मानौं तपाईँलाई बुटवलबाट काँकडभिट्टा जानुछ। तपाईँ काँकडभिट्टाको गाडी चढ्नुहुन्छ। तर केही मानिस छन् जसलाई पुग्नु काँकडभिट्टा छ तर गाडी महेन्द्रनगरको चढेका छन्। भन्छन्ः काँकडभिट्टा लेखिएको गाडीमा षड्यन्त्र छ, त्यो दाउन्ने कटेर अघि लाग्नै सक्दैन किनकि त्यो बस समथर भुभागका लागि बनेकाले उकालो चढ्न सक्दैन, त्यसमा चढेर काँकड्भिट्टा पुगिन्छ भन्नु भ्रम र धोखाधडी हो, त्यसैले आउनोस्, सबै जना यसमै चढौं। यो विशेष खालको गाडी हो जसरी पनि काँकड्भिट्टा पुगिछाड्छ।
कसरी पुग्छ त यो गाडी पश्चिमतिर गुडेर पूर्वको गन्तव्यमा भनेर मानिसहरु सोध्छन्। जवाफ आउँछः यो चानचुने गाडी होइन। यो सुपरसोनिक गतिमा गुड्न सक्छ, छलाङ लगाउन सक्छ। आखिर पृथ्वी गोलो त छ नि, यहाँबाट पश्चिम फर्केर यात्रा गर्दा महेन्द्रनगर पुगिन्छ भने त्यहाँबाट रोकिंदै नरोकिइ अघि बढ्यो भने पुग्ने काँकडभिट्टा त हो नि। त्यसो गर्दा संसार देख्न पाइन्छ, अनुभव सँगाल्न पाइन्छ।
गलफत्ती सुरू हुन्छ। मानिसहरु विभाजित हुन्छन्। कसैले महेन्द्रनगरको गाडी चढेर काँकडभिट्टा जान चाहनेहरुलाई उट्पट्याङ र मगज खुस्केका भन्छन् भने कसैले काँकड्भिट्टावाला गाडीको चालक झुर भएकाले बरु कम खराब विकल्प मानेर महेन्द्रनगरको गाडीमा चढ्न राजी हुन्छन्। एकै छिनमा गाडी छुट्ने समय हुन्छ र दुई गाडीहरु विपरीत दिशामा लाग्छन्। धेरै मानिस काँकडभिट्टाकै गाडी चढ्छन् तर कति यो गाडीमा चढ्न चाहनेहरुलाई महेन्द्रनगरवाला गाडीका मानिसले जबर्जस्ती लगे भन्ने सुनिन्छ।
घण्टौं बित्यो, पूर्व लागेको गाडी नारायणगढ पुग्यो, पश्चिम लागेको भालुवाङ। वाचा गरिएको हिसाबले पश्चिम लागेको गाडीले यति नै समयमा छलाङ लगाएर महेन्द्रनगर पुग्नेभन्दा पनि दोब्बर दुरी कटिसक्नुपथ्र्यो किनकि यसलाई पूरा पृथ्वी चक्कर लगाएर काँकडभिट्टा पुग्नुछ। तर यो बल्ल पुग्यो भालुवाङ। अब विवाद शुरु भयो। हामीलाई किन झुक्याएर यता ल्याएको भनेर यात्रुले झगडा गर्न थाले। गाडीले गति बढायो। चालकमाथि ब्रेक हान्न नपाउने नियम लादियो। बदलामा बाटोमा कुनै वस्तु वा प्राणीलाई किल्चे पनि चालक जवाफदेही नहुने व्यवस्था गरियो। गाडी खाल्डाखुल्डीमा जम्प गर्न थाल्यो, इन्जिन तातेर आगो लाग्ला जस्तो भयो।
कोहलपुर पुगेपछि निश्कर्ष निस्क्योः गल्ती भयो, यो पाराले काँकडभिट्टा त के महेन्द्रनगर पनि पुगिंदैन। गाडी त जल्छ जल्छ, यात्रु पनि जलेर खरानी हुने भए। अब ज्यान बचाउने हो भने फर्कनुको विकल्प छैन। फर्कने त तय भयो तर कुन मुख लिएर फर्कने? पूर्व लागेको गाडीलाई फोन गरियो, गलफत्ती भयो तर मिलेर निकास निकाल्नुको विकल्प थिएन। सहमति भयोः दुवै गाडी बुटवलतिर फर्कने, त्यहीं भेट्ने, भग्नावशेष भइसकेको पश्चिमा गाडीलाई छाडेर बिसेक अवस्थाको पूर्वी गाडी चढ्ने र काँकडभिट्टाको यात्रा जारी राख्ने।
लामो समय लगाएर दुवै गाडी बुटवल फर्के। अहिलेसम्म दुवैतिरको यात्रा व्यर्थ गयो, तेल सकियो, गाडी जीर्ण बने र मानिसहरु थकित भइसके।
