मनिषाले बाबुआमाको बचन हार्न नसकी फोटो हेर्ने निर्णय गरी। ’फोटो हेर्दैमा के पो बिग्रेला र, फोटो हेरम्ला अनि मन परेन भनिदिम्ला’,उसले सोची। उसलाई थाहा थियो ऊ बिहे गर्नेवाला थिइन र पनि उसलाई बाबुआमाको पनि मन राख्नु थियो। यो मानिसको जीवनको एउटा पाटो थियो, दायित्व र इच्छाबीचको द्वन्द्वको स्थिति र त्यो भागको मन्चन। ’हुन्छ म फोटो हेरेर भेट्ने नभेट्ने निर्णय गरम्ला’,उसको कुरा सुनेर बाबुआमा खुशी भए।
अर्कोदिन साँझ ऊ अफिसबाट फर्केर आफ्नो कोठामा गएर कपडा फेर्दै थिइ आँखा कोठाको पूर्वपट्टी राखिएको टेबलमा रोकिए। टेबलमा एउटा तस्विर पल्टिरहेको थियो जहाँबाट एक युवक उ तिर फर्केर मुस्कुराइरहेको थियो। करिब २८-२९ वर्षको युवकको ओंठमाथि मिलेका जुँगा थिए। चौडा अनुहारमा चिटिक्क परेका दुई ठूल्ठूला आँखाहरु,ठिक्कको नाक, पुक्क परेको मायालु मुख र रसिला ओठहरु र गहुँगोरो अनुहारमाथि सिलित्त पारेर कोरिएको कपाल,युवक कुनै राजकुमारभन्दा कम देखिन्नथ्यो। पूरा कदको तस्विर भएकोले युवकको उचाइ पनि औसतभन्दा अलि बढी देखिन्थ्यो। तर मनिषाको लागि त्यो सब केही थिएन जो एउटा औपचारिकता मात्र पुरा गर्दै थिर्इ।
मनिषाले भविश्यको मार्गचित्र कोरेकी थिर्इ निश्चलसँग। रसायनशास्त्रमा नेपालमा स्नात्तकोत्तर सकेर पिएचडी गर्दै थियो अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट। अबको केही वर्षमा विहे गरेर अमेरिकातिरै सेटल हुने योजना थियो उनीहरुको। मनिषाले साँझमा खाना खाएर कोठामा पस्नासाथ स्काइप लग इन गरिन्। निश्चल आज फ्रि नै थियो।
’हाइ’ निश्चलको मेसेज देखियो।
’हल्लो’ मनिषाको रिप्लाई।
’अनि दिन कसरी बित्यो?’
’बस् उसरी नै तिमीलाई मिस गर्दै’
’मेरो पनि’
’अनि अरु के छ विशेष?’ निश्चलको प्रश्न।
’तिमी बाहेक सबै उस्तै। पुरानै। तिमी हुँदा सबै नयाँ, सधैं नयाँ, तिमी नभए सबै पुरानो र पट्यारलाग्दो’
’अनुभव उस्तै छ। म पो किन फरक हुन्थे र तिमीभन्दा?’
’हैन होला, तिमी त अमेरिकामा छौं, रमाइलो होला, न धुलो न हिलो न त लोडसेडिङ, न त हामीलाई जस्तो फुर्सदनै। मोज होला नि।’
’तिमी मबाट टाढा हुनु अनि मलाई मोज हुनु, यो कसरी हुन सक्छ? जव म तिमीलाई बेहुली बनाम्ला र हामीसँगै अमेरिका उत्रौँला अनि होला त्यो रमाइलो। साँच्चै तिमीबिनाको अमेरिका त मेरो लागि चिसो अन्टार्टिका भन्दा कम छैन।’
’तिमीलाई गफ गर्न पनि खुब आउँछ है। तिमीले त रसायनशास्त्रमा हैन गफशास्त्रमा पो पिएचडी गर्नुपर्ने’
’त्यो पनि सोचौंला नि हा हा हा...’
