सङ्घर्ष गरे परिवार समृद्धिको दिशामा अघि बढ्नुका साथै सुख, एैस आराम मिल्छ भन्ने उदाहरण बनेका छन, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का मुक्तकमैया मोहन चौधरी।
विसं २०५८ सालअघि यहाँकै शङ्करपुर गाविसमा रहेको साहुजनको घरमा कमैया बसेका मोहन अहिले गाउँमै व्यवसाय गरेर लखपति बन्नुका साथै अन्य बेरोजगार युवाको पनि रोजगारदाता बनेका छन् । अवसर मिले सङ्घर्ष गरेर गरिबीको दायरालाई निचोर्दै विकसित परिवारमा आफूलाई गणना गर्न सकिने बताउँदै मोहन दम्पती नै गाउँमा व्यवसाय गरेर जीवन व्यतित गरिरहेका छन्।
सरकारले उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा नगदेबाली गर्न भ्याउने मोहन दम्पतीले कृष्णपुरस्थित सहारानगर चौकमा मज्जाको व्यवसाय थालेका छन्। चोकमा रहेको एउटै कच्ची घरमा मोहनले एउटा कोठामा कपाल काट्ने नाइको पसल थापेका छन् । भने अर्को कोठामा उहाँकी पत्नी मञ्जला चौधरीले साइकल मर्मतको पसल गरेकी छिन्।
‘दैनिक रु एक हजारदेखि एकहजार ५०० सम्म कमाइ भइहाल्छ ।’ मोहनले भने ‘म कपाल काटेको रु ३० लिन्छु भने मञ्चला साइकल मर्मतको अवस्था र सामानको लगानी अनुसार पैसा पाउँछिन्।’
विसं २०६० मा उक्त गाउँमा व्यवसाय गरी आम्दानी थालेका मोहन दम्पतीले आफूहरुले रु चार हजारबाट काम सुरु गरेको बताए। ‘दम्पतीको कमाइले कृष्णपुरको गुलरिया बजारमा ६ लाख रुपैयाको घडेरीका साथै एउटा मोटरसाइकल समेत किनिसकेँ ।’ मोहनले भने -एउटा भाइलाई पनि रु चार हजार ज्याला दिएर साइकल पसलमा काम लगाएको छु।
गाउँमा सञ्चालनमा रहेको सञ्चालन सामुदायिक संस्थाबाट आफूले व्यवसायका लागि चार पटक ऋण लिएको उनले बताए। गाउँमा व्यवसाय गरेर घरको जोहो गर्नुका साथै सन्ततिको स्याहारमा सक्रिय चौधरी दम्पतीले समाजमा पनि सङ्घर्ष गरेर सवल भइन्छ भन्ने सन्देश दिएका छन् । रासस