विगत केही सालदेखि काठमाडौंका गल्ली गल्लीमा ब्रिज कोर्स तथा एसएलसी र १२ कक्षा लगत्तै भर्ना हुन आव्हान गर्ने कन्सल्टेन्सिहरू छयाप्छयाप्ति देखिन्छन्।
मानौं यस्ता कोर्स नलिएमा भर्खर परीक्षाको तनावबाट गुज्रेका विद्यार्थीहरुको भविष्य बर्बाद नै हुन्छ। अनि उनीहरुका अभिभावक त्यस्तै सोच्दछन्। हिजो भर्खर स्कुलको जर्बजस्त पढाईको पेलानबाट मुक्त भएका विद्यार्थीहरु फेरि तथानाम ब्रिजकोर्स र तयारी कक्षामा लागिहाल्नु पर्ने अवस्थामा पुग्छन्।
आफ्ना साथीभाइ तथा अभिभावकको दवाबमा त्यस्ता कोर्स लिन जान्छन्। यी कोर्समा भर्ना नभएमा मानौं कतै भर्ना नपाईने होकि, पढाईमा पछि परिने होकि, ३ महिनाको अवधिमा अध्ययन नगर्दा मानौं पहिला पढेका सबै कुरा विर्सिने होकि आदि जस्ता निर्दोष सवालहरू विद्यार्थीको मनमा आउनु स्वभाविक हो। तर, विद्यार्थीलाई पर्ने यस्ता मानसिक तनावलाई निवारण गर्नुको साटो स्कुलका शिक्षकहरु र कन्सल्टेन्सीहरू विद्यार्थीहरुलाई थप तनाबमा जाकिदिन्छन्।
एसएलसी सकिएको भोलिपल्ट देखिनै यस्ता ब्रिजकोर्स सम्बन्धी विज्ञापनको जालोमा अन्ततः उनीहरु परिहाल्छन् । यस्ता कोर्सबाट कथित ब्रिज कोर्स र तयारी कक्षाका सञ्चालकहरुलाई बाहेक अरु कसैलाई फाईदा भएको देखिएको छैन। यस्ता कोर्स गरिनुपर्ने आवश्यकता छ कि छैन भन्ने सवालबारे कहिँकतै बहस भएको पनि देखिन्न। सरकारी निकायलाई यस्ता सवालमा खासै चासो छ जस्तो देखिन्न।
त्यसो भए गर्ने चाहिं के त ।
वास्तवमा यो प्रश्नको जिज्ञासा त मेटिनै पर्छ ।
हाम्रा बालबालिकाका मष्तिष्क सँधै तन्दुरस्त हुनुपर्छ। उनीहरुको अगाडि विशाल चुनौतिहरू छन् । पहिला प्रत्येक औपचारिक तहका अध्ययनलाई सिध्याउनु छ। आफ्ना लक्ष्यमा हिँडनु छ। पारिवारिक र सामाजिक दायित्व अँगाल्नु छ। जिन्दगी सुन्दर ढंगले जिउने सपना पूरा गर्नुछ। यस्तो बेला विद्याथीलाई राम्रो क्यारिएर परामर्शको आवश्यकता पर्छ। जहाँ हामी अभिभावक, शिक्षकवर्ग र नीतिनिर्माता चुकेका छौं ।
विद्यार्थीलाई जीवनमा सफल हुन पढाई र किताबी ज्ञानमात्र पर्याप्त हुँदैन भन्ने कुराको आभास हामी अभिभावक तथा जिम्मेवार व्यक्तिहरुले दिलाईदिनु पर्दछ।
पढाई र परीक्षाको चापमा मात्र नपरि आफ्ना रहर, आफ्ना गर्न मन लाग्ने कुराहरु जस्तो, घुमघाम, सांगीतिक प्रशिक्षण, खेलकुद तथा आफ्ना हबिहरुलाई पछयाउने आदि काम गर्नु उनीहरुलाई हौस्याउनु पर्छ।
पढाई तथा परीक्षा सकिए लगत्तै बरु सकिन्छ भने शहरबजारको घुँइचो, प्रदुषण, कोलाहाल र अशान्त माहोलबाट २/३ साता कतै भ्रमणमा जाँदा निकै राम्रो हुने स्वास्थ्य विज्ञले सुझाएका छन्। यसो गर्दा मानव मष्तिश्कमा सफा र स्वच्छ हावाले गर्दा नयाँ ऊर्जा पैदा गर्दछ।
अनि सकरात्मक सोच, नयाँ ऊर्जा एवम् ताजा विचारहरू पनि आउने अध्ययनले देखाएका छन्। अझ हाईकिङ वा कतै हरियाली ठाऊँमा हिँड्डुल गर्दा शरीर तथा मष्तिष्क लगायत अन्य भागमा नयाँ उर्जा र खुसी बनाउने हर्मोन श्रृजना गर्दछ र जीवनलाई हेर्ने अलग बाटो देखिन्छ।
अध्ययन विदा दिनुको खास कारण विद्यार्थीहरू वास्तवमा पुनःताजगी होउन्, नयाँ उर्जा संकलन गरून्, नयाँ जोशका साथ आगामी अध्ययन शुरुवात होस् भन्ने भित्रि वैज्ञानिक कारणलाई वेवास्ता गरेर विद्यार्थी, शिक्षक तथा अभिभावकहरु यस्ता नवसिर्जित कथित ब्रिजकोर्स तथा तयारी कक्षामा लाग्न कसैले कसैलाई दवाव नदिऔं।
बरू यस्तो बेलामा परीक्षाको तनाबबाट गुज्रेका आफ्ना छोराछोरीलाई निष्फिक्रि भएर घुमघाम गर्न, शारीरिक व्यायाम गर्न, ध्यान गर्न, आफूलाई मन लागेको पुस्तक पढ्न, खेलकुदमा लाग्न, कुनै स्वयम् सेवाजन्य कार्य गर्न अथवा उनीहरुको इच्छाबमोजिमका गतिविधि आदि गर्न दिऔं। उनीहरुलाई पढाई र किताब मात्र जिन्दगी हैन भन्ने कुराको बोध गराऔं।