‘दिदी, अम्बर गुरुङ सर बित्नुभो,’ दार्जिलिङे संगीतकार मणिकमल क्षेत्रीले काठमाडौंबाट फोन गरेर भन्नुभो, ‘सरले योपल्ट रोगलाई जित्न सक्नुभएन।’
उपचारकै सिलसिलामा काठमाडौं पुगेका मणिकमल भाइले ‘दिदी, दुःखको खबर पो छ हौ’ भनेर फोनमा कुरा थाल्दा अम्बर सरकै अवसान पो हो कि भनेर लख काटिसकेकी थिएँ। सिलिगुडीमा छापिएर दार्जिलिङ आइपुग्ने नेपाली भाषाका पत्रिकामा केही दिनदेखि उहाँ सिकिस्त भएर अस्पतालको भेन्टिलेटरमा राखिएको समाचार पढिसकेकी थिएँ।
अझ, नेपाली च्यानलहरूले पनि समाचारमा अम्बर सरलाई अक्सिजनमा राखेर उपचार गराइरहेको समाचार फुकिरहेका थिए। त्यसैले, मणिकमलको फोन उहाँको मृत्यु पुष्टि गर्ने माध्यम मात्र बन्यो। जीवनमा थुप्रैखाले हन्डर ठक्कर जिते पनि सरले योपल्ट मृत्यु जित्न नसक्लान् कि भन्ने संकेत पाइसकेकी थिएँ। त्यसैले, मंगलबार उज्यालो नहुँदै आएको फोनले उति अचम्भित पारेन। बरु, दार्जिलिङमा जन्मे हुर्केर सांगीतिक आकाशमा बिछट्टैको उडान भर्नसक्ने अम्बर सरसँग जोडिएका पुराना स्मृतिले मन भरिएर आयो।
***
हामी दार्जिलिङमा जन्मेका समकालीन थियौं।
म बिस्कुनझैं सामान फिँजाएर बेचिने र मानिसको ठेलमठेल हुने चोकबजारमा सन् १९३८ मा जन्मेकी हुँ। अम्बर सर त्यही साल चोकबजार नजिकैको लालढिकीमा। उत्तरतिर चाँदीजस्तै टलक्क टल्किने कञ्चनजंघा र कुम्भकर्ण हिमाल अनि वरिपरी हरिलोभरिलो चियाबारीले दार्जिलिङको सौन्दर्य बिछट्टको थियो। ‘पहाडकी रानी’ भनिने दार्जिलिङ ब्रिटिस शासनले विकासका आधारभूत कुराबाट भरिपूर्ण हुँदैथ्यो। तर, यहाँ बस्ने लाखौं नेपालीभाषीको मन खुसी थिएन, असन्तुष्टि थियो।
नेपालीभाषीको बाहुल्य हुँदाहुँदै अरू समुदायबाट शासित हुनुपरेको पीडाले हाम्रो मन भारी थियो। खुलेर बोल्नसक्ने, गुनासो पोख्न पाउने र विरोध प्रकट गर्ने बेला थिएन। राजनीतिक रूपमा कठपुतली हुनुपरेको थियो। त्यसबेला गीत–संगीतको अर्थ र महत्व भने उच्च थियो। कला क्षेत्रमा लाग्नेको इज्जत झनै अग्लो हुन्थ्यो। म सेन्ट टेरेसा स्कुलमा आठ कक्षा पढ्दापढ्दै ‘संगीतमा केही गर्छु’ भन्ने हुटहुटी बोकेर कोलकातातिर लागे। पछि थाहा पाएँ, अम्बर सर पनि सुरुआती गीत रेकर्ड गर्न कोलकात्ता नै झर्नुभएको रहेछ।
कोलकाता महाविद्यालयमा तीन वर्ष संगीत सिके पढेर सन् १९६१ मा दार्जिलिङ फर्किएँ। घर फर्केको केही समयमै पश्चिम बंगाल सरकारअन्तर्गतको संस्कृति विभाग मातहतको लोक मनोरञ्जन शाखामा गायिकाका रूपमा जागिर सुरु गरेँ। त्यहाँ त, अम्बर सर पो प्रमुख हुनुहुँदो रहेछ। गोपाल योञ्जन पनि त्यहीँ। कला क्षेत्रमा लागेर म जस्तै ‘केही गर्ने’ चाहना बोकेका इन्द्र थपलिया (जो अम्बर सरका मित हुनुभो) पनि त्यहीँ। नृत्यकार रञ्जित घिसिङ मात्र होइन मनबहादुर गुरुङ र लीला घिसिङ पनि सोही शाखामा जागिरे। उस्तै चाहना, उस्तै ऊर्जा र उस्तै रहर बोकेका हाम्रो टिम नजम्ने कुरै भएन।
