पत्रकारितामा कहिलेकाहिं संयोग पनि कस्तो पर्छ भने, एकै दिन 'दुई संसार' देखिने रिपोर्टिङ आइपर्छन्!
केही हप्ता अघि त्यस्तै भयो। पूर्वमन्त्री रमेशनाथ पाण्डेले उपचारका लागि पाँच लाख सरकारी अनुदान नलिने घोषणा गरे, बरु सो रकम भूकम्प पीडितलाई दिनु भन्दै मिडियामा भने। पाण्डेको सो भनाई विश्वसनीय लागेन किनभने उनले नभनी सरकारले पाण्डे बिरामी भएको थाहा पाउने थिएन। त्यस्तै, उनले नमागी सरकारले पाँच लाख उपचार खर्च दिने थिएन।
मैले प्रधानमन्त्रीको कार्यालयमा बुझ्दा थाहा भयो-पाण्डेले भने जति रकम नपाएपछि अनुदान नलिने भन्दै मिडियाबाजी गरेका रहेछन्। सोही दिन म अर्को पनि रिपोर्टिङ गर्न वीर अस्पताल पुगे-सिन्धुपाल्चोकका राज आचार्यको। उनी वीर अस्पतालमा पैसा नभएकाले फोक्सोको अप्रेसन गर्न नसकेर छट्पटाउँदै थिए। पाण्डेले सरकारी रकम फिर्ता गरेको समाचार लेख्दालेख्दै राजको अवस्था थाहा पाएपछि म वीर अस्पतालमा पुगेकी थिएँ।
आफुले काम गर्ने इटाभट्टाको झ्याउली नै आचार्य, उनकी श्रीमती र भर्खरै जन्मिएकी उनीहरूकी छोरीको घर थियो। बिरामी परेपछि त्यो पनि छोडेर अस्पताल आएका थिए उनीहरु। पाँच महिने छोरी अस्पतालको छिँडीमानै हुर्केकी थिइन्।
भूकम्पले आफ्नो घर र बा आमा गुमाएका राजले काम गरेर आफ्नो दैनिक छाक टार्नै मुस्किल थियो उपचार खर्च जोगाउन सक्ने कुरै भएन। त्यसमाथि महिना दिन अघि छोरी जन्माउँदा श्रीमति उर्मिाको अप्रेसन गर्न परेको थियो। बच्चा जन्माउनु अघि बनेपाको घोडेचौर अस्पतालमा उनले भर्ना गरे। त्यो अस्पतालमा ७ दिन बसेर बच्चा जन्माउँदा ७० हजार लागेको थियो।
राज्यसँग उपचारका लागि सहयोग माग्ने हक आचार्यको पाण्डेभन्दा कम थिएन, तर पहुँच भने आचार्यको फिटिकै थिएन। राज्यले राजहरुलाई आँफै भेट्दैनन्, संविधानमा नै ‘स्वास्थ्य मौलिक अधिकार’ भन्ने लेखेर राज्यले आफ्नो दायित्व पुरा गरिसकेको छ।
वीर अस्पतालबाट फर्केर मैले समाचार लेखेँ। समाचार पढेपछि उनीहरुलाई सहयोग गर्न चाहने मनकारीहरुको लर्को लाग्यो। हामीले धेरैलाई राजको नम्बर दियौँ। युएईबाट बुटवलका मानबहादुर श्रीसले ४० हजार रुपैंया पठाइदिए, अमेरिकाबाट मन्जु थापाले ७५० अमेरिकी डलर (अर्थात् ८० हजार १९ रूपैयाँ) पठाइदिइन्। राजको परिवालाई केही त राहत हुन्छ भनेर मेरो मन हलुका भयो। मनकारी नेपाली सम्झेर मन गदगद भयो।
तर संगसंगै आफैले लेखेको समाचार पढेर पठाएको पैसा पुराइदिन जानु नसुहाउँदो लागिरहेको थियो मलाई। यही बेला मैले सोचिरहे, वीर अस्पतालले नै आफू कहाँ आएका यस्ता विरामीसम्म दाताले दिएको पैसा पठाइदिने व्यवस्था किन गर्दैन?
