विश्वभरिका फुटबल फ्यानहरु अहिले युरोकप २०१६ मा केन्द्रित छन्। १० जुनमा उद्घाटनबाट सुरु भएको युरोकप १० जुलाई २०१६ सम्म चल्ने छ। २५ जुन २०१६ बाट नकआउट खेल सुरु हुनेछ भने ३० जुनबाट क्वाटरफाइनल र ६ र ७ जुलाई २०१६ मा सेमिफाइनल खेल हुनेछ।
१० जुलाई आइतबार फ्रान्सकोको राजधानी पेरिसको उत्तरी भागमा रहेको सेन्ट डेनिस स्टेडियममा फाइनल खेल हुनेछ। युरोपकै पाँचौ ठूलो स्टेडियममध्ये एक सेन्ट स्टेडियम पनि हो। युरो कपको बाजी कसले मार्छ भन्ने फुटबलका पण्डितहरुको आ-आफ्नै तर्क छन्। त्यस्तै, आम मानिसहरुको पनि आ-आफ्नै रोजाईको देश र खेलाडी छन्। बाजी जसले मारे पनि खेल सुरक्षित रुपमा सम्पन्न हुन्छ कि हुँदैन भन्ने एक प्रकारको त्रास आम मानिसमा गढेको छ। के फ्रान्सले आतंकवादी हमलालाई रोक्दै युरो कप शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सक्छ त? धेरैको प्रश्न छ। युरो कपमा कुनै अप्रिय घटना घटे फ्रान्सको मात्र होइन पूरै युरोपको सुरक्षा संयन्त्र र सुरक्षा क्षमतामाथि ठूलो प्रश्नवाचक चिन्ह लाग्ने छ।
यता युरोपमा बस्ने कि नबस्ने भनेर जनमत गरिरहेको बेलायत भने शोकमा डुबेको छ। आफ्ना मतदातासँग भेटन गएका बेला लेबर पार्टीकी सांसद जो कक्सको १६ जुन बुधबार हत्या भएको थियो। प्रहरीले हत्याको मुख्य कारण बाहिर ल्याएको छैन।
सुरक्षाखतरा
बसेल्स प्रहरीले सम्भावित आतंकवादी हमलाको योजना हुनसक्ने शंकामा १८ जुन शनिबार एक दर्जन मानिसलाई पक्राउ गरेको छ। आयरल्याण्ड र बेल्जियमबीचको खेल भइरहेको बेला आक्रमण गर्न सक्ने शंका गरिएको छ।
१५ जुन, बुधबार बेल्जियमको एक पत्रिका डेक्कन हेराल्डले बेल्जियम प्रहरीको एन्टी टेरर सेललाई उद्दृत गर्दै एउटा समाचार प्रकाशित गर्यो। उक्त स्रोत अनुसार सिरियाबाट आतंकवादीहरुको दुई वटा समूह पासपोर्ट नबोकी डुंगा चढेर टर्की र ग्रीसको बाटो हुँदै युरोप प्रवेश गर्दैछन्। उनीहरुले बेल्जियमको सपिङ महल, रेस्टुरेन्ट र फ्रान्सलाई निशाना बनाउन सक्ने उल्लेख गरेको छ। डेक्कन हेराल्डको उक्त समाचारलाई फ्रेन्च काउन्टर पार्टले आधिकारीक रुपमा पुष्टि नगरे पनि यो समाचारले युरोपमा फेरि त्रास फैलाएको छ।
युरो कप सुरु हुनुभन्दा ठीक दुई दिन अगाडि ८ जुनमा युक्रेनका सुरक्षाकर्मीहरुले एक फ्रान्सेली नागरिकलाई सम्भावित आक्रमण गर्न सकिने म्यापिङ दस्तावेजसहित गिरफ्तार गरे। त्यसबाट झनै प्रष्ट भो कि कुनै बेला पनि अप्रिय घटना घट्न सक्छ।
फ्रान्समा खासगरी जिहादी, आईएसआई र अलकायदाले आतंकित पारेको छ। त्यसमा पनि सिरिया युद्धपश्चात त झनै आतंकवादीको गतिविधि तीव्र बढेको छ। इराकी र सिरिया बेस भएका समूहहरु सक्रिय रुपमा घटना घटाउन लागिपरेको कुरा युरोपियन छापाहरुले छापिरहेका छन्। यता फ्रान्स सरकार जस्तोसुकै मूल्य चुकाएर भए पनि आतंकवादी समूहलाई सखाप पार्ने योजना मा छ। फ्रान्सको उक्त योजनालाई पूरै युरोप र अमेरिकाको बलियो साथ रहँदै आएको छ।
