वर्षाका कारण नवलपरासीको दलदले–बुलिङ्टार सडकखण्डअन्तर्गत अर्खलाको ढुङ्ग्रेमा पहिरो गएपछि यातायात अवरुद्ध भएको छ। यातायात अवरुद्ध हुँदा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या परेको छ।
बर्सेनी सडक निर्माणको रकम पुग्ने गरे पनि निर्माण कम्पनीको लापर्बाहीका कारण समयमा सडक बन्न नसक्दा पहाडी भेगका बासिन्दाले वर्षायाममा दुःख पाउने गरेका छन्।
दलदलेबाट अर्खलासम्म सवारी साधन सञ्चालन भएको छ। त्यहाँबाट मान्छेलाई सामान बोकेर बुलिङ लैजाँदा प्रतिकेजी रु सातसम्म खाद्यान्नमा महँगो हुने गरेको व्यापारीले बताएका छन्। बाटो दुःख छ तर पनि अर्खलासम्म राहत दिएका छौँ लेकबेँसी यातायात व्यवसायी समितिका अध्यक्ष युवराज बस्यालले भने–एक दिन हिँड्नुपर्नेमा हामीले आधा घटाउने काम गरेका छौँ।
पन्ध्र वर्षदेखि बुलिङ्टारका बासिन्दाले यही समस्या भोग्नुपरेको छ। वर्षामा बिरामी हुँदा अस्पताल पुग्न पनि गाह्रो भएको स्थानीयवासीले बताएका छन्। रासस