सुकेर भुइँ झरेको सल्लाको पात – सल्लीपिर। जसै यो शब्द सुनेँ, चसक्क बिझायो औंला। तर होइन। मन बिझायो।
औंला त हिजो बिझाएको थियो। अर्थात् त्यो विगत थियो। औंला बिझाएको विगत मेरो मस्तिष्कको कुनै भित्तामा टाँस्सिएको रहेछ। त्यसैले आज वर्षाैंअघि औलामा सल्लीपिरको सुकेको खैरो काँडा पसेजस्तै चसक्क गर्याे भित्र।
यतिञ्जेल आफ्नै जीवन छाम्ने समय पाइनछु। खै केको चटारोले हो ? केको हतारोले हो ?
जेहोस्, मेसो मिल्योे यसपाली।
नेपाली साहित्यको आरनबाट भर्खरै नयनराज पाण्डेको ‘सल्लीपिर’ निकालिएको छ। बजार यसै गर्माउने नै भयो। सल्लीपिरको बजार आगमन मेरा लागि शुभ साइत बन्यो।
अनि म यात्रामा निस्किएको छु। वर्तमानदेखि विगतसम्मको यात्रा।
सल्लीपिर शब्दको हिज्जे र अर्थको वास्ता नै नगरी जिइएका सल्लीपिर जीवनमध्येको एक जीवन हुँ। भनौं जीवनको अर्थको वास्ता नगरी जिइएका जीवनको प्रतिनिधि हुँ। सायद यो जिउनुको चटारो हो। त्यसको अर्थ कसले खोजी बसोस् ?
***
‘छोरीमान्छे छैनन् गाउँमा कसले खेपोस् सलबीर ?’
‘हिजोआज पनि सलबीर ओसार्छन् ?’ भन्ने प्रश्नमा माइजूको जवाफ थियो।
सल्लीपिरलाई हामी सलबीर भन्छौं।
सल्लीपिर सोहोर्ने काम त उहिले पनि त स्वास्नीमान्छेकै थियो नि। सल्लीपिरको कुन्यु सानो भएको घरकी बुहारी अल्छी मानिन्थी। नभए रोगी त पक्का हो।
अहिले पो घरगाउँका चेलीहरु पढ्ने वा रोजगारीको नाममा शहर पसेका छन् त, पहिले त्यस्तो थिएन। ती दिनहरुमा झण्डै भालेको डाकसँगै आखे (हजुरबा) उठ्थे। बिस्तरामै पलेँटी कसेर बिहानको म्हाने जप्थे – ‘ओम म्हाणी पेमे हुँ। ओम म्हाणी पेमे हुँ। ओम म्हाणी पेमे हुँ।’
मन्त्रभन्दा छिटो हातमा मालाका गेडा गन्थे आखे। बोधि आसनमा बसेका आखेका आँखा चिम्म हुन्थे। लामा गाउँभरिकै लामा आखेहरु त्यसै गरी आआफ्ना बिस्तरामा म्हाने जपिरहन्थे। अहिले नि जप्छन्।
म्हाने जप्दै आखेका ओठ चलायमान हुनुभन्दा पहिले नै। आखेका बुढी औंलाले मालाका गेडाहरु घिसार्नुअघि नै माम (हजुरआमा) तयार हुुन्थिन् डोको, नाम्लो, दाम्लो र हँसिया लिएर। आङी (माइजु) पनि तयार हुन्थिन्। अनि म पनि।
वरपरका सबै छोरीमान्छे जति झिसमिसेमा उकालो लाग्थ्यौं।
गाउँभरिका घरका पूजाकोठाहरु लामा आखेहरुको मोलम पाठले गुन्जिरहेकै बेला गाउँभन्दा माथि डाँडा हुँदै भ्वाँसा लेक चढ्ने उकाली बाटाहरुमा माम, आङीहरुको गीत र गथासा गुन्जिन्थ्यो।
कहिलेकाहिँ सोच्थेँ – आखेले जस्तै गरी म्हानेहरु मामचाहिँ किन जप्दिनन् ? माम किन दोमाङ पढ्दैनन् ? सलबीर सोहोर्न सधैं किन माम र आङीहरु मात्र जान्छन्। किन गाउँका आखे र आस्याङहरु जाँदैनन् ?