गजब त के थियो भने पश्चिमबाट फर्कने गाडी ब्याक गर्दै आइरहेको थियो। त्यसका मानिस अझै गल्ती भएको हो भनेर अरुसमक्ष स्वीकारेर क्षमा याचना गर्न तयार थिएनन्। त्यो गाडीभित्र कोलाहल र झैझगडा भइरहेको थियो। केहीले अझै पनि महेन्द्रनगर भएर काँकडभिट्टा जानु सर्वोत्तम विकल्प हो, बीचबाटै फर्केर अगुवाहरुले गद्दारी गरे भनेर फलाकिरहेका थिए। गाडीबाट झरेर अरु एक किस्ता लफडा गरेपछि अन्ततः केही जना फेरि अर्को गाडी खोजेर महेन्द्रनगर हुँदै यात्रा गर्ने भनेर त्यहीं बसे, धेरै लुरुक्क परेर पूर्वको गाडी चढे र यात्रा फेरि शुरु भयो।
तर जो पश्चिम पुगेर फर्केका थिए, ती अझै पनि सिटमा अघि फर्केर बस्न छाडेर त्यसमा आड लगाएर पछि नै फर्किरहेका थिए। तिनलाई अझै विश्वास छ कि काँकडभिट्टा पुग्न जानुपर्ने त पश्चिम नै हो तर बाध्यताले पूर्वको गाडी चढ्नुपर्यो। त्यसैले यात्रा पूर्वकै भए पनि पश्चिम फर्किरहनु तिनलाई आफ्नो कर्तव्य लाग्छ र त्यही आधारमा बाँकी यात्रुभन्दा आफूलाई तिनले श्रेष्ठ देख्छन्।
नारायणगढ पुग्दा नपुग्दै तिनलाई बुटवलमा छाडिएका र त्यसपछि यो गाडी गन्तव्यमा पुग्ने कुरामा शंका लागेर बाटबाटै झरेका साथीहरुको न्यास्रो लाग्छ। तिनले देखे पहिल्यैदेखि पूर्वको गाडीमा बसेका मानिसहरु मस्तपूर्वक सिटमा बसेका छन् भने पछि फर्केर उभिंदाउभिंदै आफ्नो ढाड दुखिसक्यो र ज्यान कुप्रिइसक्यो। हेर्दाहेर्दै पछि फर्केर उभिएका धेरै जना अब अघि फर्केर सिटमा बसिसकेका छन्।
आफू पनि बसौं भने अहिलेसम्म गलत काम गर्यो भनेर स्वीकानुपर्ने भएका कारण बस्न पनि नमिलेपछि एकाध पछि फर्केकाले अचानक निर्णय गरे, हामी पश्चिम फर्केका, फर्कन चाहने र पूर्वतिर परिस्थितिवश जानुपरेकोमा ग्लानि भइरहेकाहरु किन यसरी छिरल्लिएर बस्ने? अब एकै ठाउँमा किन नउभिने।
अन्ततः एउटा सानो गाडी पठाइयो, बुटवलमा र बाटोभरि छरिएका पश्चिम फर्केका साथीहरुलाई बटुल्न। त्यो गाडीमा सबै अघि फर्केर बसे, बुटवलबाट रिभर्स गियरमा राखेर ब्रेकलाइटको भरमा गाडी गुड्यो। यता काँकडभिट्टा गइरहेको ठूलो गाडीको गति धीमा पारियो र बीचमा कतै पुगेपछि उल्टो गुडिरहेको सानो गाडीले उसलाई भेट्यो। पूर्वतिर जान बाध्य भए पनि अझै पश्चिम फर्किरहेका सबै खाले मानिसहरु अँगालो हालेर ग्वाँग्वाँ रोए र मौका मिल्नासाथ यो काँकडभिट्टाको धोकेवाज गाडी छाडेर फेरि महेन्द्रनगर हुँदै काँकडभिट्टा पुग्ने वाचा गर्दै नयाँ पार्टीको घोषणा गरे।
नयाँ पार्टीको नाम नेकपा माओवादी केन्द्र राखियो। यो पार्टी अब कुन गतिमा अघि बढ्ला त्यो भविष्यले नै देखाउला तर एउटा कुरा निश्चित छः अझै पनि त्यसको आधार भनेको बुटवलबाट काँकडभिट्टा जान महेन्द्रनगर हुँदै जानुपर्छ भन्ने नै छ। र त्यो एउटै अन्तर्विरोधको व्यवस्थापनमा उसको ऊर्जाको अधिक अंश खर्च हुने हुँदा उसको भविष्य उज्ज्वलचाहिं देखिंदैन।
पार्टी एकतासँगै नेपालमा ‘माओवादीको विजय यात्रा शुरु भएको’ उद्घोष गरेछन् कमरेड प्रचण्डले। तर त्यो विजयको अर्थ के हो? सत्तामा पुग्नु? आफू धनी हुनु? पार्टीका अन्य नेताहरुलाई धनी बनाउनु? राज्यका अंगहरुमा अरु पार्टीका जस्तै आफ्ना कार्यकर्ता पनि घुसाउनु? विजयको अर्थ त्योभन्दा फराकिलो हुने हो भने त्यसको परिभाषा के हुने अनि आधार के हुने?