गीत, कविता, कथा आदि मार्फत भारतीय शासक वर्गलाई झस्काउने गरी साहित्यमा नाम कमाएका अगमसिं गिरीले लेखेको ‘नौलाख तारा उदाए...’ र ‘ म अम्बर हुँ, तिमी धर्ती...’ भन्ने गीत कोलकातामा रेकर्ड भइसकेका रहेछन्। लोक मनोरञ्जन शाखामा आबद्ध हामी कलाकारको काम दार्जिलिङका विभिन्न चिया कमान र बस्ती चहार्दै नेपालीभाषीलाई जुरुकजुरुक उचाल्ने ती खाले गीत गाउनु, नृत्यका कौशल पस्किनुहुन्थ्यो। सन् १९६१ मा रेकर्ड गरेको ‘नौलाख तारा उदाए...’ सुनाउन हामी नपुगेको ठाउँ सायदै थियो।
क्षमता भएर पनि अवसर नपाएका, राम्रो लेखपढ गरेर पनि जागिर नपाएका र सम्भावना बोकेर पनि पाखा लगाइएका नेपालीभाषी हाम्रो प्रस्तुतिले औधी रमाउँथे। नेपालमा बहुदल आउनुअघि प्रगतिशिल कलाकारले गाउने जनवादी गीतजस्तै थियो, ‘नौलाख तारा...।’ सुन्दा सरल तर अर्थ फराकिलो। त्यसैले पनि आज तकदाह कमानमा गायो, भोलि पुलबजार पुग्यो। एक दिन बिजनबारीमा गायो, अर्को दिन रिम्बिक पुग्यो। मिरिक–सौरेनीदेखि डुवर्स–सिलिगुडीसम्म डल्लै गुञ्जिएको थियो त्यो गीतले।
ब्रिटिस शासनको प्रभावले शिक्षामा कहलिएको थियो दार्जिलिङ। सडक पनि विस्तार भइसकेको थियो। हामी त्यही शिक्षा लिएर अधिकारप्रति सचेत थियौं र ब्रिटिसको विकासले विस्तार भएको सडकमा कहिले गुड्दै त कहिले पैदलै हिँड्दै कमान र बस्ती पुग्थ्यौं। कहिले पेटभरी खान्थ्यौैं, कहिले खाली पेट गाउँथ्यौं। खाउँखाउँ र लाउँलाउँको उमेर भए पनि थिचोमिचोमा परेका नेपालीको शिर उँचो बनाउन प्रेरणा जगाउने त्यस्ता गीत सुनाउँदै नृत्यमार्फत मनोरञ्जन दिन पाउँदा भोक बिर्सिइन्थ्यो, आफसे–आफ उर्जा मिल्थ्यो।
झन्डै दुई वर्ष त्यसरी दार्जिलिङका पाखाभित्ता डुल्दा अम्बर सरसँग धेरै घनिष्ठ भइयो। स्रोता र दर्शकबाट पाउने माया, सम्मान र थप्पडीले हामीमा जिम्मेवारीबोध हुन्थ्यो। संगीतमा लागेको सुरुआती दिनमै पाएको सफलताले जीवनभर यही क्षेत्रमा लागेर आवाजहीनहरूको आवाज बन्ने प्रेरणा जाग्थ्यो। अम्बर सर संगीत निर्देशकको भूमिकामा रहनुहुन्थ्यो। सांगीतिक प्रस्तुति दिनेक्रममा उहाँ हारमोनियम बजाउनुहुन्थ्यो र गाउनुहुन्थ्यो। हामी उहाँकै निर्देशनमा आ–आफ्नो कला पस्किन्थ्यौं।
