कालिमाटी तरकारी बजारमा अनधिकृत रुपमा बनाइएका टहरा भत्काइएको छ।
कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आइतबार डोजर प्रयोग गरेर अनधिकृत रुपमा बनाइएका ६३ वटा टहरा भत्काएको हो। तरकारी बजारको सडक पेटी तथा खाली ठाउँमा अनुमतिविना टहरा बनाएर व्यापार गरेको भन्दै समितिले टहराहरु भत्काइदिएको हो। समितिले डोजर लगेका कारण व्यापारीहरुले टहराका जस्ता आफैं निकालेका थिए। समितिले बजार सुधार अभियान अन्तर्गत टहरा हटाइएको बताएको छ।
समितिले आइतबार भत्काएका टहरा करिब ५ वर्ष अघि बनाइएका हुन्। व्यापारीहरुले समितिले उपलब्ध गराएका टहरामा शौचालयको गन्धले बस्न नसकेका कारण समितिसँग सहमति लिएरै टहरा बनाइएको दाबी गर्दै टहरा भत्काइएकामा विरोध गरेका छन्।
कालिमाटी तरकारी तथा फलफूल बजारभित्र पसल संचालनका लागि करिब साँढे पाँच सय व्यापारीले अनुमति लिएका छन्। बजारबाट दैनिक ६ सय टन तरकारी तथा फलफूल विक्री हुने गरेको छ। कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बजार सुधार अभियान अन्र्तगत कृषकको नाममा छुट्याइएको स्थान ओगट्ने व्यापारीलाई हटाउने, सरसफाइमा ध्यान दिने तथा सडक पेटीमा सामान राख्न नदिने बताएको छ।