एसएलसी नतिजा यो वर्ष पहिलोपटक ग्रेडिङ प्रणालीमार्फत सार्वजनिक भयो । कतिपय परीक्षार्थीले नतिजा बुझ्न गाह्रो भएको गुनासो गरेका छन्।
गत वर्षसम्म एसएलसी नतिजा प्रतिशतमा आधारित रहेर प्रकाशित हुन्थ्यो, जुन हेर्न र बुझ्न सहज थियो। यसपालि भने विद्यार्थीले प्राप्त गरेको प्रतिशतका आधारमा ‘ए–प्लस’ देखि ‘ई’ सम्म ग्रेड छुट्याइएको छ।
मार्कसिटमा परीक्षार्थीले प्राप्त गरेको प्रतिशत उल्लेख छैन। उसले पाएको ग्रेड, ग्रेड प्वाइन्ट मात्र उल्लेख छ।
यसले दुईवटा अन्यौल उत्पन्न भएको छः कति ग्रेड पाउँदा कति प्रतिशत हो? र, कुन विषयमा कति ग्रेड पाउँदा कुन विषयमा प्लस–टु पढ्न पाइन्छ।
पहिलो, ग्रेड र प्रतिशतको आधार, जुन यस प्रकार छः
९० प्रतिशत वा त्योभन्दा माथि (३.६ ग्रेड प्वाइन्टदेखि ४.० सम्म)– ए–प्लस
८० प्रतिशतदेखि ९० भन्दा कम (३.२ ग्रेड प्वाइन्टदेखि ३.६ सम्म)– ए
७० प्रतिशतदेखि ८० भन्दा कम (२.८ ग्रेड प्वाइन्टदेखि ३.२ सम्म)– बी–प्लस
६० प्रतिशतदेखि ७० भन्दा कम (२.४ ग्रेड प्वाइन्टदेखि २.८ सम्म)– बी ग्रेड
५० प्रतिशतदेखि ६० भन्दा कम (२.० ग्रेड प्वाइन्टदेखि २.४ सम्म)– सी–प्लस
४० प्रतिशतदेखि ५० भन्दा कम (१.६ ग्रेड प्वाइन्टदेखि २.० सम्म)– सी
३० प्रतिशतदेखि ४० भन्दा कम (१.२ ग्रेड प्वाइन्टदेखि १.६ सम्म)– डी–प्लस
२० प्रतिशतदेखि ३० भन्दा कम (०.८ ग्रेड प्वाइन्टदेखि १.२ सम्म)– डी ग्रेड
२० प्रतिशतभन्दा कम (० ग्रेड प्वाइन्टदेखि ०.८ सम्म)– ई ग्रेड
परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीले प्राप्त गरेको यही प्रतिशतका आधारमा उसको ग्रेड प्वाइन्ट र त्यसकै आधारमा ग्रेड दिने गरेको छ।
त्यसो भए एसएलसीमा पहिलेजस्तो पास–फेल भन्ने नै नभएपछि के जसले पनि जेसुकै विषय पढ्न पाउने हो त? जतिसुकै ग्रेड ल्याए पनि रोजेको कलेजमा भर्ना हुन पाइने हो त?
उच्च माध्यमिक शिक्षा परिषदले कुन ग्रेड ल्याउने विद्यार्थीले के विषय पढ्न पाउने भनी तोकिदिएको छ। यसअनुसार परिषदले विभिन्न १२ विषयमा औसत ग्रेड प्वाइन्ट (जिपिए) तोक्दै कक्षा ११ मा भर्ना हुन कुन विषयका लागि कति ग्रेड र ग्रेड प्वाइन्ट चाहिन्छ भनी सार्वजनिक गरेको छ।
विज्ञान विषय पढ्न कम्तीमा गणित र विज्ञानमा ‘सी–प्लस’, अंग्रेजीमा ‘सी’ र सामाजिक शिक्षा तथा नेपालीमा ‘डी–प्लस’ आवश्यक पर्छ। विज्ञानका लागि चाहिने न्यूनतम ग्रेड प्वाइन्ट २ हो। यसमा भौतिक, रसायन, जीव, गणित, कम्प्युटर साइन्स पर्छन्।
विज्ञानबाहेक अरू जुनसुकै विषय पढ्न १.६ ग्रेड प्वाइन्ट भए पुग्छ। ग्रेड भने विषयअनुसार फरक छ।
जस्तो, अर्थशास्त्र, बिजनेस म्याथ, भूगोल र मनोविज्ञान पढ्न गणितमा सी ग्रेडका साथै अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी–प्लस ग्रेड ल्याउनुपर्छ।
अंग्रेजी विषय पढ्न अंग्रेजीमा सी ग्रेड तथा नेपाली र सामाजिकमा डी–प्लस ल्याउनुुपर्छ। आमसञ्चार तथा पत्रकारिता, होटल म्यानेजमेन्ट र ट्राभल एन्ड टुरिज्म पढ्न अंग्रेजीमा सी ग्रेड तथा नेपाली, गणित र सामाजिकमा डी–प्लस ल्याउनु पर्छ। नेपाली विषय पढ्न चाहनेले नेपालीमा सी ग्रेडका साथै अंग्रेजी र सामाजिकमा डी प्लस ग्रेड हासिल गरेको हुनुपर्छ।
प्राविधिकतर्फका जीव विज्ञान, वनस्पति विज्ञान, इलेक्ट्रोनिक, सिभिल र कम्प्युटर इन्जिनियरिङ पढ्न विज्ञान, गणित र अंग्रेजीमा सी तथा सामाजिक र नेपालीमा डी–प्लस ल्याउनुपर्छ। शिक्षा परिचय, शिक्षणविधि, जनसंख्या शिक्षा, वातावरण शिक्षा पढ्न जनसख्या तथा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षामा 'सी तथा नेपाली, अंग्रेजी र विज्ञानमा डी-प्लस ग्रेड प्राप्त गर्नुपर्छ।
उच्चमाध्यमिक विद्यालयको व्यावसायिक संकायमा पढ्न चाहनेले विज्ञान, अंग्रेजी र गणितमा ‘सी’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ। सिटिइभिटीले भने ‘सी’ ग्रेडसम्म ल्याएका विद्यार्थीलाई भर्ना लिने निर्णय गरेको शिक्षासचिव विश्वप्रकाश पण्डितले बताएका छन्। सिटिइभिटीले अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ ग्रेड ल्याउनुपर्ने निर्णय गरेको हो। यसका साथै उसले ‘डी’ र ‘ई’ ल्याउनेलाई तालिमको अवसर दिने जनाएको छ।