भूकम्पको समय यो पृथ्वी जीव मात्रको लागि सुख शान्ति दायक नै रहोस् र उल्कापात हाम्रो लागि अनिष्टकारक नहुन् तथा तूफान र नक्षत्रहरुसँग उल्काको ठोक्किनु हाम्रो लागि सर्वविध मंगलदायक नै होस् ।। अथर्ववेद १९.९ ।।
गर्गले पराशरलाई भनेका थिए-भूकम्पको कारणलाई पूर्ण रूपले निर्णय गर्न कठिन छ अत: अदृष्ट वा अज्ञात कारणले भूकम्प आउने हुन्छ।
यसै कारण यसको पुनरावृतिलाई कुनै निश्चित नियमावलीमा बाँध्न कठिन हुन्छ । तर पृथ्वीको भित्र विद्यमान वायुको दवाब जब धेरै उच्चस्तरमा बाहिरी वायुको दवाबसँग संघर्ष गर्छ। उनीहरूमा टकराव हुन्छ तब भुँइचालो आउँछ।
वशिष्ठ ऋषिले पनि भन्नुभएको छ आकाश वा शून्यमा वायुको भित्री बलवान् वायुसँग संघर्ष नै कम्पनको कारण हो ।
वृद्धगर्गआदि ऋषीको मत छ कि प्रजाहरूको अदृष्ट (धर्माधर्म) को कारणले भूकम्प हुन्छ। पराशरले भनेका छन्-चट्टानको पारस्परिक र नितान्त भित्री विक्षोभ विचलन या बलसंघातको कारण भूकम्प हुन्छ।
पराशरले यो पनि भनेका छन -वायु अग्नि, इन्द्र र वरुणलाई ब्रह्माले समय अनुसार पृथ्वीलाई हल्लाउने दायित्व सुम्पिएका हुन्। दिनको पूर्वार्धमा आउनेवाला भूकम्प वायूद्वारा नियन्त्रित हुन्छ । दिनको उत्तरार्धमा अग्नि ,रात्रीको पूर्वार्धमा इन्द्र र उत्तरार्धमा वरुण भूकम्पकलाई नियन्त्रित गर्छन्।
भूमिको भित्रि विशाल चट्टानहरुको परस्पर बलसंघातको कारण भूकम्प आउँछ र यो बलसंघात या विक्षोभ वायुद्वारा प्रेरित छ। १८औं सताब्दीसम्म वैज्ञानिकहरूले पनि वायुलार्इ नै मुख्य कारण मानेको पाइन्छ।
भूकम्पको प्रकृति वा परिणामका दृष्टिले यसलाई चार भागमा बाँड्न सकिन्छ।
१. वायु विक्षोभ प्रधान
२. अग्नि वा ऊष्मा प्रधान
३. इन्द्र वा वर्षा र पर्वतीय विक्षोभ प्रधान
४. वरुण वा समुद्र गर्भीय विक्षोभ प्रधान।
२०७२ वैशाख १२ गते शनिबार पुनर्वसु नक्षत्रमा ११:५६ मा गएको भूकम्प वायु विक्षोभ प्रधान थियो किनकी बृहत्तसंहितामा भनिएको छ ,'उत्तराफाल्गुनी, हस्त, चित्रा, स्वाती, पुनर्वसु, मृगशिरा, अश्विनी–यी सात नक्षत्र वायव्य मण्डलका हुन्।'
९० सालको इन्द्र वा वर्षा र पर्वतीय विक्षोभ प्रधान थियो। ९० मा एउटै ऐन्द्रमण्डलको नक्षत्रमा सवै पापग्रह थिए भने ७२ मा छरिएका थिए। औपुरूषेय वेदको निर्मल चक्षुको रूपमा रहेको ज्योतिष रूपी रूखको जरा गणित हो, होराशास्त्रको विविध रूप यसका हाँगाहरू हुन् र संहिता ज्योतिषको स्वादिष्ट फल हो।
