त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घाम उतिसाह्रो चर्को थिएन। तर मन भने भतभती पोलिरहेको थियो, सन्तबहादुर अधिकारीको। उनी छटपटाइरहेका थिए। कतिखेर नाडी घडी हेर्थे, कतिखेर मोबाइल। उनको मोबाइल तारन्तार बजिरहेको थियो। प्रत्येकलाई उनले दिएको एउटै जस्तो लाग्ने उत्तर सुन्दा अनुमान गर्न गाह्रो थिएन, फरकफरक ठाउँबाट उनलाई एउटै कुराको सोधनी भइरहेको छ।
प्रश्न त के थियो कुन्नि, थाह पाउने कुरा भएन, उनले दिने साझा उत्तर भने यस्तो थियोे– ‘जहाज नै आएको छैन। कागजपत्र मिलाएर आउँदा चार बज्छ कि त ! सबैलाई खबर गर्दिनु। गाउँका कोही नछुटून्।’
विमानस्थलमा दुईथरी मान्छे थिए। एकथरी थोत्रा, मैला र चिथरा अनुहारसहितका। अर्काथरी सुग्घर, चिल्ला र चिटिक्क परेका। एकथरी सुटकेस लतार्थे, अर्काथरी काँधमा साना, पुटुक्क परेका झोला घरी दायाँ काँधमा, घरी बायाँ काँधमा झुन्ड्याउँथे। विमानस्थलभित्र छिर्ने गेट पनि फरकफरक थियो, मैलाहरुको एउटा र सुकिलाहरुको अर्को। मैलाहरु गेट नं. चारबाट भित्र छिरिरहेका थिए। ती प्रत्येकको अनुहारमा गरिबीको नखुइलिने छाप ठोकिएको थियो भने पासपोर्टमा कतार, दुबई, मलेसिया वा साउदी अरबको भिसा।
सन्तबहादुरलाई भने यी कुनै कुराको ख्याल थिएन। घडीले ठ्याक्कै १२ः३० बजाएपछि उनी छिरे अध्यागमन कार्यालयभित्र। ढोकामा टाँसिएको सूचनामा लेखिएको थियोे– डेलिभरी, कार्गो इन्टरनेसनल। ठूलो भुँडी भएका सरकारी कर्मचारी काठको कुर्सीमा गजधम्म बसेका थिए।
१ ५ असोज २०७१।
भुँडीको चालबाट उनले सास फेरे–नफेरेको सजिलै थाह पाइन्थ्यो। सन्तबहादुरले हातको कागज अघि सारे। ती कर्मचारीले खरखर्ती पढेपछि सोधे– ‘तपाईं को ?’ असल विद्यार्थीले झैं सन्तबहादुरले आफ्नो पूरै परिचय समेटेर उत्तर दिए।
उत्तर सुनेपछि ती कर्मचारीले च्यातीनै आँटेको ठूलो ढड्डा पल्टाए र कागज भिडाउन थाले। उनले सन्तबहादुरलाई पुलुक्क हेर्दै सोधे– ‘सीता अधिकारी को हो त ?’