अम्बर सर नेतृत्वको त्यस्तो लोभलाग्दो टिमसँग सदैव जोडिएर काम गर्ने चाहना थियो। तर, समय सधैं एकनास नहुँदो रहेछ। आठ कक्षा पढ्दापढ्दै संगीतमा लागेकाले मेरो परिवार मप्रति गुनासिएको थियो। दार्जिलिङ फर्केपछि परिवारको दबाबमा र आफ्नै रहरमा जागिर छोडेर फेरि कक्षा १० मा भर्ना भएँ। ‘नौलाख तारा उदाए...’ ले देशविदेशका नेपालीमाझ ख्याति कमाउन सफल अम्बर सर परिवारसहित कालेम्पोङ सर्नुभो। अरु कलाकार साथीभाइ पनि आ–आफ्नो व्यवहार सम्हाल्ने क्रममा छरपष्ट हुनुभो।
नाम जति कहलिए पनि हात मुख जोड्न काम नगरी नहुँदो रहेछ। संगीतबाट अहिले त टिक्न धौ धौ पर्छ, त्यो बेलाको कुरै नगरौं। त्यसैले अम्बर सर, दार्जिलिङबाट कालेम्पोङ सर्नुभएको थियो। त्यहाँ एउटा स्कुलमा संगीत शिक्षक हुनुहुन्थ्यो। भाषा, कला र साहित्यमा मरिमेट्ने उहाँको संगत त्यस्तै कुरामा रुचि भएका मानिससँग बढी हुन्थ्यो। कम बोल्ने तर अर्थपूर्ण बोल्ने उहाँको आदत थियो। छ वर्षजति कालेम्पोङ नै बसेर स्कुलमा संगीत सिकाउँदै संगीत साधनामा समय खर्चिनुभो। ‘नौलाख तारा उदाए...’ बाट प्रभावित भएर तत्कालीन राजा महेन्द्रले बोलाएपछि उहाँ सन् १९६८ मा नेपाल जानुभो।
उति लामो संगत हुन नपाए पनि अम्बर सरले कम्पोज गरेको संगीतमा मैले ८/१० गीत गाएकी छु। तीमध्ये उहाँकै शब्द/संगीतको ‘सम्हालेर राख, संगालेर राख, फेरि फुल्ने हो कि होइन, जोवनको फूल...’ गीत बढी चर्चित भयो। कमान र बस्ती चहार्दा ‘नौलाख तारा उदाए...’ जस्तै मैले गाएको यो गीत पनि स्रोता र दर्शकको फर्माइसमा पथ्र्यौ। उहाँकै शब्द/संगीतमा, ‘जहिले तिमी आउ...’ र बैरागी काइँलाको शब्द तथा अम्बर सरको संगीतमा ‘मेरो दुःखी मन...’ भन्ने गीत बढी रुचाउँछु।
मैले आफ्नो पढाइ निरन्तरता दिने क्रममा लरेटो कलेज (अहिले सेन्ट फिल्ड) पढेँ। पढाइ सकेपछि सिक्किममा जागिर पाएँ। सिक्किम सरकारअन्तर्गत संस्कृति विभागमा संगीत निर्देशक भएर २२ वर्ष काम गरेँ। सन् २००२ मा रिटायर्ड भएपछि फेरि गृहथलो दार्जिलिङ फर्किएँ। त्यसबीच अम्बर सरसँग आक्कलझुक्कल मात्र भेट भयो। सञ्चार माध्यम र चिनेजानेका मानिसमार्फत एकअर्काको परिवारबारे थोरबहुत थाहा हुन्थ्यो तर जरुरी नपरी फोनमा कुरा हुँदैनथ्यो। उहाँ नेपालको प्रज्ञा प्रतिष्ठानमा लामो समय जागिरे भएको थाहा थियो।
सन् २००६ मा दार्जिलिङमा ‘गोधुली’ भन्ने ठूलो सांगीतिक कार्यक्रम भयो। अम्बर सर त्यसमा काठमाडौंबाट अतिथि भएर आउनुभाथ्यो। त्यहाँ छोटो भेट हुँदा हेराहेर गर्यौं, पुराना दिन सम्झियौं, भलाकुसारी गर्यौं। दार्जिलिङबाट सिक्किम गयौं। उहाँ पनि त्यस्तै भव्य कार्यक्रम भयो। पहिले गीत गाउने क्रममा पुगेका ठाउँ बाटोबाट हेर्दै जाँदा ‘नौलाखे तारा’ को जमाना सम्झियौं। परिवारका सदस्यबारे छलफल गर्यौं। गरिरहेका कामबारे चर्चा गर्दै जीवन भोगाइका उकाली ओरालीबारे थोरैमा धेरै बुझ्यौं।
