ब्युरो प्रमुख डीअाईजी सिलवाल।
तस्बिर : भरतबन्धु थापा/सेतोपाटी
राजधानी तथा जिल्लाबाट ३६ जना डाक्टर पक्राउ पर्दा छ जना महिला पनि थिए। राजधानीबाट पक्राउ परेका १३ मध्ये महिला पाँच जना महिला थिए। चितवनमा पक्राउ परेका तीनमध्ये एक जना महिला थिइन्।
शुक्रबार र शनिबार दुई दिनमा पक्राउ गरेका सबैलाई नक्कली शैक्षिक प्रमाणपत्र लिएर डाक्टर बनेको अभियोगमा पाँच दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आइतबार अनुमति दिएको छ।
ब्युरोका अनुसार कतिपय सक्कली डाक्टर पुरूषका श्रीमतीले नक्कली सर्टिफिकेट लिएको भेटियो भने सक्कली डाक्टर श्रीमतीका पति नक्क्ली प्रमाणपत्रधारी भेटिए। वैवाहिक जीवनमा बाँधिएर छोराछोरी पनि भइसकेका तथा एउटै पेशामा रहेका पति–पत्नीको शैक्षिक योग्यताको त्यो पोल भने वर्षौंपछि खुल्दा श्रीमान-श्रीमतीबीचको विश्वासमाथि संकट उत्पन्न गराएको छ।
‘यस्तो थाहा भएको भए बिहे नै गर्दिनँथेँ,’ श्रीमान नक्कली फेला परेको थाहा पाएपछि ब्युरो आइपुगेकी एक जना सक्कली डाक्टर श्रीमतीलाई उद्धृत गर्दै ब्युरोका एक अधिकारीले भने। उता नक्कली प्रमाणपत्रधारी श्रीमती पक्राउ परेपछि पुगेका सक्कली डाक्टर श्रीमानले पनि यो बिलौना गरे।
आफू डाक्टर भनेर छलेर बिहे गरेकाहरूको रहस्य वर्षौंपछि यसरी खुल्दा पारिवारीक जीवन र सम्बन्धमा एकले अर्कोप्रति गरेको विश्वास टुटेको छ।
‘यो घटनाले पारिवारीक जीवन र पति-पत्नीबीचको सम्बन्धमा समेत असर पारेको छ,’ ब्युरोका ती अधिकारीले भने, ‘आफन्तमै पनि विश्वास घटेको छ।’
ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालका अनुसार जसरी पनि डाक्टर बन्ने मनोकांक्षा बोक्दा अहिले धमाधम ‘डाक्टर’ पक्राउ परिरहेका छन्। यसको लहरो निकै लामो रहेको सुइँको प्रहरीले पाएको छ।
पक्राउ परेकाहरूमध्ये अधिकांशको आईएस्सी सर्टिफिकेट नक्कली छ। कतिपयले एमबीबीएस पढ्न आवश्यक अंक नपुगेपछि सर्टिफिकेट खरिद गरेको पत्ता लागेको छ।
‘भारतको बंगाल र युपीका विभिन्न कलेजबाट नक्कली सर्टिफिकेट ल्याएर एमबीबीएस पढेको भेटियो,’ सिलवालले सेतोपाटीसँग भने, ‘नेपालमै पढेका तर अंक नपुगेपछि सर्टिफिकेट किनेर ल्याएको पनि फेला पर्यो।’
‘क्वाक अप्रेसन’मा नक्कली डाक्टर
ब्युरोका अनुसार नक्कली आईएस्सी सर्टिफिकेट लिएर एमबीबीएस पढिसकेका विद्यार्थी चिकित्सा सेवाको लाइसेन्स लिन नेपाल मेडिकल काउन्सिल पुग्थे। काउन्सिलमा एउटाको नाममा अर्कैले जाँच पनि दिन्थे।