सन्तबहादुरले विनम्रतापूर्वक जवाफ दिए– ‘उहाँ कागजमा लेखिएको मान्छेको आमा हो, हजुर। बूढी मान्छे, बिरामी भएर आउन सक्नुभएन।’
‘ए, त्यसो पो !’ सरकारी अधिकारीले टाउको र पेट एकैसाथ हल्लाए र भने– ‘फ्लाइट नम्बर एमएच १७० भर्खरै ल्यान्ड गर्यो।’ उनले विमानका कर्मचारीले कागजपत्र ल्याएर बुझाउन अझै आधा घण्टा लाग्छ भन्दै कुर्न ’आदेश‘ दिए।
सन्तबहादुरको मोबाइल बज्न रोकिएको थिएन। बिस्तारै तिनलाई मोबाइलको धुनसँग झर्को लाग्न थाल्दैं थियो। बिहानैदेखि एउटै खालको उत्तर दिँदादिँदै थाकेर हो वा सरकारी कर्मचारीले आधा घण्टा कुर्न लगाएको झोकमा हो, उनी भाउन्निइरहेका थिए।
आधा घण्टा बित्यो। सन्तबहादुर उसैगरी ती सरकारी कर्मचारीको अघि पुगे। फेरि आफ्नो परिचय दिए, कामका बारेमा बताए। यसपाला उनको काम फटाफट भयो। ‘ल, यहाँ सही गर्नुस्,’ सरकारी कर्मचारीले ढड्डा अघि सारे। सन्तबहादुरले कत्ति ढिला नगरी सही धस्काए र कागजपत्र हात पारे।
त्यसपछि उनी लामालामा पाइला सार्दै अन्तर्राष्ट्रिय टर्मिनलतिर लम्के। त्यहाँ आफन्तीको पर्खाइमा बस्नेहरुका दर्जनौं आँखा थिए। कतिखेर प्रियजन भेट्न पाइएला भन्ने खुसीमा तिनीहरु बढ्तै पुलकित देखिन्थे। तर ठीक उल्टो थियो, सन्तबहादुरको मनोदशा। सुटकेस लतार्दै आउने कोही आफन्त लिन उनी विमानस्थल पुगेका थिएनन्, न कसैले विदेशबाट पठाइदिएको कोसेली बुझ्न नै उनी त्यहाँ पुगेका थिए। त्यसैले दायाँबायाँ अलमल नगरी उनी फटाफट विमानस्थलभित्र छिरे। जहाँजहाँ सुरक्षाकर्मीले रोक्थे, त्यहाँत्यहाँ उनी हातमा बोकेको सरकारी कागज देखाउँथे। सुटकेस लतार्दै आइरहेका मान्छे, तिनीहरुको अनुहारको खुसी, तिनको शरीरबाट आइरहेको मगमग बास्ना केही कुराको पनि ख्याल थिएन उनलाई।

विमानबाट उत्रेर आफ्नो लगेज लिन यात्रु जहाँ आइपुग्छन् त्यहीँ नेर थिए, सरकारी कर्मचारी। ती सेवाग्राहीको भीडले छपक्क छोपिएका थिए। त्यही भीड छिचोलेर सन्तबहादुरले आफ्नो हातमा रहेको कागज देखाउँदै भने– ‘लौन के कसो गर्नुपर्ने हो, बताइदिनुस्।’ती कर्मचारीले सन्तलाई एकैछिन कुर्न हातैले इसारा गरे र बडेमानको ढड्डामा कलम दौडाइरहे। एक हूल सेवाग्राही ती कर्मचारीले के लेख्छन् भनेझैं गरेर टाउको झुकाएर एकटकले हेरिरहेका थिए। सोधीखोजी गरेपछि थाह भयो, तिनीहरु रहेछन्, सुर्खेत विद्यापुरबाट आएका।
सन्तबहादुर र ती मान्छेमा केही फरक थिएन। उस्तै थियो तिनको अनुहारको रङ्ग, उदासीले डम्म ढाकिएको। तिनीहरुको फोन पनि बारम्बार बजिरहेको थियो। सन्तबहादुरले जस्तै तिनले दिने उत्तर पनि उस्तै खालको थियो।
सन्तबहादुरले तिनीहरुसँग केही कुरा गरे। तिनीहरुले दिएको उत्तरको अंश यस्तो थियो:
-साउदी अरबबाट आएको।
-३२ वर्ष।
-खै कसरी भन्नु, दशैको दिन। खाना खाँदाखाँदै फ्याट्टै ...। के भो भो !
ती सुर्खेतीको उत्तरमा संशयको भाव पोतिएको थियो। जसरी सन्तबहादुरलाई सबै घटनाक्रमबारे विश्वास भइरहेको थिएन, तिनीहरुसँग पनि उस्तै प्रकारको अविश्वास थियो। ‘त्यस्तो हट्टाकट्टा मान्छे फ्याट्टै थाहै नपाई कसरी मर्न सक्छ ?’ सन्तबहादुरको प्रश्नको चित्तबुझ्दो उत्तर सुर्खेतीसँग थिएन। तिनीहरुले निधार मुजा पारेर भने– ‘खै, कसरी भन्नु !’
