ऊ दङ्ग थियो। ‘छोरीको राम्रै केटासगँ बिहे गरिदिएँछु’ भन्दै ऊ गाउँको चौतारीमा फलाक्दै पनि हिँड्थ्यो। ऊ, अर्थात् देवीलाल पाण्डेलाई राम्नाकोट वडा नं. तीनमा सबैले कोरियावाला ज्वाइँको ससुरो भनेर चिन्न थालिसकेका थिए। अझ कोरियामा श्रमिकको तलब ७.३ प्रतिशतले बढ्दा देवीलाल गाउँका दुई–चार जना बुढाहरुलाई आफ्ना ज्वाइँको बखान चुटेर वाक्क पार्थे।
एक वर्षअगाडि मात्रै उसले आफ्नी छोरी झुमाको बिहे नन्दबहादुरसँग गरिदिएको थियो। त्यतिखेर उसलाई ज्वाइँ छान्न खुब बित्यास पर्यो। गुरागाईं बाहुन बाजेले छोरीका लागि भनेर तीन जना केटाको कुरा लिएर आएका। पहिलो केटो बोर्डिङ स्कुलको टिचर, दोस्रो केटो कोरियाको भाषा परीक्षा दिएर बसेका र तेस्रो डिग्री पढ्दै गरेका। देवीलालले पल्लो गाउँका कोरिया गएका केटाहरुको प्रगति देखेका थिए, सुनेका थिए।
कोरियामा लाखभन्दा बढी कमाई हुन्छ। कोरिया गएका केटाहरु यस्ता हुन्छन् उस्ता हुन्छन्। आफ्ना घर परिवार, जहानलाई जे भन्यो त्यही पुर्याइदिन्छन्। इपीएसमार्फत कोरिया गएका केटाहरुको बारेमा यस्तै थुप्रै कुराहरु सुन्दै आएका देवीलालले अन्तमा झुमाको बिहेको लागि कोरियाको भाषा परीक्षा दिएर बसेको केटोलाई नै पहिलो प्राथमिकतामा पार्यो।
मनमा कुनै दुविधा नराखी देवीलालले आफ्नी छोरी कोरिया जानेवाला केटोलाई नै दिने निर्णय गर्यो। अझ एकदिन बाहुन बाजेले नन्दबहादुरले कोरियाको भाषा परीक्षा पनि पास गरिसक्यो भनेर सुनाउँदा देवीलाल आफ्नो निर्णयप्रति असन्तुष्ट थियो। कोरिया जानेवाला ज्वाइँको ससुरो हुन पाउँदा ऊ गदगद भयो। त्यहि भएर छोरीको बिहे पनि धूमधामसँग गरिदियो। सारा गाउँलेलाई निम्त्याएर भतेर पनि खुवायो। गाउँलेहरु पनि खुसी भए।
‘कोरिया जाने ज्वाइँ पायौ। तिमी त भाग्यमानी रहेछौ देवीलाल’ भन्दै गाउँलेहरु पनि देवीलालको कान भर्थे। यति सुनेपछि देवीलाललाई पनि पुग्थ्यो। ऊ शानका साथ कोरिया जान लागेका ज्वाइँको आडमा फुर्ति लाउन थाल्यो।
इपिएसमार्फत् कोरिया जानका लागि देविलालको ज्वाइँ नन्दबहादुर भाषा पास गरेपछि कोरियाबाट श्रम सिफारिस आएपश्चात् भिसाका लागि आवेदन दिन आवश्यक कागजातहरु जुटाउन थाल्यो। नयाँ नियमानुसार कोरिया जान टिबीको रिपोर्ट पनि बुझाउनु पर्ने रहेछ। त्यही भएर कोरियन राजदूतावासले तोकिएको हस्पिटलमा गएर टिबीको जाँच पनि गराउनु पर्ने भयो नन्दबहादुरलाई।
