जिल्लाका सन्दह, अमरदह, आमगाछी, गोविन्दपुर, डाइनिया, कटहरी, सोराभाग लगायत दर्जनौँं गाविसका साथै विराटनगरको बखरी बस्ती समेतका एक हजारभन्दा बढी घरपरिवार विस्थापित अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
विभिन्न नदीका पानी मानव बस्तीमा पसेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली उद्धारमा निरन्तर रुपमा जुटेका छन्। बाढीबाट विस्थापित परिवारलाई रेडक्रस मोरङले खाद्यान्न सामग्री वितरण गरिरहेको छ। एक हजार २०० परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको र थप ७०० परिवारलाई खाद्यान्न सामग्री वितरणको तयारी भइरहेको रेडक्रस मोरङका अधिकृत कमल कोइरालाले जानकारी दिए।
सबैभन्दा बढी क्षति बक्राहा खोलाले गरेको छ। पथरी–डाइनिया सडक मार्गको पूर्वपट्टिको भाग पूर्ण रुपले जलमग्न छ। गोविन्दपुर– ५ र डाइनिया– ५ मा पुग्न नसक्ने अवस्था छ। त्यहाँबाट प्रहरीको संयुक्त टोलीले कतिपय परिवारलाई उद्धार गरेको छ । सयौं मानिसले यतिखेर सडकमै आश्रय लिएका छन्।
बाढीबाट प्रभावित क्षेत्रमा रोपिएका हजारौँ हेक्टरका धानबाली डुबान अवस्थामा रहेको छ । एक सातासम्म डुबान भइरहेमा धानबाली गल्ने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी गराए।
उर्लाबारी (मोरङ)– बक्राहा खोलाले कटान तीव्र पारेपछि मधुमल्ला–४ धप्पर टोलका चार परिवार मंगलबार बिहान विस्थापित भएका छन् ।
स्थानीयवासी शेरबहादुर मगर, सनबहादुर मगर, चेतबहादुर मगर र झगत मगरको घर खोलाले कटान गर्न थालेपछि उनीहरु पूर्ण रुपमा विस्थापित भएको स्थानीयवासी कमल मगरले जानकारी दिए।
त्यस्तै सोही ठाउँका सुन्दर मगर, शिव मगर, दीपक मगर, शुक्र मगर, कालीबहादुर मगर, मनबहादुर मिश्र, गर्जमान मगर, कोपिला खड्का, रमिला राई, तारावीर खड्का र अशोक गोलेको घर पनि डुबानमा परेर कटानको जोखिममा रहेको छ।
लगातारको वर्षाका कारण पीडितलाई सुरक्षित स्थानमा सारेर राहत उपलब्ध गराउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक यदुकुमार खड्काले जानकारी दिए।
स्थानीयवासी आन्दोलित
लगातारको वर्षाका कारण डुबानमा परेपछि विराटनगर– ४ र ५, कञ्चनबारीका बासिन्दा आन्दोलित भएका छन्। सडक अवरुद्ध गरेर आन्दोलनमा स्थानीय बासिन्दा उत्रिएपछि मंगलबार बिहान कोसी राजमार्गअन्तर्गत विराटनगर–इटहरी सडक खण्डमा दुई घन्टा सवारी आवागमन ठप्प भयो। लगातारका वर्षाका कारण विराटनगरका सबै वडा डुबानमा परेका छन्।
भारी वर्षा भई पानीको निकास नभएपछि विराटनगर डुबानमा परेको भन्दै नाला निर्माणको माग गरेर स्थानीय बासिन्दा आन्दोलित बनेका हुन्। हातहातमा कुटो र कोदालो बोकेर स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएपछि समस्या समाधानका लागि प्रजिअ तोयम रायको नेतृत्वमा सरकारी टोली कञ्चनबारी पुगेको थियो।
विराटनगर उपमहानगरपालिकाले स्काभेटर प्रयोग गरेर जाम भएको पानीलाई निकास दिने काम सुरु गरेपछि स्थानीय बासिन्दाले आन्दोलन तत्कालका लागि फिर्ता लिएका छन्। रासस