मनिषा एक नाम चलेको एनजिओको अफिसर लेबलको कर्मचारी। परिवारको इच्छा थियो ऊ अफिसर भएको हेर्ने। अब्बल पढाई अनि सुन्दरताले भरिपूर्ण। एसएलसी पास गरेदेखि नै धेरै गन्यमान्य परिवारबाट आउन थालेको बिहेको प्रस्ताव अझै रोकिएको छैन र उसको अस्वीकृतिको अध्याय पनि निकै लम्बिसकेको छ। थियो कुनै जमाना जतिबेला उसलाई बिहे ठट्टा लाग्थ्यो। हाँसो लाग्थ्यो कसैले बिहेको प्रस्ताव ल्याउँदा। जिस्काएजस्तो लाग्थ्यो, नाटक सोच्थी उ त्यसलाई। तर ऋतु परिवर्तन हुँदा प्रकृतिमा स्वभाविक परिवर्तन भएजस्तै आजकल त्यो कुरामा अलि परिवर्तन भएकी छे र फेरि लगाम लगाएको घोडाजस्तै उसको गन्तब्य निश्चलबाहेक अरु छैन।
’नानी फोटो कस्तो लाग्यो त?’ मनिषाकी आमाले बिहान ब्रेकफास्ट टेबलमा प्रश्न गरिन्।
’फोटो राम्रो छ। राम्रै क्यामेराले खिचेको हुनुपर्छ र फोटोग्राफर पनि गतिलै हुनुपर्छ।’ मनिषाले आमाको मुखतिर हेर्दै नहेरी जवाफ फर्काइ।
’मलाई थाहा थियो छोरी तैले मन पराउने मान्छे त्यस्तै हो भन्ने। उ पनि तेरो जस्तै एनजिओमा नै काम गर्छ रे। अफिसर नै हो रे। फुपुका आफन्त पर्ने रे’ आमा हौसिएको भावमा बोलिन्।
मनिषा खिस्स हाँसी। आमाको भोलापन देखेर उसलाई माया लागेर आयो। उसले सम्झि भोलापन सबै मानिसमा छिपेर बसेको हुन्छ मानिस जतिसुकै परिपक्व नै किन नहोस् र उपयुक्त मौका पाउनसाथ उ फुत्त निस्किहाल्छ।
’मैले फोटो राम्रो भनेको आमा मान्छे हैन। मलाई त्यो नचिनेको मान्छेसँग के मतलब र मलाई उ चिन्नु पनि छैन।’मनिषाको प्रतिक्रियाले आमा अलि अँध्यारो भइन् तर मुहारबाट त्यो लुकाउने प्रयास गरिन्।
’त्यो तेरो इच्छा। तँ जत्ति बुझ्ने मानिसलार्इ हामी केही भन्दैंनौ। हामीले त हामीलाई मन परेर एकपल्ट हेर मात्र भनेका हौँ। बुवाले पनि भेट्नुभको रैछ केटो लायक छ रे’ आमाले कुराको आफ्नो आशय ब्यक्त गरिन्।
’म बुझ्छु आमा तर मैले कसैलाई पहिल्यै वचन दिइसकेकी छु। ऊ पनि कम छैन। म हजुरहरुलाई भेटाउँछु नि।’ त्यो द्वन्द्व थिएन, समझदारी थियो। कसैको एथिक्स थिएन त्यहाँ बल प्रयोग गर्ने। उदारताको राज थियो। एउटा लहरालाई कता जाने जराले नियन्त्रण गर्दैन बरु तागत दिन्छ, न त लहरा कतै लागे पनि फुल्न र बासना छर्न छाड्छ।’त्यहीपनि बिचार गर न,फुपुले बुझेर फोन गर्नु हप्ता दश दिनमा भन्नुभा’छ। हामी तिमीले जे भन्छ्यौ त्यही गरम्ला’। आमा आँगनतिर निस्किन्।