२०१५ मा फ्रान्समा आतंककारी हमला भए, जहाँ १३३ जनाभन्दा धेरैले ज्यान गुमाए। आतंककारीहरुले फ्रान्सलाई २०१५ को सुरुआतबाट नै निशानामा पारे। २०१५ जनवरीमा नै चार्ली हेब्दोको कार्यालयमा आतंकवादीले हमला गरेको थियो। फ्रान्समात्र होइन, ब्रसेल्स, बेल्जियम पनि आतंकवादको निशानामा पर्यो। ब्रसेल्समा भूमिगत ट्रेन केही समय बन्द भए। हतियारधारी सेना सडकमा उत्रिँदा युरोपका नागरिकहरु धेरै असुरक्षित महसुस गरे। बेलायतका सुरक्षा विज्ञहरुले युरोपको पाँच देश आतंककारीहरुको निशानामा पर्न सक्ने भन्दै सुरक्षा अंगहरुलाई ‘हाई अलर्ट’मा राख्न सुझाव दिएका थिए। बेल्जियम, फ्रान्स, जर्मनी, बेलायत र नेदरल्याण्ड देशलाई ‘हट जोन’मा राखियो। यी ‘हट जोन’बाट आईएसआई र जिहादी ग्रुपका धेरै सदस्यहरुलाई सुरक्षाकर्मीले गिरफ्तार गरे। फ्रान्स र बेल्जियममा त प्रहरीसँग आतंककारीहरुको दोहोरो गोली हानाहान र हताहती नै भयो। बेलायत र अमेरिकाले आफ्ना नागरिकहरुलाई युरो कप हेर्न जाँदा आतंकवादी हमला हुनसक्ने भन्दै सचेत गरायो।
फ्रान्समा हालसम्मकै सबैभन्दा ठूलो सुरक्षा थ्रेट रहेको कुरा बेलायतका एक पूर्व सुरक्षा अधिकारी रिचर्ड वाल्टनले गरेका छन्। रिचर्ड २०१२ को ओलम्पिक चलिरहेको बेला एन्टी टेरोरिजम कमाण्ड (मेट्रो पुलिस)का प्रमुख थिए। २०१२ को ओलम्पिक खेल सफलतापूर्वक सञ्चालन गर्न बेलायतलाई पनि ठूलो सुरक्षा चुनौती थियो। सम्भावित आतंकवादी हमलालाई निस्तेज पार्दै बेलायतले सफलतापूर्वक सुरक्षित रुपमा खेल सम्पन्न गरेको थियो।
सुरक्षायोजना
युरो कप २०१६ को खेल आयोजक राष्ट्र फ्रान्सले खेल अवधिभर कुनै अप्रिय घटना नघटोस भनेर आफ्नो सारा शक्ति सुरक्षामा केन्द्रित गरेको छ। युरोकप सुरक्षित रुपमा सम्पन्न गर्न फ्रान्समाथि ठूलो सुरक्षा चुनौती र चिन्ता छ। युरो कप सुरु हुनुभन्दा केही महिना पहिलेदेखि फ्रान्सका जासुसी संस्था डिजी एसई र डिजीएसआई, एन्टी टेरोरिजम फोर्स र प्रहरीहरुले सयुंक्त रुपमा झन्डै तीसभन्दा धेरै सयुंक्त अभ्यास तालिमहरु गरे। जुन प्रत्यक्ष रुपमा युरो कप २०१६ को लागि सयुंक्त तयारी थियो। उक्त तालिमको कर्ममा स्टेडियमा, फ्यान जोन, होटलहरुबाट उद्दार, सुरक्षा कारबाही, केमिकल अट्याकहरुमा केन्द्रित राखेर काल्पनिक आक्रमणको सुरक्षा कारबाहीको अभ्यास गरेका थिए।
झन्डै १० मिलियन फुटबलका फ्यानहरु युरो कप २०१६ हेर्न आउन सक्ने फ्रान्सको दाबी छ। फ्रान्सले मुख्यत: पाँच वटा मुख्य कुरामा सुरक्षा संयन्त्र केन्द्रित गरेको देखिन्छ। स्ट्रीट (सडक), टिम बेस (खेलाडी टोली आधार), फ्यान जोन (दर्शक दिर्घा) र ट्रान्सपोर्ट नेटवर्क (यातायात सञ्जाल)लाई आधार मानेर सुरक्षा योजनाहरु तर्जुमा भएका छन्। युरो कप सुरक्षामा एक लाखभन्दा धेरै सुरक्षा कर्मीहरुको उपस्थिति छ। दस हजार प्राइभेट सेक्युरिटी, ४२ हजार प्रहरी, ३४ हजार अर्धसैनिक बल, दस हजार लडाकु सैन्यदस्ता र अन्य जासुसीका अफिसरहरु दैनिक तैनाथ छन्। फ्रान्सले अन्य युरोपियन देशका करिब दुई सयभन्दा धेरै विशेष प्रहरीहरुलाई समेत विमानस्थल र खेल क्षेत्रमा निगरानीको लागि राखेको छ।
