लिच्छवीकालिन समयमा निर्माण भएका मन्दीर तथा घाटहरु रहेको स्थान कालमोचन घाट देखि टेकु दोभानलाई आधुनिकीकरण गर्ने महानगरपालिकाको योजना रहेको छ।
राजधानीमा बढ्दै गरेको भीडभाडबाट दिक्क भएका काठमाडौंबासिलाई लक्षित गरि यो स्थान निकै रमणीय समेत बनाउन लागिएको छ।
यस स्थानमा अहिले पनि सार्वजनिक सवारी साधन हिड्न पाउँदैनन्। आगामी दिनमा पनि सवारी साधन हिड्न नपाउने गरि काठमाडौं महानगरपालिकाले एक मोडल तयार पारेको छ।
अहिले यो क्षेत्र स्तरोन्नती गर्ने क्रममा ढुङ्गा छाप्ने काम भइरहेको काठमाडौं महानगरपालिकाद्वारा सञ्चालीत काठमाडौं शहर दिगो शहरी यातायात आयोजनाका प्रोजेक्ट म्यानेजर सुरज शाक्यले जानकारी दिए। भूकम्पका कारण यो क्षेत्रमा घर भत्कीएका कारण काठमाडौ महानगरपालिकाले आफ्नो योजना अनुरुप काम भने अघि बढाउन सकेको छैन।
शाक्यले भने ‘भूकम्पले ढलेका घर पुननिर्माण गर्नका लागि उक्त क्षेत्रमा ढुङ्गा ,गिटी बालुवा ओसार पसारको लागि सवारी साधन चलाउन पर्ने हुन सक्छ त्यसैले हामीले अहिले योजना अनुरुप काम अघि बढाउन सकेका छैनौ।’
भित्री क्षेत्रमा ढुङ्गा छाप्ने काम अवरुद्ध भएपनि थापाथली देखि टेकु दोभान सम्मको बाग्मती किनारमा भने ढुङ्गा छाप्ने काम भइरहेको छ। यसको लागत अहिले ९ करोड रुपैयाँ छ जसमा ३२ प्रतिशत महानगरपालिकाको लगानी रहेको छ भने ६८ प्रतिशत एसियाली बिकास बैंकको सहयोग रहेको छ।