हामी संगीतमा लागेका तर आपसमै उति बाक्लो भेट हुन नपाएका कलाकारलाई नेपालको ‘नेपालय’ भन्ने संस्थाले ठूलो गुन लगायो। हाम्रो गीत–संगीत मन पराएर ती गीत जोगाउँदै स्रष्टालाई सम्मानपूर्वक अहिलेका स्रोतामाझ पुर्याउने नेपालयको उद्देश्य राम्रो थियो। दार्जिलिङबाटै ८/१० जना कलाकारलाई नेपालयले काठमाडौं बोलायो र मञ्चमा उतार्यो। जसमा मैले पनि तीनपल्ट सहभागी हुने मौका पाएँ। सन् २००६, २००८ र २०१२ मा नेपालयको निम्तो तथा स्पोन्सर पाएर दार्जिलिङबाट काठमाडौं गएँ।
‘पलेँटी’ नाम दिइएको सांगीतिक शृंखलामा संगीत बुझेका स्रोतामाझ गाउन पाउनु गर्वको कुरा थियो। ‘पलेँटी’ शृंखला १० वर्ष पुगेको अवसरमा नेपालयले सन् २०१२ मा गरेको कार्यक्रम भव्य थियो। त्यो शृंखलामा पहिलो प्रस्तुति अम्बर सरको थियो, दोस्रो फत्तेमानको र तेस्रो मेरो। त्यसबेला काठमाडौं रहँदा फेरि अम्बर सरसँग भलाकुसारी गर्ने मौका मिल्यो। उहाँको प्रस्तुति हेर्ने मौका पाएँ, जुन बेला दार्जिलिङका कुना कन्दरा डुलेघुमेको पुरानो क्षण झल्झली आँखामा आयो।
***
अरुणा लामाको स्वर अम्बर सरलाई औधी मन पथ्र्यो। त्यसैले उहाँको संगीतमा अरुणाले थुप्रै गीत गाउनुभो। अम्बर सरलाई दार्जिलिङले जन्मायो, नेपालले बचायो। नेपाल उहाँको कर्मथलो बन्यो। तर, नेपाली नागरिकता लिँदा पनि दार्जिलिङले उहाँलाई कहिल्यै बिरानो ठानेन। आफ्नै भूमिपूत्र मानिरह्यो। दार्जिलिङले जहिल्यै उहाँको नाम लिँदा गर्व गरिरह्यो। सायद नेपाल बस्दा उहाँले पनि दार्जिलिङलाई उसैगरी सम्झिनुहुन्थ्यो होला। उहाँको नाम लिँदा हामी जसरी नतमस्तक हुन्थ्यौं, भावी पुस्ता उहाँको संगीत सुनेर त्यसैगरी नतमस्तक हुनेछ।
स्वभावमा सालिन र भावमा गम्भीर भए जस्तै अम्बर सर संगीतमा सभ्य र भव्य हुनुभो। उहाँका कतिपय सांगीतिक इच्छा अधुरै भए पनि जति गर्नुभो, ती नेपाली सांगीतिक आकाशका अमूल्य निधि हुन्। मलाई लाग्छ, उहाँ बाजा बज्दैमा संगीत नमान्ने र स्वर निकाल्दैमा गाएको नठान्ने व्यक्ति हुनुहुन्थ्यो। जे काम गरिन्छ, त्यसको गहिराइमा पुग्नुपर्ने उहाँको मान्यता थियो। त्यही मान्यताले संगीतमा स्थापित बनायो, नेपालको राष्ट्रिय गानका संगीतकार बनायो, कालजयी गीतले अजर बनायो र अब तिनै गीतले नामजस्तै अमर बनाउनेछ।
(सेतोपाटीका बेनुप भट्टराईले गरेको कुराकानीमा आधारित