मलाई अप्ठ्यारो त त्यतिबेला पनि लाग्यो जब मैले राजलाई त्यो पैसा दिएँ, छेउको बेडकी अर्की महिलाले देखिरहेकी थिइन्। उनीसँग पनि उपचारका लागि थप रकम थिएन। राजकी पत्नीले मलाई भनिन,‘त्यो दिदीसंग पनि पैसा छैन त्यसैले हामीलाई आएको केही पैसा दिएको नि।’
हुन त संसारका सबै आपत परेकालाई सबैले सहयोग गर्न सकिँदैन। तर वीर अस्पतालले थोरै मात्रै व्यवस्थापन मिलायो भने धेरैले सहयोग र राहत पाउन सक्छन्। मनकारी धेरै नेपालीले सहयोग गर्न सक्छन्।
वीर अस्पतालमा आउने धेरै जसो विरामी राम्रो आर्थिक अवस्थाका हुँदैनन्। खोज्दै जाने हो भने हरेक विरामीका राजका जस्तै कथा भेटिन्छन्। सरकारले दिने सीमित निशुल्क औषधि र उपचार मात्रै उनीहरुको भागमा पर्छ। धनसंगै महँगो र प्रभावकारी औषधि पनि उनीहरुको नसिबमा लेखिएको हुँदैन।
वीर अस्पतालले एउटा कोष खडा गर्न किन सक्दैन?
उपचार गर्न पैसा नभएका विरामीलाई सहयोग गर्न चाहने धेरै मनकारीहरु देश विदेशमा हुन्छन्। यस्तो सहयोग अस्पतालले नै त्यो कोषमा लिने र नसक्नेको नि:शुल्क उपचार त्यसैबाट गरिदिने व्यवस्था हुने हो भने, धेरै विरामीहरुको उपचार हुने थियो। धेरै राझारुको भलो हुने थियो।
म जान त पाएकी छैन, तर मैले सुनेअनुसार, धुलिखेल अस्पतालमा आएका बिरामीले पैसा नभएर उपचार नपाउने भन्ने हुँदैन रे। अस्पताल आएपछि बिरामी धनी होस् वा गरिव होस् उसले उपचार पाउँछ। धनीले पैसा तिरेर उपचार गराउँछन्, गरिवले जति छ त्यति तिर्छ, केही पनि नहुनेले सित्तैमा उपचार पाउँछ।
आफू कहाँ आएका विरामीसँग पहिले पैसा माग्दैन। उपचार सकिएपछि मात्रै उपचार, अप्रेसन, औषधि लगायतका खर्चको विल दिन्छ। जसले त्यो विल तिर्न सक्दैनन् उनीहरुलाई निशुल्क डिस्चार्ज गरिदिन्छ।
धुलिखेल अस्पतालको दैनिक खर्च बिरामी र मेडिकल पढ्ने बिद्यार्थीले तिरेको शुल्कबाट चल्छ रे, भौतिक संरचना र अस्पतालका लागि चाहिने उपकरण अस्पतालले प्राय: देश विदेशबाट उठाउँछ। वीर पनि ठ्याकै धुलिखेल अस्पताल जस्तै हुनुपर्छ म भन्दिन।
तर, वीर एउटा कुरा पक्का छ-वीर जस्तो देशभरिबाट कमजोर आर्थिक अवस्थाका बिरामी आउने सरकारी अस्पतालमा पैसा तिर्न नसक्ने बिरामीले पनि पुरा उपचार पाउनु पर्छ।
राजको अप्रेसन सुरुमै भएको भए उनले पक्कै पनि चार महिनासम्म अस्पतालको 'बेड' ओगटेर बस्दैनथें। उनको स्वास्थ्य राम्रो हुन्थ्यो। काम गर्न सक्थे आजसम्म। उता अस्पतालको त्यो बेडमा अरु विरामीहरु आउँथे।
आर्थिक अवस्था कमजोर भएका नागरिकको पनि राज्यप्रति भरोसा रहन्थ्यो। टन्न सम्पति र प्रशस्त पहुँच हुने रमेशनाथले मात्र राज्यबाट उपचार खर्च उठाउने तर विपन्न आर्थिक अवस्था भएका र कुनै नेता नचिनेका राज भने उपचार नपाएर थलिने, ज्यानै सम्म जानसक्ने अन्यायपूर्ण अवस्थाको पनि अन्त्य हुन्थ्यो।