यी प्रश्न कसैलाई सोधेँ कि सोधिनँ खै? मामहरुले गाएको फापरेको अन्तिम हारीहरुजस्तो सायद बिलाए मेरा ती निर्बाेध प्रश्नहरु।
सल्लीपिर खेप्नेहरुको हुलमा पहिलोचोटि मिसिँदा बाह्र तेह्र वर्षकी हुँदी हुँ। अलि बच्चै हुँदासम्म त घरगाउँका हजुरआमा, आङीहरु र दिदीहरुजस्तै सल्लीपिर खेप्न जाने रहरले कुत्कुत्याउँथ्यो। लाग्थ्यो, साह्रै रमाइलो गर्दा हुन् उनीहरु भ्वाँसा लेकमा। मीठा भलाकुसारी गर्दा हुन्। गीत गाउँदा हुन्, नाच्दा हुन्, हाँस्दा हुन्। यस्तै यस्तै।
नाम मात्र सुनेकी थिएँ भ्वाँसा लेकको।
तर जब आफ्नो उमेरले सल्लीपिरेहरुको लस्करमा मिसिने इजाजत प्राप्त गर्याे तब थाहा पाएँ, सल्लीपिर जीवनको यथार्थ।
पहिलोचोटि भ्वाँसा लेक जाने बिहान खुसीले कपास भएथ्यो मन। चढदै जाँदा पहाडको उचाइ जति बढ्दै गयो, उति छातीको उचाइ बढ्दै गयो। खुसी र उत्साहले। त्यति सानो खुसी पनि कति ठूलो थियो त्यो बेला। सानातिना कुरामा हासिल गर्ने खुसी भन्नु त्यहि होला सायद। कुनै मूल्य बिनाको खुसी। त्यो खुसी अमूल्य थियो। अपार थियो। असीम थियो।
भ्वाँसा लेक जाने दिन मनमा केको हो केको बास्ना चलेथ्यो। हुनसक्छ, त्यो पहाडी बतासको बास्ना। अनि त्यो लेकाली माटोको बास्ना। हुनसक्छ, भुइँभरि असरल्ल सल्लीपिरको बास्ना।
मीठो बताससँग खेल्दै जब पहिलो दिन भ्वाँसा लेक पुगियो, तब झन संसार नै अर्कै भएझैं भयो।
म मेरो गाउँ देख्न सक्थेँ त्यहाँबाट !
त्यही दिनदेखि सल्लीपिर खेप्ने रहर झन् जवान भयो। गुँरास फुल्यो छातीभरि। आँखाभरि आकाश खुल्यो। अब भ्वाँसा लेक नआई भएन मलाई।
भ्वाँसा लेकको जंगलबाट सुनकोशी पारी अर्काे पहाडमा झुरुप्प पहाडी गाउँ देखिन्थ्यो। त्यो मेरो गाउँ थियो। मुक्पा। घर त कहाँ चिनिन्थ्यो र ? तर सानो टोलमा मेरी आमा बस्ने घर चिनेझैं गरी टोलाएँ म धेरै बेर। सुक्सुकाएँ पनि होला।
सुसाएँ केही बेर।
तल बेंसीमा सुनकोशी पनि त त्यस्तरी नै सुसाइरहेको थियो नि। मेरो मनको सुसाइ त्यसको भन्दा धेरै ठूलो थियो; गहिरो थियो, मलाई त्यस्तै लाग्छ।
‘सुनकोशी सुसेलेको दुधकोशीले सुन्छ
यो मनले सुसेलेको कसले सुनिदिन्छ?’ अञ्जु पन्तले गाएकी छिन्।
सुनकोशी सुसेलेको दुधकोशीले सुन्थ्यो कि सुन्दैनथ्यो खै ! तर मेरो सुसाइ र सुसेलीहरु त अहँ कसैले सुनेन, आफैंभित्रको आफूलेबाहेक। अनि भ्वाँसा लेकका एउटा सल्लाको बोटमुनि बसेर काभ्रेको मुक्पा डाँडा र रामेछापको भ्वाँसा लेकको बीचमा लामो पूल बनाउन पाए कति जाती हुन्थ्यो भन्ने कल्पना गरिरहेँ घरिघरि। घरि सुनकोशी वारिपारि पहाड भत्काईसम्म बाटो बनाइरहेँ कल्पनामै।
अनि त हँसियाले भुइँमा ट्वाकट्वाक हिर्काउँदै सुनपातीको त्यही फेदबाट तिमालतिर फर्किएर टोलाइयो कति कति। बेथानको दर्जीबाले सिलाएको रातो फुलबुट्टे जामाको बाहुलाले आँखा पुछियो कति कति। अरुले देख्ला भनेर आँशु जतनले लुकाइयो आँखामै कति कति। गलाबाट छुट्न खोजेका हिक्काहरु दबाइयो गलामै कति कति।
