा काम बेसी भए, कुन समय-सन्दर्भमा राम्रा-नराम्रा काम भए, तिनको बृहत अर्थ राख्ने गर्छ।
सरकारी कोटाको छात्रवृति पाएर डाक्टर बनेकाहरू फर्केर नेपाल आउन रुचाउन्नन् तर त्यही देशमा साल अड्किएर हजारौं महिला हरेक वर्ष मरिरहेछन्।
सभ्यता,सस्कृति,प्रकृतिले सम्पन्न नेपाल भनेर गर्ब गर्न पछि नपर्ने जोकोही जिम्मेवार नेपाली बन्नुपर्छ। कुनै पनि नेपालीले सामान्य उपचार नपाएर मर्नुपर्ने बाध्यताबाट मुक्तिको उपाय खोज्नुपर्छ। रोग,भोक,सोक,अशिक्षा र गरिबीबाट आम नेपालीलाई मुक्ति दिने उपाय खोज्नुपर्छ। तब बन्छ सम्वृद्ध नेपाल। अनि बाल्नु मैनबत्ती र फुक्नु बेलुनमा हावा।