एउटा तन्नेरीको जीवनको अन्त्य कसरी भयो भन्ने प्रश्नको उत्तर तीन शब्दमा टुङ्गियो, जुन उत्तरमा संशय, आशङ्का र अविश्वास मिसिएको थियो। जसरी सन्तबहादुरसँग चुपचाप सत्य स्विकार्नुको विकल्प पनि थिएन, तिनीहरु उस्तै अवस्थामा थिए। मान्छेको हूलमा ती सुर्खेतीहरु हराए। एकैछिनमा कागजपत्र रूजू भयो र ती सरकारी कर्मचारीले बडेमानको ढड्डामा के–के लेखे र सन्तलाई भने– ‘लेख्ने काम सकियो। अब मेरो पछिपछि आउनुस्।’ फराकिलो गल्ली हुँदै अघि बढेपछि आयो, अँध्यारो बाटो। त्यसलाई चिरेपछि उज्यालो ठाउँ त आयो तर त्यहाँ उज्यालो थिएन। लस्करै दुईवटा काठका लामा सेता बाकस थिए, प्लास्टिकले मोरिएका।
हामीसँग आएका कर्मचारीले चोरऔंलाले ती बाकसतिर देखाउँदै भने– ‘तपार्इंहरुको सामान कुन हो, बाक्सामा नाम टाँसेको छ, हेरेर लैजानुस्।’ यत्ति भनेर ती कर्मचारी फटाफट आफ्नो बाटो लागे। भावशून्य थियो सन्तको अनुहार। मैले छेउमा रहेका दुईवटा ट्रली तानें। सन्त र मैले सकीनसकी एउटा काठको बाकस ट्रलीमा राख्यौं। अब त्यहाँबाट छिटछिटो बाहिर निस्कनुको विकल्प थिएन। काठको लामो बाकसलाई दुईवटा ट्रलीबीच सन्तुलन मिलाएर राख्नु र त्यसलाई सन्तुलन मिलाएरै गुडाउनु सजिलो थिएन। एउटा ट्रली अघि र अर्को पछि भयो भने बाकस भुइँमा फुत्त झर्न सक्थ्यो। सन्त र मलाई
ट्रलीको गतिमा सन्तुलन मिलाउन हम्मेहम्मे परिरहेको थियो। नपरोस् पनि किन, एउटा प्रयोजनका निम्ति बनाइएको ट्रलीलाई अरु नै प्रयोजनका निम्ति उपयोग गरेपछि ! सुटकेस लतार्ने ट्रलीले त्यतिको ठूलो र गह्रौं बाकस धानोस् पनि कसरी !
कतिखेर सुटकेस हातमा पारांैला र बाहिर निस्कौंला भन्ने हतारोमा थिए, यात्रुहरु। तिनलाई बाटो छाड्नुस् न भन्दाभन्दै सन्त थाकिसकेका थिए। त्यहाँ कुनै अनौठो काम भइरहेको थिएन। मान्छेहरु सामान्य मानेर हामीलाई हेरिरहेका थिए। कसैले कुनै प्रश्न सोधेन, हामीले कसैलाई उत्तर दिनुपरेन। कसैलाई नयाँ र नौलो नलागेको काम सन्तलाई नौलो लागिरहेको थियो। अब सन्तका आफन्त, गाउँले र छिमेकी सबैलाई त्यो काठको बाकस नौलो र नयाँ लाग्नेमा दुईमत थिएन।
सरकारी अधिकारीसँगको कुराकानीबाट मैले थाह पाइसकेको थिएँ, त्यसरी काठको बाकस लतार्ने त्यो दिनको हामी तेस्रो टोली थियौं। चौथो टोली सायद आउनै बाँकी थियो। हामीजस्तै भावशून्य अर्को टोलीको पर्खाइमा रहेको एउटा बाकसलाई हामीले उतै छाडेर आएका थियौैं।