देशमा द्वन्द्व सुरु भएपछि परिवार एकै ठाउँ बसेको अनुभव नै छैन। मलाई मामाघर पुर्याइएको रहेछ सानैमा। पढाइलेखाइ सिकाइ त्यतै हुँदै गयो। आमाको काखमा साना दुई भाइ थिए। वर्षमा एक पटक आमा मामाघर आउँदा भेट हुन्थ्यो। नत्र धेरैजसो साँझ बिछ्यौनामा पल्टिएर हेर्थे, चलचित्र। मनको भित्तामा पर्दा हालेर।
पर्दामा बिस्तारै मेरो गाउँ प्रकट हुन्थ्यो। त्यसपछि मेरी आमा बस्ने खरको सानो घर। घरभित्र मेरा दुई भाइहरु पनि देखिन्थे। बाको त अनुहार पनि राम्ररी याद थिएन। जेलमा छन् भन्ने सुनेको मात्र। राजनीतिक बन्दी थिए बा। अनि पर्दामा बिस्तारै टौवामुनि बाँधेको काली भैंसी देख्थेँ। आमाको अगेनादेखि आँगनसम्मको सबै ओहरदोहर देख्थेँ। सबैभन्दा स्पष्ट देख्थे, जिन्दगीभरि निको नभएको मेरी आमाको खुटटाका मुसाहरु।
साँझ मनको पर्दामा हेरिने चलचित्रबाहेक मेरो गाउँ हेर्न भ्वाँसा लेक नै पुग्नुपथ्र्याे।
त्यसकारण सल्लीपिरका खैरो टुप्पाहरुले कोतरिएको घाउ पाखुराभरि बोकेर गइन्थ्यो लेकमा सल्लीपिर ननिख्रिएसम्म। अघिल्लो दिनको चहर्याएको सबै घाउहरु बिर्सिएर फेरि अर्काे दिन जान तम्तयार हुन्थेँ। नाम्लोको रन्कोले निस्केको थाप्लोको ज्वरो बिर्सेर म हरेक बिहान सल्लीपिर खेप्नेहरुको हुलमा मिसिन तयार हुन्थेँ।
साँच्चै, चोटहरु नबिर्सिइने भए त भएभरका मानिस बौलाउनेथिए होलान् नि, हगि ? नयनराज पाण्डेले ‘सल्लीपिर’ मा लेखेझैं – ‘मान्छेले दुःखलाई बिर्सन नसकेको भए यो संसारका हरेक मान्छे बौलाउने थियो होला। हरेक मान्छे आतिएर आफ्नो टाउको समातेर उभिरहेको हुने थियो होला। कोही नि निदाउन सक्ने थिएनन्। संसार अत्यास र कोलाहलले भरिने थियो।’
त्यसै गरी भारी बोकेर झर्दा मुर्झाएका मेरा मन र शरीरका नशाहरु अर्काे विहानको मिर्मिरेसँग फेरि बौराउँथे। त्यसैले त हत्केला र पैतालामा परेको खिलको पर्वाह नगरी गइरहेँ सल्लीपिर खेप्न भ्वाँसा लेक। मेरो गाउँलाई आँखाभरि हेर्ने एक मात्र धोकोको बलमा।
सल्लीपिर खेप्ने चलन पनि उहिलेको कुनै एक किसानले आफ्नो बारीमा धेरै उब्जाउ गर्ने इच्छाको भरमा चलाएको हुनुपर्छ।
वास्तवमा मान्छेका इच्छासामू संसारका सबै बाधा र चुनौतीहरुले घुँडा टेक्दा रहेछन्। मान्छेकै इच्छाहरुको जगमा संसारमा असंख्य ज्ञान र विज्ञानको उत्पत्ति भएको त हो। एक मानिसको इच्छाको परिधिबाट निस्किएको कुनै पनि सही आविष्कार कालान्तरमा असंख्य मानिसको जीवनपद्धति बन्ने त हो।
मलाई पनि एउटै इच्छाले जुरुक्क उचालेर पुर्याउँथ्यो नि भ्वाँसा लेक। अरुका लागि मेरो त्यो इच्छा ठूलो थिएन वा भनौं त्यो इच्छा अस्तित्वमा नै थिएन। सल्लीपिर खेप्ने सबैको मेरो जस्तै कथा र रहर थिएन पनि होला। तर मेरा लागि सबैभन्दा ठूलो इच्छा त्यहि थियो, जो आफ्नै प्रयासले पूरा गर्न सक्थेँ।
