कमजोर भू–बनोट, भूमिगत पानी र अव्यवस्थित तवरले खनिएको सडकको कारण जिल्लामा बर्सेनि बाढी पहिरोको जोखिम बढ्दै गएको छ ।
जिल्लाको अधिकांश गाविसको कुनै न कुनै बस्ती पहिरोको जोखिममा रहेको जिल्ला भूसंरक्षण अधिृकत दिवाकर पौडेलले बताउनुभयो । उहाँका अनुसार यो वर्ष जिल्लाका करिब एक हजार २०० घरधुरी पहिरोको जोखिममा रहेका छन् ।
सबैभन्दा धेरै मुनाको दर गाउँका करिब १३० घरधुरी र ओखरबोटको जुगेपानीका ११० घरधुरी पहिरोको उच्च जोखिममा रहेको जिल्ला भूसंरक्षण कार्यालयले जनाएको छ ।
पहिरो जाँदा गत वर्ष जुगेपानीका एक दर्जन परिवार पूर्णरुपमा विस्थापित भएका थिए । दरमा बस्ती माथिबाट पहिरो खस्न थालेपछि बर्खा कसरी कटाउने भन्ने चिन्ता बढेको स्थानीय बलसिंह बुढाले जानकारी दिए। “एक वर्षदेखि जमिन चिराचिरा पर्न थालेको हो, भिरालो पाखो हुँदै बस्ती माथि आएर पानी एकत्रित हुन्छ” उनले भने, “कतिबेला पूरै भाग खसेर गाउँ नै पुर्ने हो भन्ने डर छ ।”
जिल्ला सदरमुकाम बेनीदेखि एकदिनको पैदलदूरीमा पर्ने यी दुई गाविस पहिरोबाट बर्सेनि प्रभावित हुँदै आएका छन् । जिल्लाको पात्लेखेतको बान्द्रखाल्टी पहिरोबाट करिब ६० घरधुरी, बरङ्जाको खर्सुपानी पहिरोबाट करिब ५० घरधुरी, शिखको तल्लो गाउँमा करिब १३० घरधुरी पहिरोको जोखिममा रहेको भूसंरक्षण अधिकृत पौडेलले बताए।
दानाको घट्टेखोलामा बर्सेनि आउने बाढी पहिरोबाट समेत त्यहाँका बासिन्दा जोखिममा रहेको बताइएको छ । यता पाखापानी, रायखोर पहिरोले पनि त्यहाँको बस्ती जोखिममा छन् । बर्खा लागेर पहिरोको जोखिम बढेसँगै ग्याबिन माग गर्न आउनेको समेत सङ्ख्या बढेको अधिकृत पौडेलले जानकारी दिए।
पहिरो गएको क्षेत्रमा जिविस, भूसंरक्षण कार्यालयलगायत विभिन्न निकायले जोखिम न्यूनीकरणको लागि वृक्षारोपण, भलपानी तर्काउने, ग्याबिन भर्नेलगायतको काम गर्दै आएका छन् । कमजोर भूगोल र पर्याप्त बजेट नहुँदा पहिरो रोकथामको लागि बर्सेनि सञ्चालन हुने साना योजनाले हरेक वर्ष आउने बाढी पहिरोको जोखिमलाई न्यूनीकरण गर्न कठिनाइ भइरहेको छ ।
पहिरोको जोखिममा परेका बस्तीका बासिन्दाले समेत चासो नदिने र भूगोल कमजोर हुँदा पहिरो नियन्त्रण योजना थप चुनौतीपूर्ण बन्दै गएको जिल्ला भूसंरक्षण कार्यालयका अधिकृत पौडेलको भनाइ छ । जिल्लामा भलबाढीको व्यवस्थित निकास नहुनु, कमजोर भू–बनोट र अव्यवस्थित र विनासमुखी विकासको कारण हरेक वर्ष बाढी पहिरोको जोखिम र प्रभाव बढ्दै गएको हो ।
जिल्लामा बाढी पहिरोको जोखिम बढेसँगै जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम न्यूनीकरण, विपद्पछिको उद्धार र राहतको लागि समेत आवश्यक तयारी थालेको छ । जिल्लास्थित सरोकारवालाको समन्वयमा विपद् न्यूनीकरणको लागि सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए। रासस