सेयर उच्च जोखिमयुक्त वित्तीय औजार हो। उच्चतम जोखिमकै कारण यो क्षेत्रमा लाग्नेहरुले औसत भन्दा बढी कमाउने या गुमाउने गर्छन। सेयर बजारमा सक्रिय लगानीकर्ताहरु लाई धनी वा गरिब हुन समय लाग्दैन।
कम्पनीहरुले जारी गरेको सेयरको किताबी मूल्य र बजार मूल्य फरक हुन्छ। बजार मूल्य सेयर बजारमा हुने कारोबारले तय गर्छ। बजारमा हुने माग र आपूर्तिको परिणाम सेयरको बजारमूल्य परिवर्तनीय हुन्छ। यही परिवर्तनशीलता कारण सेयरमा गरिने लगानी अन्य क्षेत्रको भन्दा जोखिमपूर्ण हुन्छ। त्यसैले सेयर लगानीकर्ताहरु सधै सजग र सुसुचित हुनु पर्छ।
सेयरमा गरिने लगानी भनेको कुनै कम्पनीमा गरिने अप्रत्यक्ष लगानी जस्तै हो। केही निश्चित व्यक्ति वा संस्था प्रवर्द्धक बनेर सुरु गरेको कम्पनीमा सूचना र घोषणाको आधारमा गरिने लगानीलाई सेकेन्ड ह्यान्ड इन्भेस्टमेन्ट भन्नु अनुपयुक्त नहोला। कम्पनीले गर्ने घोषणाहरु, सम्प्रेषण गर्ने सूचनाहरु त्ाथा मिडियामा आउने विश्लेषणहरुले नै सेयर मूल्यलाई प्रभाव पारिरहेको हुन्छ।
केही वर्ष अघि छापा मिडियाको मात्र प्रभाव सेयर बजारमा देखिन्थ्यो। आजभोलि टिभी तथा रेडियोहरुमा समेत यो क्षेत्रले आफ्नो स्थान पाउन थालेको छ। सोसल मिडिया ब्लग तथा अनलाईन पोर्टलहरु त सयांैको संख्यामा छन्। मिडिया कभरेज धेरै हुनु भनेको लगानीकर्ताले सुसुचित हुने अवसर बढी पाउनु हो। तर जसरी हालको दिनहरुमा मिडियाले सेयर बजारलाई कभर गरीरहेको छ त्यो हेर्दा बजारमा जोखिम अझ बढीरहेको अनुभुती हुन्छ। केही निश्चित व्यक्तिले व्यक्तिगत स्वार्थको लागि आफु अनुकुल समाचार तथा सूचना सम्पे्रषण गर्ने प्रवृत्ति बढेको छ।
सूचना प्रविधिको विकाससँगै सेयर बजारलाई केन्द्रित गरी धेरै संख्यामा अनलाइन पोर्टलहरु खुलेका छन। सहज सूचना तथा सुलभताको लागि यीनीहरुको भूमिका भए पनि सम्पे्रषित सूचनाहरुमाथि प्रश्न उठ्न थालेको छ। कम्पनीहरुबाट सूचनाको चुहावट हुनु, सूचनाको स्रोतहरु प्रभावकारी नहुनु तथा सूचना सम्प्रेषणमा समय र सन्दर्भको गलत प्रयोग हुने जस्ता चुनौतीहरु प्ानि थपिएको छ। निश्चित व्यक्ति तथा समूहको स्वार्थमा सूचना तथा समाचारहरु सम्पे्रषण हुने गरेको छ।
केही दिन अघि एक आर्थिक राष्ट्रिय दैनिकमा समाचार आयो ‘लघुवित्त संस्थाहरुले पुँजी वृद्धि दुई गुणा मात्र'। समाचारमा सूचनाको स्रोत राष्ट्र बैंक भनिएको थियो। समाचारले बजारलाई प्रभावित पार्याे। कम्तिमा चार गुणा पुँजी वृद्धि हुने अनुमानमा लगानी गरीरहेका लगानीकर्ताहरु डराए, बजार घट्यो। बजार बन्द भएको केही घण्टामै एउटा अनलाइन