प्राचिन ज्योतिषीय संहिताशास्त्रका नियमहरु संसारका सबै जीवहरूको कल्याण होस् भनेर बनाइएको पाइन्छ। हाम्रो देश नेपाल र नेपाली जनताको लागि २०७२, ४५ र १९९० सालमै किन सबैभन्दा बढी भूकम्पको प्रकोप र जनधनको क्षति भयो भनेर सयौं वर्ष अगाडिदेखि २०७३ सम्मको पात्रो पल्टाई ज्योतिषीय संहिता शास्त्रहरुलाई खोतलेर अनुसन्धान गरी हेर्दा ग्रह नक्षत्रहरूका विभिन्न प्रकारको प्रभाव मध्य अधिकमास परेको वर्ष तिथि नक्षत्रहरूको असन्तुलन पनि मुख्य कारण भएको देखिन्छ। भूकम्पको पहिलो कारणको रूपमा स्तम्भलार्इ लिन सकिन्छ। जल, घाँस, वायु, अन्न यी चारलाई संवत्सर (वर्ष)का चार स्तम्भ मानिएको छ। चैत्रशुक्ल प्रतिपदा र रेवती नक्षत्रको संयोगले जलस्तम्भ, वैशाख शुक्ल प्रतिपदा र भरणी नक्षत्रको संयोगले तृणस्तम्भ, ज्येष्ठ शुक्ल प्रतिपदा र मृगशिरा नक्षत्रको संयोगले वायुस्तस्भ र आषाढ शुक्ल प्रतिपदा र पुनर्वशु नक्षत्रको संयोगले अन्नस्तम्भको निर्णय हुन्छ। माथि लेखिएको तिथी र नक्षत्रको संयोग जति बढी भयो त्यति यी स्तम्भ बलिया मानिन्छन् र ५० प्रतिशतभन्दा कम भएमा ति स्तम्भ कमजोर मानिन्छन्। सम्वत्सरका यी चार स्तम्भहरूले त्यो वर्षको फलको निर्णय गर्दछ। जसरी बलियो स्तम्भमा अडिएको भवनले भूकम्पको ठूलो झट्का पनि सजिलै झेल्न सक्छ, त्यसरी नै सम्वत्सरका चार स्तम्भ बलियो भएमा त्यो वर्ष ठूल्ठूला प्राकृतिक प्रकोप आइ परे पनि सजिलै झेल्न सक्छ। वर्ष स्तम्भहरुको विचार गर्दा सुरुमा पर्ने जलस्तम्भ हाम्रो पात्रो अनुसार २०७३ को जल स्तम्भ जम्मा ९ घण्टा ५० मिनेट मात्र छ, औसतमा तिथि नक्षत्रहरुले २४ घण्टा भोग गर्दछन्, जस अनुसार प्रतिशतमा हिसाब गर्दा ५० प्रतिशतभन्दा कम हो। अन्य स्तम्भहरु र आर्षमानहरुलाई पनि यसरी नै बुझ्नु पर्ने हुन्छ। ७२ र ४५ को पनि कमजोर तथा ९० वलियो थियो।
जलस्तम्भको निर्बलताले पिउने पानीको संकट, वर्षाको अनियमितताको कारण जनधन हानी तथा पानीमा आधारित समस्याहरु देखिने हुन्छन्। २०७३ वैशाख २५ गते पर्ने तृणस्तम्भ बल जम्मा ३० प्र. भन्दा थोरै छ, ७२ र ४५ कमजोर तथा ९० सालको वलियो थियो। यसको निर्बलताले घाँस, भूसबाट निकालिने कृषि उपज, वनस्पति र अन्य पदार्थहरुको उपलब्धतामा विचारणीय कमी हुन्छ ।
तेस्रो भूकम्प कारक वायु स्तम्भको विचार गर्दा यो वर्ष ७३ वायु स्तम्भ १७ घण्टा २१ मिनेट यानि ७० प्रतिशत बढी छ।
२०७२ र ९० मा जिरो तथा ४५ मा ५५ प्रतिशत थियो। वायु स्तम्भ कमजोर भएको वर्ष हुरीबतास, बबन्डर, भूकम्प आदिको प्रकोप रहने हुन्छ। चौथोमा पर्ने अन्न स्तम्भ २०७३ को निकै बलियो छ। ७२, ४५ र ९० सालको अन्न स्तम्भ कमजोर थियो तथा अन्न स्तम्भको निर्बलताले समग्र घरेलु उत्पादनमा कमी, उभिएका फसलहरूको हानी तथा खाद्यान्नको अभाव हुने संकेत गर्छ।
दोस्रो कारण :