‘टिबीको रिपोर्ट’ भन्नेबित्तिकै नन्दबहादुर एकछिन झसङ्ग भयो। ऊ आत्तियो एकछिन्। सात, आठ वर्ष पहिले उसलाई टिबी लागेको थियो। नियमित रुपमा औषधि खाएर टिबी त निको भएको थियो तर त्यसको दाग छातीमा सधैंभरि रहिरह्यो।
मेडिकल गर्न जाँदा डाक्टरलाई नन्दबहादुरले आफ्नो सबै कुरा सुनायो। डाक्टरले ‘नआत्तिकन मेडिकल गर्नुहोस्। टिबीको दाग सबैसँग सधैँभरिलाई रहँदैन। टिबी निको भएपछि यो दाग मेटिएको उदाहरण थुप्रै छन् भनेपछि ऊ केही शान्त भएर आफ्नो मेडिकल गरायो।
तर, अफसोच! तीन दिनपछि उसको मेडिकल रिपोर्टमा टिबीको दाग देखिएकै आयो। अब के गर्ने होला भनेर ऊ छटपटिन थाल्यो। कोरिया जान लागेको भनेर सबैतिर हल्ला फैलिसकेको थियो। अझ उसको ससुरो देवीलालले कोरिया जाने भएरै नै छोरी उसलाई दिएको थियो।
कुनै उपाय त होला दाग हटाउने भनेर नन्दबहादुर सोच्न थाल्यो। तर, ऊ सँग पर्याप्त समय पनि थिएन छातीमा टिबीको दाग हटाउनका निम्ति। झल्यास्स उसले आफ्नो एक जना स्वास्थ्य क्षेत्रमा काम गर्ने साथीलाई सम्झियो। उसैलाई आफ्नो सबै अवस्था सुनायो। उक्त साथीले एक जना रेडियोलोजिस्ट चिनेको रहेछ। ती रेडियोलोजिस्ट भाग्यले कोरियन दूताबासले तोकेकै हस्पिटलमा काम गर्दो रहेछ। उसैको मद्दतमा केही बढी पैसा तिरेर नन्दबहादुरले दाग नभएको टिबीको रिपोर्ट बनाउन सफल भयो।
टिबीको दाग नभएको रिपोर्टलगायत अन्य सबै डकुमेन्ट तयार गरेर इपिएस प्रणाली अन्तर्गत नन्दबहादुरले कोरियाको श्रम भिसाका लागि आवेदन दियो। तीन दिनपछि उसको पासपोर्टमा भिसा पनि लाग्यो। भिसा लागेको कुरो सबैभन्दा पहिले उसले कोरियन ज्वाइँ भन्दै उफ्रिँदै आइरहेका आफ्नै ससुरो बुढो देवीलाललाई सुनायो।
ज्वाइँलाई कोरियाको भिसा लगेपछि देवीलाललाई के चाहियो र अरु। उसले गाउँभरिका आफ्नै उमेरका बुढाहरुलाई पीपलबोटमा बोलाएर एक ग्यालेन रक्सी र मासु खुवायो। खाँदै देवीलालले आफ्नो ज्वाइँको प्रशंसा गर्दै भन्न थाल्यो, ‘हेर बिर्खे, बाहुन बाजेले छोरीको लागि तीन ठाउँबाट केटाको कुरा ल्याएका थिए। एउटा बीस-पच्चीस हजार कमाउने शिक्षक, अर्को भर्खर डिग्री पढ्दै गरेको अनि अर्को कोरिया जान लागेको केटा। यसमध्ये मैले कोरिया जाने केटा छानेर झुमाको बिहे गरिदिए। ज्वाइँको भिसा लागेपछि अब मलाई ढुक्क भयो। अचेलको जमनामा सबैभन्दा ठूलो पैसा हो। जसले पैसा कमाउन सक्छ, उसैले खुसीले घरपरिवार पाल्न सक्छ। त्यो शिक्षकले सधैँभरि शिक्षक नै भएर कति नै कमाउला र? उसैगरी अर्का डिग्री पढ्नेले डिग्री पढेर के नै नाप्न सक्छ र? कोरिया गएर ज्वाइँले पाँच वर्षमा करोडौँ कमाउँछन्। छोरीलाई जे भए नी सुखले पाल्छन्।’ बुढाहरु पनि खान पाएपछि देवीलालको गफमा हो मा हो मिलाउन थाले।