लेकबाट फर्कदा डाँडाले छेलेर मुक्पा गाउँ आँखाबाट अस्ताएपछि सानोतिनो भल बग्थ्यो आँखाबाट।
सल्लीपिरको भारी के भारी थियो र ? बोक्नै नसकिने भारी त मन पो थियो।
मेरा लागि सल्लीपिर एक झलक गाउँ हेर्ने बाहाना थियो। तर सल्लीपिर खेप्ने किसानका लागि सल्लीपिर जीवनको अनिवार्य हिस्सा थियो। या भनौं सल्लीपिर मानिसको एक प्रकारको जीवन नै थियो। प्यासले प्याकप्याक्ती सुकेको गला बाटो वरपर फुलेको गुराँसको पत्ती चुसेर भिजाउँदै ओरालो झर्दा पिठ्यँुमा अजंगको भारी हुन्थ्यो, मानांै मान्छेको पिठ्युँमाथि सिङ्गै पहाड बोकिएको छ।
मनमा सपनाको भारी पनि त हुन्थ्यो – सल्लीपिरको मलले बाली सपार्ने सपना। मानौं सल्लीपिर नै किसानको सपना हो। त्यसैले त सल्लीपिरको भारीले थिचेर थाप्लो लाटो परेको वास्ता थिएन किसानलाई। उनीहरुको मन पनि सपनाको भारीले थिचेर लाटो परेथ्यो होला। नत्र त्यत्रो ठूलो लेकभरिको सल्लीपिर झण्डै दुई महिनाको अवधिमा बेसी ओसार्ने आँट कसरी आउँथ्यो त?
जेठ महिनाको आधासम्ममा घर छेऊछाउ बनेको सल्लीपिरको कुन्यूँ उसको सपनाको कुन्यूँ हो। असारपछि जब धुमधाम झरी लाग्छ तब काम आउँछ बल्ल त्यो सल्लीपिरको। अनि फोरिन थाल्छन् ती कुन्यूँहरु।
स्याउला सोत्तर काट्ने आफ्नै प्रशस्त बारी र कान्ला नहुनेहरुको दुःख हो सल्लीपिर। एक दुई कुन्यू सल्लीपिर जम्मा पारेपछि बल्ल अर्काे सालको मकै, फापर, कोदो, लट्टे, जुनेलोको फसल राम्रो भित्रयाउन पाउनेमा ढुक्क हुन्थे किसान। यसकारण सल्लीपिर बटुल्ने नाममा हाम्रा हजुरआमा र माइजुहरुले धेरै मासी गलाए। त्यही मेसोमा केही वर्षहरु मैले पनि खेपेँ सल्लीपिर। आमा र जन्म गाउँको झझल्कोले मेटने नाममा मैले पनि पाइलाहरु उकालेँ भ्वाँसा लेक। अनि सल्लीपिर जीवनका आयामहरु थाहा पाउन पाएँ।
सल्लीपिर खेप्ने ती दिनहरुमा भारीले थिचेर गर्दन कक्रिन्थ्यो र पनि बिसौनीमा चिसो हावामा सुस्ताउनुको सुख थियो। ओरालो झर्दा सल्लीपिरमै चिप्लेर भारीसँगै लडिन्थ्यो र पनि लडेर उठनुको भव्य सिकाइहरु थिए। सल्लीपिरको टुप्पो र चुत्राको काँडाका घोचाइहरु थिए र पनि भोगाइको मिठास त्यहीँ थियो।
फोइम्राङ लेकको ओरालोमा पिडुँला कमाउँदै सल्लीपिरको पहाड ओसारेकी एक किशोरी म। लेकाली ढुङगा छापेर बनाइएको बिसौनीमा सल्लीपिरको भारी बिसाएर जामाको फेरभरि चुत्रा टिपेकी त्यही केटी म। खै आज कता छु कता छु ! यो जीवनले पनि कतिखेर कुन धापमा लगेर हात छोडिदिन्छ, पत्तै हुन्न।
गाउँमा सल्लीपिर थियो घोच्ने। यहाँ शहरमा त कति छन् कति, घोच्ने मान्छेहरू। सल्लपिरमा चिप्लेर लड्न पहिले भ्वाँसा लेक चढियो। अहिले जताततै छन्, अल्झिएर लड्न बाटाभरि भ्वाङहरु।
मूख्य कुरो, सल्लीपिर निहुँ थियो, मेरो गाउँ हेर्ने – जहाँ मेरी आमा बस्थिन्। अब त्यो पनि बाँकी रहेन – नियतिले छिन्यो मबाट आमा पनि।
त्यसो त अरु गाउँलेले पनि सल्लीपिर खेप्न छोडिसकेछन् नि त अचेल।