नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा माओवादीको बन्दका कारण झापाको जनजीवन कष्टकर बनेको छ। लगातारको वर्षाले आजित बनेका झापालीले सडकमा यातायातका साधन नचल्दा सोमबार थप सास्ती खेप्नुपर्यो। साउनको दोस्रो सोमबार बोलबम गएर शिवालयमा जलअर्पण गर्ने हिन्दु धर्मालम्बी बन्दका कारण प्रभावित बनेका छन्।
सडकमा बिहानैदेखि सार्वजनिक यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। यातायात नचल्दा राजमार्गले छोएका बजार पूर्णरुपमा प्रभावित छन्। चोक बजारमा भएका पसल खोलिएका छन् तर ग्राहक छैनन्। सर्वसाधरणले सरकारसँग असन्तुष्ट भएका राजनीतिक दल वा समूहले आन्दोलनका नाममा गर्ने बन्द हड्तालको विकल्प खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।
सडकमा निजी यातायातका साधन निर्वाध सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार लामोदुरीबाट पूर्व आउने यातायातका साधनलाई झापा प्रहरीले मावा पुलबाट स्कर्टिङ गरेर गन्तव्यतिर ल्याएको छ।
सर्लाहीका सर्वसाधरणलाई सरकारले डोजर लगाएर उनीहरूको संरचना ध्वस्त पार्नुका साथै लाठी मुङग्री गरेर अमानवीय कार्य गरेको भन्दै सो बिरोधमा नेत्रविक्रम चन्द विप्लप समूहले सोमबार मुलुकभर बन्दको आह्वान गरेको सो पार्टीका एक नेताले बताए।