पोर्टलमा न्युज आयोः ‘लघुवित्तको पुँजी कम्तिमा चार गुणा बढ्ने'। यसमा पनि स्रोत राष्ट्र बंैक नै थियो। अब लगानीकर्ताले कसलाई विश्वास गर्ने? एउटै स्रोतबाट दुईथरी सूचना कसरी सम्प्रेषित हुन्छ? मौद्रिक नीतिको हवाला दिँदै यस्तै समाचार अर्को पनि आयो, ‘राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाई गर्दै छ'। एक महिना भन्दा पछि आउने मौद्रिक नीतिमा के के आउने भन्ने कसरी भन्न सकिन्छ? आधारहिन र तथ्यहिन समाचारहरु पूर्णत प्रायोजित र व्यक्तिगत हितको लागि सम्प्रेषित हुन् भन्न अत्युक्ति नहोला।
यी तथ्यहरुले बजारमा स्वार्थी तत्व मिडियाको गलत प्रयोगबाट भरपुर फाइदा उठाउन लागीपरेका छन भन्ने देखाउँछ। यसको मारमा पर्ने नयाँ र साना लगानीकर्ताहरु नै हुन।
केही वर्ष पहिले ठूला लगानीकर्ताहरु सेयरको मूल्य र भोलुमलाई आफ्नो नियन्त्रणमा राख्थे। अहिले सेयर बजारको आकार बढेर त्यो असम्भवप्रायः देखिएको छ। त्यसैले उनीहरुले नयाँ औजारको रुपमा मिडियालाई प्रयोग गर्न थालेको देखिन्छ। यो प्रयोग सहज र सफल पनि देखिएको छ। बजारमा अप्रत्यक्ष नियन्त्रण गर्नको लागि मिडिया सरल माध्यम बनेको छ। अझ उनीहरुको यो कदमको बारे कतिपय अवस्थामा मिडिया समेत अनभिज्ञ छन्। त्यसैले सम्पूर्ण मिडिया आफ्नो गरिमा जोगाउन तथा जनउत्तरदायित्वलाई मनन गरी चनाखो रहनुपर्ने देखिन्छ। लाखौ करोडांै पाठकको विश्वास माथि घात हुनु भएन।
सानो होस् या ठूलो लगानी प्रतिफलकै लागि गरिन्छ। आफ्नो लगानीको सुरक्षा आफै गर्नुपर्छ, फलानोले यसो गर्याे भनेर चिच्याउँदै हिड्नुको तुक छैन। लगानीकर्ता सधैं सजग रहनु पर्छ। लगानीको निश्चित मापदण्डहरु बनाएर अध्ययन गरेर, जानेर, बुझेर लगानी गर्नुपर्दछ। बजारको वृद्धिको रफ्तारसँगै धेरै लगानीकर्ताहरु देखासिकीमा बजार प्रवेश गर्छन। सबै क्षेत्रको आफ्नै मापदण्ड, विशेषता र विविधता हुन्छ। आधारभुत कुराहरु नजानी, नबुझी कुनै क्षेत्रमा पनि प्रवेश गर्नु राम्रो होइन। त्यसैले सेयर बजारमा लगानी गर्न चाहनेहरुले पनि आफूलाई तयार गरेर मात्र यसमा लाग्नु राम्रो हुन्छ।
निःसन्देह सेयर बजारमा मिडियाको भूमिका अपरिहार्य छ। मिडियामा सम्पे्रषित हुने सूचनाहरुकै आधारमा सेयर बजार प्रभावित भइरहेको हुन्छ। त्यसैले सम्प्रेषित सूचनाको सत्यता र विश्वसनीयताको आधारमा आफ्नो लगानी रणनीतिहरु तय गर्नु पर्छ। अल्पकालिन र दीर्घकालिन लगानीको योजनाहरु बनाउँदा आफ्नो पुँजी स्रोेत, पुँजीको उपलब्धता र क्षमताको आधारमा रणनीति बनाएर लगानी गरे सेयर बजारबाट उचित प्रतिफल पाउन सकिन्छ।