यी प्रश्नको उत्तर प्रचण्डसँग छैन। किनकि प्रचण्डको यात्रा अहिले पनि काँकडभिट्टाको छ तर उनका आँखा महेन्द्रनगरतिरै छन्। हिजो पृथ्वी परिक्रमा गर्ने बौलट्ठीपनका कारण बसले किचेर मृत्यू भएका र अंगभंग भएकाहरुले अहिले उनलाई न्याय र मुक्तिदाता नभएर पहिलेको घाउमा फेरि राजनीतिक लाभका लागि नुनचुक छरिदिने कृतघ्न पीडकका रुपमा हेरिरहेका छन्। ज्यान गुमाएका दशौं हजार मात्र हैन संसार परिक्रमा गर्ने रुमानी सपनाका लागि जवानी र जीवनकै सबैभन्दा उर्वर समय खर्चेर अन्ततः थोत्रो लुगाझैं मिल्काइएका हजारौं जना अहिले उनीतिर धारेहात लगाइरहेका छन्।
प्रचण्ड र उनको एकीकृत पार्टीका लागि अगाडिको कुनै पनि बाटो सजिलो छैन। तर अगाडिको यथार्थ हेरेर प्रश्नहरुको जवाफ दिनको दुखले पछि फर्केर कमरेडहरुले एउटा सन्देश दिएका छन्ः उनीहरु लर्निङप्रुफ छन्, अर्थात इतिहासबाट कुनै कुरा वस्तुगत रुपमा सिक्ने सामथ्र्य उनीहरुले गुमाइसकेका छन्।
माओको सांस्कृतिक क्रान्तिकालीन ज्यादती अमानवीय र विनाशकारी थियो भनेर चीनको कम्युनिष्ट पार्टीले समेत स्वीकारिसक्दा यी कमरेडहरु सांस्कृतिक क्रान्तिकालको जनघाती ‘उटोपिया’लाई गुरु थापेर अहिले पनि मानिसलाई उल्लु बनाइरहेका छन्। सोभियत संघमा स्टालीनकालीन नरसंहार कति विनाशकारी थियो भनेर त उनीपछि आएका निकिता खुश्चेभले उहिले नै भन्ने आँट गरेका थिए।
स्टालिनलाई आदर्श र खुश्चेभलाई संशोधनवादी गद्दार भन्ने हाम्रा कमरेडहरुमध्ये अहिले पनि वैद्यले प्रचण्डको एकतालाई दक्षिणपन्थी नवसंशोधनवाद भनेछन्। अब पूर्वतिर गुडिरहेको गाडीमा अघितिर पिठ्यूँ फर्काएर उभिंदै यात्रा गर्नेहरुको भीडले वैद्य र अर्का खुंखार क्रान्तिकारी विप्लबलाई छाडेको छ र उनीहरु बाटोको अनकण्टार खण्डमा अलपत्र परेका छन्। तिनले कुन दिन आफ्नो अस्तित्वको औचित्य पुष्टि गर्न गाडीमा ढुंगा हानेर मानिसहरुलाई रक्ताम्य बनाउने हुन्, त्यो हेर्न बाँकी नै छ।
लेखक South Asia and Beyond नामक ब्लगमा नियमित लेख्छन्।