नक्कली प्रमाणपत्र बोकेर चिकित्सा सेवा गरिरहेको यो रहस्य प्रहरीले काउन्सिलका अधिकारीबाटै थाहा पाएको हो।
‘काउन्सिल एक्लैले यस्तो प्रवृत्ति बाहिर ल्याउन सकिरहेको थिएन, हामी दुबैबीचको सहकार्यले नक्कली डाक्टर समात्न सफल भयौं,’ सिलवालले भने।
‘क्वाक’ अर्थात् नक्कली डाक्टर पक्राउ गर्ने योजना ब्युरोले बनायो र त्यही ‘क्वाक अप्रेसन’ नाममा उसले शंकास्पद व्यक्तिका सर्टिफिकेट काउन्सिलबाट मगाएर छानविन गर्न थाल्यो। जसमा आईएस्सीको सर्टिफिकेट नक्कली फेला पर्यो।
त्यसपछि प्रहरी ‘क्वाक अप्रेसन’को अभियानलाई पूर्णता दिँदै नक्कली डाक्टर पक्राउ गर्नथाल्यो। यसअघि पनि १७ जना नक्कली डाक्टर पक्राउ परिसकेका छन्। उनीहरूमध्ये एक जना पुर्पक्षका लागि कारागारमा छन्, बाँकी धरौटीमा छुटेका छन्।
‘हामीले अनुसन्धान गरी पर्याप्त प्रमाण जुटाएर पक्राउ गरेका छौं,’ सिलवालले भने, ‘पहिले प्रमाण जुटाएर पक्राउ गर्यौं, हाम्रो कामकारबाहीमा चिकित्सक संघले शंका गर्नु बेकार छ।’
पक्राउ परेकाहरूको एमबीबीएस सर्टिफिकेट पनि छानविन भइरहेको सिलवालले बताए। चीन तथा अन्य मुलुकबाट एमबीबीएस उत्तीर्ण भएको सर्टिफिकेट फेला परेकाले यसको अनुसन्धान केही जटिल देखिएको उनी बताउँछन्।
बिरामीको उपचार गर्ने डाक्टर नक्कली भएपछि त्यसले जनस्वास्थ्य तथा चिकित्सा क्षेत्रमा पारिरहेको प्रभावबारे मेडिकल काउन्सिल नै चिन्तित थियो। ‘चिकित्सा क्षेत्रमा यस्तोखाले गलत प्रवृत्ति अन्त्य गर्ने अभियानमा काउन्सिलले हामीलाई ठूलो सहयोग पुर्याएको छ,’ सिलवालले भने।
नेपालमा धेरै नै यस्ता डाक्टर रहेको ब्युरोले दाबी गरेको छ। ‘अभियान सुरू भयो, यसमा कति छन् कति,’ सिलवालले भने।
नेपाल चिकित्सक संघले अनुसन्धानमा सहयोग गर्ने बताएको छ। चिकित्सक संघका अध्यक्ष अञ्जनीकुमार झाले पक्राउ गर्ने शैली गलत भएकाले त्यसको बिरोध गरेको बताए। ‘प्रचारबाजी गर्नुभन्दा लाइसेन्स खारेज गर्ने बाटोतर्फ अगाडि बढेको भए राम्रो हुन्थ्यो भन्ने हाम्रो कुरा हो,’ उनले भने, ‘अनुसन्धानकर्तालाई हामी सहयोग गर्छौं, अब हामी सरकारसँग आफ्नो सर्टिफिकेट प्रमाणीकरण गरिदिन माग गर्छौं।’
मुलुकी ऐन ठगी अनुसार पक्राउ परेकाहरूलाई हिरासत लिएर अनुसन्धान थालिएको छ। ठगी अभियोग पुष्टि भए बिघो बराबरको जरिवाना, पाँच हजार रुपैयाँ जरिवाना, पाँच वर्ष जेल वा तीनवटै सजाय हुने कानुनी व्यवस्था छ।
ब्युरोले यसअघि नक्कली प्रमाणपत्रधारी पाइलट समात्ने अभियान चलाएको थियो। उक्त अभियान चलाएपछि नक्कली प्रमाणपत्रधारी कतिपय पाइलट पेशा छोडेर भागेका छन्।