आर्षमान: आर्ष शब्दको अर्थ हो- ऋषिहरुसंग सम्बन्धित ऋषिहरुको मान/ नापतौल। यसलाई संवत्सरको घेराबन्दी पनि भनिन्छ। यिनीहरुको विचारले वर्षभरि जनता र देशको सुरक्षा, कानुन व्यवस्था, सामाजिक शान्ति, नैतिक मूल्यहरु र समृद्धिको निश्चय गरिन्छ। यी संयोगहरुको निर्बलताले उपद्रव, दुर्घटना, आपदाहरु, विस्फोट, अशान्ति र व्यक्तिहरुको चारित्रिक पतनलाई निमन्त्रणा गर्दछ। तिथि र नक्षत्रको संयोग स्तम्भहरुको जसरी नै हेरिन्छ । चार आर्षमान यस प्रकार तय गरिएका छन्।
१. आर्ष प्रथम-वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया र रोहिणी।
२. आर्ष द्वितीय-संवत्सर सुरु हुनु भन्दा अगाडिको पुषे औंसी र मूल नक्षत्र। ३. आर्ष तृतीय-श्रावण पूर्णिमा (जनै पूर्णिमा) र श्रवण नक्षत्र।
४. आर्ष चतुर्थ - कार्तिक पूर्णिमा र कृतिका नक्षत्र भनेर संहितामा भनिएको छ।
२०७३ सालको आर्ष प्रथम जम्मा ८ घण्टा १९ मि. मात्र छ। ७२ र ४५ को पनि कमजोर तथा ९० को वलियो देखिन्छ। ७३ सालको आर्ष द्वितीय जम्मा २ घण्टा ४० मि. मात्र छ, ७२ ४५ पनि कमजोर तथा ९० मा वलियो छ। २०७३ को जनै पूर्णिमाको दिन पर्ने तेस्रो आर्षमान जम्मा ९ घण्टा १० मि. छ, ७२ मा आर्ष तृतीय जिरो प्रतिशत थियो र जनै पूर्णिमा पछि हाम्रो देशमा के भएको थियो सवैलाई जानकारी नै छ । ९० मा यो ६० र ४५ मा १० प्रतिशत थियो । चौथो आर्षमान - कार्तिक पूर्णिमा र कृतिका नक्षत्रको संयोगले बन्ने आर्ष चतुर्थ यसपालि जम्मा २ घण्टा २० मि. मात्रै छ, ७२ मा आर्ष चतुर्थको संयोग ८० प्रतिशत भन्दा बढि थियो , ९० मा यो जिरो र ४५ मा ५० प्रतिशत भन्दा बढी थियो।
मेरो अनुसंधानात्मक अनुभूतिमा चतुर्थ आर्ष कमजोर भएको वर्ष विश्वपरिवेशमै आएका भूकम्पहरु धेरै विनाशकारी भएको देखिएका छन् । २०७२ मा चतुर्थ आर्ष वलियो भएकाले भूकम्पिय क्षति जति हुनुपर्ने हो त्यो भन्दा निकै कम भएको हो ।
तेस्रो कारण :
अर्को महत्वपूर्ण कारण, अधिकमासमा मंगल अथवा बृहस्पतिले राशी परिवर्तन गरे भने देशव्यापी संकट हुन्छ भनिएको छ । भूकम्पको अनुसन्धान गर्दा १९९१ को बैशाखमा मलमास परेको थियो र मलमास सुरू हुनुभन्दा ठीक ८० दिन अगाडि ९० को माघ २ गते भूकम्प गएको थियो।
त्यस्तै मलमासकै बिच मंगलले राशि फेरेको थियो। २०४५ को जेठ महिनामा मलमास परेको थियो । मलमास सकिएको ६८ औं दिनमा भदौ ५ गते भूकम्प आयो। त्यो बेला मलमासको प्रारम्भमा नै मंगल मकरबाट कुम्भ राशिमा गएको थियो।
२०७२ को असारमा मलमास परेको थियो र मलमासको ठीक ६८ औं दिन अगाडि नै वैशाख १२ गते भूकम्प आयो र ७२ मा चाहीँ मलमासको सुरूमा मंगलले र अन्तिम तिर बृहस्पतिले राशि फेरेको छ । मैले प्रस्तुत गरेको माथिका तथ्यहरुलाई गहिरिएर अनुसन्धान गर्ने हो भने भूकम्पलगायत अन्य प्राकृतिक तथा राजनीतिक प्रकोपका घटनाक्रमको अनुमानित समय र क्षतिको मात्रा थाहा हुनसक्छ ।
विश्वमा गएको भूकम्पको विश्लेषणः
