जावलाखेल चोकमा एपेक्स नेपाल नामक निजी कम्पनीले होर्डिङ बोर्ड राख्न लागेको विषयलाई लिएर जावलाखेलवासी विभाजित भएका छन्।
एकाथरीले महत्वपूर्ण सूचना डिस्प्ले गर्नका लागि होर्डिङ बोर्ड अनिवार्य भएको बताएका छन् भने अर्काथरिले होर्डिङ बोर्डले जावलाखेलको सौन्दर्य नै बिग्रने भन्दै विरोध गरेका छन्। स्थानीयबासी दुई खेमामा विभाजित भएपछि जावलाखेल स्थानीय सरोकार समूहले यस विषयमा शनिबार जावलाखेल चोकमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ।
कार्यक्रममा स्थानीयबासीले दुई खेमामा उभिएर चर्को विवाद गरेका छन्। सबैभन्दा लामो जात्राको रुपमा रहेको मच्छिन्द्रनाथको भोटो देखाउने स्थलमा होर्डिङ बोर्ड राख्न नहुने एकाथरिको भनाइलाई अर्कोथरिले पुरातन सोच र आधुनिकताविरोधी भनेपछि विवाद चर्किएको हो।
एपेक्स नेपाल नामक कम्पनीले ठूलो एलइडी होर्डिङ बोर्ड राख्नका लागि संरचना नै तयार गरिसकेको छ ।