फ्रान्समा जारी युरो २०१६ मा शनिबारदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन्।
पहिलोपटक २४ टोलीले सहभागीता जनाएको युरोमा समूह चरण पार गर्दै १६ टोलीले प्रिक्वाटरफाइनलमा स्थान बनाएका छन्।
२४ टोलीलाई ६ समूहमा विभाजन गरिएको थियो। जसबाट समूह विजेता र उपविजेता बनेका १२ टोली सिधै अन्तिम १६ मा छनोट भए भने समूह चरणमा तेस्रो स्थानमा रहेको ६ मध्ये उत्कृष्ट ४ टोली पनि नकआउट चरणमा स्थान बनाउन सफल भए।
सहभागी टोली २४ भएसँगै अन्तिम १६ अर्थात् प्रिक्वाटरफाइनल चरण पनि पहिलो पटक हुन लागेको हो। आज प्रिक्वाटरफाइनलमा ३ खेल हुनेछन्।
पहिलो खेलमा बेलुका ६:४५ बजे स्विट्जरल्याण्ड र पोल्याण्डबीच हुनेछ। स्विट्जरल्याण्ड समूह ए को उपविजेता तथा पोल्याण्ड समूह सी को उपविजेता बन्दै अन्तिम १६ मा छनोट भएको हो।
दोस्रो प्रिक्वाटरफाइनल राति ९:४५ बजे हुनेछ। जसमा वेल्स र उत्तरी आयरल्याण्ड भिड्दैछन्। ग्रेट ब्रिटेन अन्तर्गतका यी दुवै टोलीले यसै संस्करणमार्फत युरोकपमा डेब्यु गरेका हुन्। वेल्स समूह बी को विजेता तथा उत्तरी आयरल्याण्ड समूह सी को तेस्रो स्थानमा रहँदै अन्तिम १६ का लागि छानिएको हो।
यस्तै आजै राति हुने तेस्रो प्रिक्वाटरफाइनलमा मध्यराति १२:४५ बजे क्रोएसियाले पोर्चुगलको सामाना गर्दैछ। क्रोएसिया समूह डी बाट विजेता बन्दै अन्तिम १६ मा पुगेको हो भने पोर्चुगल समूह एफको तेस्रो स्थानमा रहँदै नकआउट चरण प्रवेश गरेको हो।