वर्षा भएकोले होला अफिसमा खासै ब्यस्त थिइनन्। नियमित काम सकेर गफ्फिनुबाहेक अफिसमा चार बजाउने अरु उपाय थिएन। चर्काचर्का कुरा हुन्थे अब को मन्त्री बन्ला, को प्रधानमन्त्री बन्ला, देशमा के होला आदि आदि। एकथरी फिल्मका चर्चा गर्थे अनि कोही टिभी सिरियलका। आ-आफ्ना रुची र हैसियतअनुसार कुराको विषय र मात्रा निर्धारण हुन्थे। अझै त्यो दिन कार्यालय प्रमुख बिदामा थिए। ’असार पनि सकिन लागिसक्यो खै यो असारमा त एउटै भोज खान पाइएन’,लेखा शाखाका हाकिम शशिधर मनिषातर्फ ब्यंग कस्दै बोले।
’त्यही त सर, हामीले विहे गरम भने बहुविवाहमा परेर जेल परिएला विहे नगरेकाहरु यसै जीवन विताउने जसरी कानमा तेल हालेर बस्छन्।’ शंकरजीले थपथाप गरे। तिनको कुरा सुन्दा मनिषालाई कम्ता रिस उठेको थिएन। ’गरे हुन्छ नि फेरि विवाह, पशुजस्तो जुन स्त्री देख्दा पनि डुक्रिन थाल्ने तिमीहरुजस्तो खन्चुवाहरुलाई खुवाउन मैले विहे गर्नुपर्ने?’ उसको मुखमा आइसकेको थियो तर सवाल थियो मर्यादाको। यदि मर्यादा भन्ने साङ्लोले नकसेको हुँदो हो त उसले जानेकी थिइ तिनलाई ठाउँमा ल्याउन।
’भोज नै खाने हो भने किन विहे नै गर्नुपर्यो। जाम हिंड्नुस् हाम्रो घरमा कत्रो कुरो भयो र, बसौं खाउ’ संयमतापूर्वक मनिषा बोली।
’विहेको भोज भनेको विहेकै भोज हो नि म्याडम। विहे मन्डप नजिकै बसेर खानु र भान्छा डाइनिङ रुममा बसेर खानु एकै होला र!’ सुरेश कुमार लेखापाल बोले। मनिषाले सुनेको नसुन्यै गरिदिई।
विस्तारै अफिस ब्यस्त नभएपनि मनिषा अफिसबाट फर्कदा थाक्न थालेकी थिर्इ। कहिलेकाहिँ सोच्थी शायद बुढी भएर पो हो कि। तर लाग्थ्यो उमेर ३० पुग्न अझै केही वर्ष बाँकी नै छ। त्यो उमेरलाई त कसरी पो बुढी मान्नु र। मानिसहरु यो उमेरलाई सुनौलो समय भन्छन्। अझ ऊ त शिक्षित राम्रो जागिरे सुन्दर परिवार र समाजकी प्यारी र छिट्टै आफूले रोजेको हुनेवाला डाक्टरसँग विहे गरेर अमेरिका सेटल हुने योजना। अफिसले गाडी दिएको थियो तर छरितो हुने भएकोले आफ्नै स्कुटर चलाउँथी। गीत सुन्थी, पुस्तक पढ्थी र कहिलेकाहिँ टेलिभिजनमा चलचित्र हेरेर ऊ आफ्नो थकान बिर्सन खोज्थी।
बेलुका फेरि निश्चल अनलाइन देखापर्यो।
’निश्चल’
’यस डियर’
’तिमी कहिले आउँछौं नेपाल? अब त आए हुँदैन तीन वर्ष भैसक्यो।’
’आउँछु, पहिला मलाई पढाई पुरा गर्न देऊ न। म निश्चल हैन विहेको कार्डमा डा. निश्चल लेख्न चाहन्छु। तिमीले पनि त्यही भनेको थियो नि हैन र?’