विमानस्थलको आँगनमा थियो, हामीलाई कुरिरहेको नीलो रङ्गको पिकअप भ्यान। त्यो वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निःशुल्क उपलब्ध गराएको गाडी थियो। विद्यार्थी जीवनमा काठमाडौंमा बारम्बार डेरा सर्दा मैले त्यस्तै पिकअप भ्यानको खुबै प्रयोग गरेको थिएँ। यस्तो लाग्यो, जीवनको अन्त्य भनेको पनि त आत्माको डेरा सर्ने प्रक्रिया जस्तै हो। मैले आफैंलाई सम्झाएँ। शव वाहनका रुपमा उपयोग गरिए पनि गाडीमा कहीँ कतै त्यसको सङ्केत र चिह्न थिएन। तर पनि सरकारी निकायले नै शव वाहनका रुपमा पठाएपछि त्यसमाथि प्रश्न उठाउने कुरै थिएन।
चालक टङ्कप्रसाद पाण्डेले भने– ‘ल, छिटो गर्नुस्। त्यति टाढा पुगेर मलाई फर्किनु छ।’
मैले उनको हतारोबाटै बुझिसकेको थिएँ, उनमा अर्को शव पनि यसैगरी कुनै जिल्ला पुर्याउने जिम्मेवारी छ भनेर। बडो बिछट्टको हतारो थियो त्यहाँ, शव बुझाउने हतारो। विमानस्थलको आँगनमा कालो धूवाँ फाल्दै पिकअप भ्यान अगाडि बढ्यो।
चालकसँगैको सिटमा कोचिएर म सन्तसँगै बसेको थिएँ। इन्जिनको तातोले हो। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको शव विमानस्थलदेखि मृतकको घरसम्म (गाडी पुग्ने स्थानसम्म) निःशुल्क पुर्याउने काम वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गर्दछ। विस २०७१ मा विदेशबाट मृत कामदारको शव ल्याउन १ करोड ६४ लाख रूपियाँ खर्च भएको देखिन्छ (महालेखा परीक्षकको कार्यालय- २०७१) महालेखा परीक्षकको बाउन्नौं वार्षिक प्रतिवेदन। काठमाडौं : महालेखा परीक्षकको कार्यालय)।
कि सन्तको ऊहापोहले, गाडीभित्र बढी नै तातो भइरहेको थियो। कलङ्कीबाट पृथ्वी राजमार्गको बाटो समाउँदा मध्यदिन भइसकेको थियो।
त्रिशूली नदीको किनार छोएर अघि बढेको पृथ्वी राजमार्गमा मैले सयौं पटक यात्रा गरिसकेको छु। त्यो दिन पनि बाटो उही थियो, घरहरु उनै थिए, बजार उस्तै थियो। तर पनि सिट सामुन्नेको सिसाबाट म सबै कुरा नयाँ, नौलो र अनौठो देखिरहेको थिएँ। सन्त मोबाइलबाट गाउँका मान्छेलाई निर्देशन दिइरहेका थिए– यसो गर, उसो गर, फलानोलाई खबर गर, फलानोलाई खबर नगर, त्यो अघोरै चिन्ता मान्छ, रोएर उधुम गर्छ... यस्तैयस्तै।
सडकका छेउमा मैले बग्रेल्ती होर्डिङ बोर्डहरु देखें। एउटा होर्डिङ बोर्डमा परदेशबाट छोराले पठाएको पैसा हातमा लिएर उज्यालो अनुहार बनाएका बाआमाको तस्बिर थियो। त्यसमा विदेशबाट सहजै र सरल ढङ्गले कसरी रेमिटेन्स घरमै पाउन सकिन्छ भन्ने आकर्षक नारा सुन्दर अक्षरमा लेखिएको थियो। तर त्यतिबेला ती सबै नारा र ती सबै विज्ञापनका अनुहार मलाई कुरुप लागे।
१ सय ३० किमिभन्दा लामो बाटो छिचोल्नु आफैंमा पट्यारलाग्दो काम हो। त्यसमाथि मृत्युको सग्लो प्रमाण बोकेर यतिका लामो बाटो काट्नु झनै अत्यासलाग्दो। बारम्बारको फोन र अनेकन् प्रश्नहरुको उत्तर दिँदादिँदै सन्त थाकेजस्ता देखिन्थे। उनलाई पट्यार नलागोस् भनेर म अनेकन् कुरा झिकिरहेको थिएँ।