प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संविधानको कार्यान्वयनमा पूरै असफल भएको भन्दै सरकारको विकल्प खोज्नुपर्ने बताएका छन्।
नेपाल ट्रेड युनियन कांग्रेसको आइतबार काठमाडौमा सुरु भएको राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा काँग्रेसका प्रभावशाली नेताहरुले प्रधानमन्त्री ओलीमाथि संघीयता विरोधीको समेत आरोप लगाउँदै मधेशवादी दलहरुका मागलाई सम्बोधन गरेर संविधानको प्रभावकारी कार्यान्वयनका लागि सरकारको विकल्प खोज्नुपर्ने बताएका हुन्।
पार्टी सभापति शेरबहादुर देउवाकासामु केन्द्रीय सदस्य विमलेन्द्र निधि र डा. शेखर कोइरालाले संविधानको कार्यान्वयन र मधेशवादी दलले उठाएका माग संवोधनका मामलामा सरकार पूरै उदासीन रहेको बताए।
उनीहरुले सत्तारुढ नेकपा एमालेको अरुची र नकारात्मक धारणाका कारण सीमांकनका विषयमा मधेशवादी दलहरुसँग सहमति हुन नसकेको र संविधानको कार्यान्वयन धरापमा परेको बताए। उनीहरुले भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाण गर्ने, आपूर्ति व्यवस्था सहज तुल्याउने, कालोबजारी नियन्त्रण गर्ने, प्रशासनलाई चुस्त दुरुस्त पार्ने मामिलामा सरकार पूरै असफल भएको भन्दै सबैभन्दा ठूलो दलका नाताले सरकारको असफलतालाई काँग्रेसले टुलुटुलु हेरेर बस्न नमिल्ने बताए।
नेताद्वय निधि र डा. कोइरालाले प्रधानमन्त्री ओलीलाई संघीयताविरोधीका रुपमा प्रस्तुत गर्दै संघीयताविरोधी प्रधानमन्त्रीबाट संघीयतासहितको संविधान कार्यान्वयन हुन्छ भनेर आश गर्न नहुने बताए। उनीहरूले प्रधानमन्त्री ओलीमाथि न्यायपालिकामा चरम राजनीतिकरण गरेको तथा निर्णय प्रक्रियामा निरंकुश शासकको शैली अपनाएको आरोप पनि लगाए। उनीहरूले वैशाख २१ गतेबाट रुपान्तरित व्यवस्थापिका संसद्को अधिवेशन सुरु हुन लागेका कारण काँग्रेसले सरकारको विकल्प खोज्नतिर ध्यान दिनुपर्ने बताए।
नेताद्वय निधि र डा. कोइरालाले सरकारविरोधी अभिव्यक्ति दिएपनि काँग्रेस सभापति शेरबहादुर देउवाले भने यसबारेमा कुनै टिप्पणी गरेनन्। उनले श्रमिकहरुमाथि वर्षौंदेखि शोषण हुँदै आएको भन्दै श्रमिकहरुले भोग्दै आएका समस्या समाधानका लागि पहल गर्न श्रम आयोग गठन गरिनुपर्ने बताए।