’भनेको हो तर भेट्न मात्र आउन त सक्छौं केही दिनको लागि। मेरो भिसा भको भए म आउने थिए तिमीलाई भेट्न। तीन वर्षसम्म स्काइपले नै चित्त बुझाउनुपर्ने? कस्तो निष्ठुरी!’
’ल गुनासो मेरो पनि छ तर के गर्नु। सगरमाथा चढ्न लागेको आरोही जाडो भयो भनेर बिच बाटोबाट फर्कियो भने उ शिखरमा पुग्ला र? बरु पुगोस् फर्कियोस् त्यसपछि घरको न्यानो त छँदैछ।’
’त्यसो भए गल्ती मेरै हो रहेछ क्यारे शिखर चढ्ने मानिस रोज्नु। समथर जमिनमा बस्नुछ भने समथरमा बस्नेसँगै दोस्ती गर्नुपर्दो रहेछ कि त!’
कुरा मायालु जोडीको नै थियो तर बीचबीचमा गहिरा घाउ लाग्ने धारिलो चक्कु नचलेपनी च्वास्सचुस्स पार्ने स-साना काँडाहरु पर्याप्त चल्दै थिए। बुधबार बेलुकी अफिसबाट फर्केर मनिषा चिया पिउँदै थिइ। अचानक उसका आँखा झ्यालबाट बाहिर गुलाबको झ्याङमा पुग्यो। गुलाबको झ्याङमा केही फुलहरु फुलिरहेका थिए र वरिपरी डुल्दै थिए केही भमराहरु। मनिषाले टोलाएर हेरिरही। भमराहरु रोजिरोजी नयाँ र रसिला फुलहरु चुस्दै थिए। पुराना र ओइलाएका फुलहरुमा कुनै भमराको ध्यान थिएन। ति फुलहरुको भाव शुन्य थियो। फिका देखिन्थे। लाग्थ्यो केही अघिसम्म फक्रिएर मगमग बासना छरिरहेका फुलहरु अब प्रयोजनहिन थिए। ति फुल देख्दा मनिषालाई चिन्ताले छोप्यो। रसिला फुलहरु देखेर उसको मनमा डाँहा पैदा भयो।
स्कुटरको गति अलि बढी नै थियो मनिषाको अरु दिनभन्दा। त्यसै बटारिएको थियो एक्सिलेटर। ऐनामा पछाडि हेर्न पटक्कै मन थिएन। खाली अगाडि बढ्नु थियो उसलाई। आँखा सिदा अगाडि थियो। घरबाट हिंडिसकेकी थिई तर अफिस जानु मन थिएन। एक मनमा लाग्यो उसलाई बिदा मागेर घर फर्किन तर घर गएर पनि के गर्नु? सिनेमा जाम को सँग जानु? पार्कतिर एक्लै के गर्नु? आफूलाई चारैतिर बार लागेकोजस्तो लाग्यो उसलाई। जीवन कतै बन्दकी राखेजस्तो लाग्यो। हिजोको गुलाबको फुल सम्झी। नदीको बगेको पानी सम्झी। खडेरीमा वर्षा कुर्दाकुर्दै समयमा पानी नपर्दा सुकेर गएका विरुवाहरु सम्झी। उसको स्कुटर अफिसको पार्किङमा गएर रोकियो।
साँझमा अफिसबाट फर्कदा आमा भान्छामा बसेर तरकारी केलाउँदै थिइन्। ऊ सिधै आफ्नो कोठामा गइ।उसको टेबलमा केही अगी आमाले दिएको फोटोबाट उही युबक मुस्कुराइरहेको थियो।उसलाई त्यो तस्विर गहिरिएर हेर्न मन लाग्यो। हेरी। कपडा फेरेर उ आमाको छेउमा आएर बसी र विस्तारै बोली,’आमा फुपुलाई फोन गर्नुभयो? फुपुलाई हाम्रो घरमा बास बस्ने गरी बोलाउनु न ल?’आमा मुसुक्क हाँसिन्। आज मनिषाको मुहार अरु दिनभन्दा भिन्न थियो।