स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडसँग अनुबन्धको मिति बढाउने कुरामा आफू लालायित रहेको बताएका छन्। उनले यस विषयमा निकट भविष्यमा आफू स्पेन फर्किएपछि कुरा गर्ने स्पष्ट पारे। पोर्चुगलका यी अन्तर्राष्ट्रिय स्ट्राइकरको अनुबन्धको मिति जुन २०१८ सम्म छ। तर, उनले म्याड्रिडमा लामो समय बिताउने आफ्नो चाहना उजागर गरिसकेका छन्।
‘फोनबाट मैले अध्यक्ष (फ्लोरेन्टिनो पेरेज) सँग कुरा गरिसकेको छु र म म्याड्रिड फर्किएपछि नयाँ अनुबन्धका लागि हामीहरू बसेर निष्कर्षमा पुग्नेछौं,’ ३१ वर्षीय स्ट्राइकरले स्थानीय पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा भने–‘निश्चय नै मैले चाहे जस्तो हुनेछ।’ यस सिजनको सुरुवात अगाडि रियल म्याड्रिड अगष्ट ९ मा युइएफए सुपर कपमा सेभिलासँग भिड्दै छ।
ट्रोन्डहेममा हुने यो खेल चोटका कारण रोनाल्डोले गुमाउने छन्। युरो कपको फाइनलमा फ्रान्सविरूद्ध घाइते भएका रोनाल्डो हाल पोर्चुगलमा छुट्टी मनाइरहेका छन्। घुँडाको चोटका कारण उनले नर्वेविरूद्ध पोर्चुगलले खेल्ने खेल पनि गुमाउने छन्।