पाकिस्तानविरूद्ध दोस्रो टेष्टमा घरेलु इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ९१ रनको अग्रता बनाएको छ। इङ्ल्यान्डले फलो–अनका लागि पाकिस्तानलाई पुनः ब्याटिङको निम्तो दिने अवस्था भएपनि कप्तान एलेष्टर कुकले आइतबार राति आफंैले दोस्रो इनिङको सुरुवात गर्ने निर्णय लिए।
तेस्रो दिनको खेल सकिँदा इङ्ल्यान्डले १ विकेटको क्षतिमा थप ९८ रन जोडिसकेको छ। इङ्ल्यान्डले विपक्षी टोलीलाई फलो–अनमा नबाँधी आफैंले ब्याटिङ गरेको यो तेस्रो मौका हो। सन् १९२८ मा अस्ट्रेलियाका महान ब्याट्सम्यान डन ब्रेडम्यानले ब्रिजबन टेष्टमार्फत ‘डेब्यु’ गर्दा इङ्ल्यान्डले ३ सय ९९ रनको अग्रता बनाएको थियो। तर, अस्ट्रेलियालाई फलो–अनको लागि ब्याटिङको निम्तो दिएन।
यस्तै, १९३० मा दक्षिण अफ्रिकाविरूद्ध किङ्स्टनको ऐतिहासिक टाइमलेस टेष्टमा पनि इङ्ल्यान्डले ५ सय ६३ रनको अग्रता बनाएको थियो। यो टेष्टको दोस्रो इनिङमा अफ्रिकाका कप्तान जर्ज हेड्लीले दोहोरो सतक बनाउँदै टेष्टलाई बराबरीमा राखेका थिए। पाकिस्तानविरूद्ध इङ्ल्यान्डको यो दोस्रो ठूलो अग्रता हो।
सन् १९५४ मा ट्रेन्टब्रिज टेष्टमा इङ्ल्यान्डले ४ सय १ रनको अग्रता बनाएका थिए। त्यतिबेला इङ्ल्यान्ड इनिङ र १ सय २३ रनले विजयी भएको थियो। पाकिस्तानको इनिङमा कप्तान मिस्बाह उल हक र वाहव रियाजले नवौं विकेटका लागि सर्वाधिक ६० रनको साझेदारी गरेका थिए। हकले पाकिस्तानी इनिङमा सर्वाधिक ५२ रन बनाए।
पछिल्लो ११ टेष्टमा उनको यो आठौं अर्धसतक हो। उनले लर्ड्सको पहिलो टेष्टमा १ सय १४ रनको सतकीय इनिङ खेलेका थिए।