युरो कपमा खेलिरहेका २४ टिमलाई सुरक्षा दिनु पनि ठूलो चुनौती छ। खेलाडीहरुको बस्ने होटल र ट्रेनिङ गर्ने ठाउँहरुमा हरेक टिमको सुरक्षामा १७ जना हतियारसहित प्रहरीको विशेष दस्ता र दुई जना स्पेसल फोर्सको अफिसरहरु खटाएका छन्। स्पेशल फोर्सका अफिसरहरु काउन्टर टेरोरिजम र होस्टेज रेस्क्युमा पोख्त छन्। खेलाडीहरुले अभ्यास गर्ने ठाउँमाथि नो फ्लाई जोन घोषणा गरेका छन् भने होटल बाहिर कडा निगरानी राखिएको छ। विशेषगरी इङ्ल्याण्डका खेलाडीको लागि अझ धेरै सुरक्षा सतर्कता अपनाइएको छ।
युरो कपको हेर्ने दर्शक दिर्घा (फ्यान जोन) सुरक्षाको लागि ठूलो संख्यामा हतियारधारी प्रहरी छन्। पब्लिक स्क्यानिङमा विशेष जोड दिएको छ। चार सयभन्दा धेरै प्राइभेट अफिसरहरु सीसीटीभी मोनिटरमा छन्। मेटल डिटेकबाट चेकिङ, विशेष तालिमप्राप्त सुँघ्ने कुकुरहरु मुख्य प्रवेश ढोकामा खटिएका छन् भने सबै क्षेत्र सीसीटीभीले कभर गरिएको छ। फ्रान्सका सशस्त्र प्रहरीहरु ट्रेन स्टेशन, विमानस्थल र सडकमा गुड्ने सार्वजनिक यातायातहरुमा विशेष रुपमा खटेका छन्। उनीहरुले शंका लागे जतिखेर पनि पासपोर्ट चेक गर्ने र नियन्त्रण लिन सक्ने अधिकार लिएका छन्। सरकारले १० सहरको स्टेडियम, फ्यान जोनको लागि आठ मिलियन युरो र सीसीटीभीको लागि १ पोइन्ट ९ मिलियन युरो खर्च गरेको छ। फ्यान जोनको सुरक्षाको सम्पूर्ण खर्छ जम्मा २४ मिलियन युरो विनियोजन गरेका थिए। आईफिल टावर वरपरको क्षेत्रमा हुनसक्ने सम्भावित दुर्घटनालाई प्राथमिकतामा रखिएको छ।
हुलदंगारझडप
१६ जुनमा इङ्ल्याण्ड र वेल्सबीचको खेल शान्तिपूर्वक सम्पन्न भएको छ तर ११ जुनको बेलुका इङ्ल्याण्ड र रुसबीचको खेल भएको दिन ठूलो झडप भयो। मार्सेमा सहरमा भएको उक्त घटनामा बेलायती र रुसी समर्थकबीच आरोप-प्रत्यारोप चलिरहेको छ। इङ्ल्याण्ड र रुसबीच मात्र होइन, जर्मन र युक्रेनको समर्थकहरुबीच पनि झडप भयो। युरोपेली फुटबलको प्रशासकीय निकाय युईएफएले छानविन अनुसन्धान अगाडि बढाइरहेको छ। रुसलाई १ लाख ५० हजार युरो जरिवाना गर्दै थप घटना घटे खेलबाट निस्कनुपर्ने चेतावनी पनि दिएको छ।
बेलायती प्रहरीहरुले झडप हुनुमा स्थानीय फ्रेन्च गिरोहको हात रहेको आरोप लगाएका छन्। उक्त घटनासँगै फ्रान्सको युरो कप सुरक्षामाथि प्रश्न उठेको छ। आलोचकहरुका अनुसार समग्र फ्रेन्च सुरक्षामाथि नै शंका गर्न थालेका छन्। यता बेलायतको गृह मन्त्रालयले फ्रान्समा थप बेलायती प्रहरीहरु पठाउन फ्रेन्च काउन्टर पार्टसँग कुरा गरिसकेको बाहिर आयो। प्रष्ट छ, फ्रान्सले दाबी गरेको जति सुरक्षा मजबुत देखिएन। खेल सुरु हुनु पहिले पनि समर्थकहरुबीच झगडा भएपछि प्रहरीले बलियो सुरक्षा दिन नसक्दा खेलपश्चात् पुन: झगडा भएको देखियो। प्रहरीलाई स्थिति नियन्त्रण लिन हम्मेहम्मे परेको थियो। बेलायतबाट मात्र पाँच लाखभन्दा धेरै मानिसहरु युरो कप हेर्न जाने अपेक्षा राखिएको छ।
इङ्ल्याण्ड र रुसबीच मात्र होइन, अन्य सहरहरुमा पनि केही फ्यानहरुबीचका घटना घट्न थालेका छन्। युरोपका धेरै देशमा माफिया ग्रुपहरु सक्रिय छन्। त्यसमा पनि फ्रान्सभित्र पनि फ्रेन्च ब्ल्याक, कोर्सिकन माफिया धेरै खतरा छन्। रुस त् झन् माफिया ग्याङ र हुलदंगा गर्ने समूहबाट विश्वभर आलोचित छन्। फ्रान्सेली सुरक्षाकर्मीहरुले बेलैमा सजकता नअपनाउने हो भने आगामी दिनमा थप हुलदंगा र झडप हुनसक्ने छ।