विश्वमा गएमा अरू शक्तिशाली महाभूकम्पहरू जस्तै सन् १८११/१२ मा गएको अमेरिका, सन् १८९७ भारतको सिलांग तथा २००१ को भारत
को गुजरात, सन् २००४ को थाइल्याण्डमा गएको सुनामी, २०१० को हाइटीमा गएको यी सबै भूकम्पहरूको पनि अध्ययन गर्दा वायु स्तम्भसहित अर्को एक स्तम्भ जिरो रहेको देखिन्छ।
अरू स्तम्भ पनि कमजोर नै देखिन्छ । त्यस्तै सबैमा चतुर्थ आर्षबल जिरो रहेको देखिन्छ । मलमासको स्थिती पनि प्रायः नजिकनै देखिन्छ । अपवादको रूपमा वायु स्तम्भ ५५ प्रतिशत भइकन पनि सन १९२३ को सेप्टेम्वर १ जापानको क्वान्तोमा ठुलो विनाशकारी भूकम्प आएको थियो जसमा आगोको ज्वाला पनि निस्केको थियो ।
यसरी संहिता अनुसार स्तम्भ र आर्षमानको गणना गरी हेर्दा ९० सालमा सुरूका स्तम्भ र आर्षमान बलिया र पछिका अति कमजोर देखिन्छन् । भूकम्प पनि बर्षान्तमा आएको थियो । ४५ सालमा सबै स्तम्भ र आर्षमान कमजोर देखिन्छन् तर बिचका बढि कमजोर भएका कारण वर्षको मध्य समयमा भूकम्प आएको थियो तर पनि वायु स्तम्भ बलियो भएको कारण भूकम्पिय क्षति तुलनात्मक रूपमा निकै कम भएको थियो । ७२ मा सुरूका कमजोर र पछिका बलिया देखिन्छन् । त्यसैले भूकम्प पनि वर्षको शुरूमै आएको हो । ७३ मा सुरूका २ स्तम्भ कमजोर तथा पछिका २ वलिया छन्।
यसरी ज्योतिषीय दृष्टिकोणले ७२ वैशाखमा आएको भूकम्पको विश्लेषण गर्दा वायुस्तम्भ, जलस्तम्भ र अन्नस्तभ कमजोर हुनु, मलमासमा मंगल र बृहस्पतिले राशी फेर्नु, आर्षमान पनि कमजोर हुनुले नै गएको वर्ष भूकम्पजस्तो विपत्ति देखिएको हो । त्यस्तै , अझ् गहिरिदा ७२ बैशाष ६ गते बुध उदय भएको थियो र बैशाखमा बुधको उदय हुनुलाई पनि उत्पात कारक मानिन्छ । २०७१ चैत्र २९ गते देखि २०७२ बैशाष १७ गते सम्म भरनी नक्षत्रको मेष राशिमा हाम्रो देशको राशी स्वामी मंगल र अनुराधा नक्षत्रको वृश्चिक राशिमा अशुभ घटनाक्रमहरुको नाइके शनिको भ्रमण र दुवैमा नक्षत्रको परस्पर बेध (बाधा) परेकाले २०७२ बैशाष १२ गते शनिवार शनि भित्र भएको वायुको शक्तिशाली वेगका कारण हाम्रो नेपालमा विनाशकारी भूकम्प आएको हो । ७२ सालको राजा शनि मन्त्री मंगल हुनु र
चन्द्रमा, बुध र शुक्र तिनैवटा ग्रहले बैशाष महिना भित्रै रोहिणी नक्षत्रको भेदन गर्नु पनि मुख्य कारण भएको पाइन्छ । आर्षमानहरू कमजोर भएकोले राजनितीक अस्थिरता तथा रोहिणी भेदनचक्र चलिरहेकोले संसारमा भय, कष्ट, दुर्घटना बढने संभावना भए पनि, २०७३ सालको वायु र अन्न स्तम्भ वलियो छ । यो वर्ष कुनै पनि स्तम्भ तथा आर्षमान जिरो छैन । संवत्सर एवं राज्य अधिकारी ग्रहहरुको प्रभाव पनि समग्रमा राम्रो रहेको देखिन्छ । शुक्र राजा भएको वर्ष सुरराजगुरोः शुभे तु वर्षे पनि भनिएको छ ।