नन्दबहादुर भिसा लागेको तीन हप्तापछि कोरियन एयरलाइन्सको विमानमा दक्षिण कोरियाको लागि उड्यो। इन्छन विमानस्थलमा अवतरण भएपछि उसलाई कम्पनीले सिधै ट्रेनिङ सेन्टर पुर्यायो। तीन दिनको ट्रेनिङपछि ट्रेनिङ दिने सरले ‘एलियन रजिष्ट्रेशन कार्ड’ बनाउन सबैले मेडिकल गर्नुपर्छ भन्दा नन्दबहादुर पुनः उही तनावमा फर्कियो। उसलाई यहाँनिर अब अप्ठ्यारो पर्यो। नेपालमा त जसोतसो मेडिकल रोपोर्ट मिलाएको थियो। तर, कोरिया आएपछि फेरि मेडिकल गर्नुपर्छ भन्ने कुराको हेक्का उसले बिर्सियो।
पुनः मेडिकल गर्दा नन्दबहादुरको एक्स रे रिपोर्टमा छातीमा टिबीको दाग देखियो। उसको भिसा स्वतः रद्द भयो। तुरुन्तै कोरियन श्रम विभागले उसलाई टिकटको बन्दोबस्त गरेर नेपाल फर्काउने व्यवस्था मिलायो।
कुन मुखले नेपाल फर्कने। नफर्केर पनि अर्को कुनै बाटो थिएन नन्दबहादुरसँग। काठमाडौं फर्केपछि पहिला उसले श्रीमतीलाई फोन गर्यो। उसले सबै कुरा सुनायो। झुमाले उसलाई फोनमा सहानुभूति देखाएर सम्झाउँदै घर फर्किन अनुरोध गरिन्।
काठमाडौं फर्केको पर्सिपल्ट ऊ साँझ पारेर घर पुग्यो। घर पुगेपछि अनेक कुराहरु निस्कन थाल्यो। टिबीको दागका कारण कोरियाबाट ज्वाइँ फर्केको कुरा ससुरालीमा पनि पुगिसकेको रहेछ। कोरिया जानुभन्दा अगाडि सबैले गर्वले उसलाई ससुरालीमा कोरियन ज्वाइँ भन्थे। भिसा रद्द भएर फर्केपछि उसलाई आफ्नै घर-टोलमा पनि हेपा दृष्टिले ‘कोरियन ज्वाइँ’ बनेर गिज्याउन थालेका थिए।
ज्वाइँ फर्केपछि देवीलालको गाउँमा जुन रवाफ थियो, त्यो रहेन। उल्टै गाउँमा आफ्नै ज्वाइँको कुरा आफैँ काट्न थालेका थिए। ‘छोरी फसाएर बिहे गर्यो। छोरीको जिन्दगी बर्बाद बनायो’समेत भन्न भ्याइसकेका थिए।
नन्दबहादुरलाई कोरियामै भिसा रद्द भएदेखि राम्ररी निन्द्रा लाग्न छाडेको थियो। ऊ एक्लै टोलाउन थाल्यो। मान्छेको कुरा सुन्नुपर्छ भनेर ऊ घरबाट बाहिर निस्कन पनि छोड्यो। अब के गर्ने? परिवार-जहान कसरी पाल्ने? कोरिया जाने क्रममा अलिअलि रिन लिएको थियो, त्यो कसरी तिर्ने? यस्तै कयौँ कुराले उसलाई भित्रभित्रै खोक्रो पार्न थाल्यो। अर्कातर्फ ‘ठगेर कोरिया जान लागेको, छलेर अर्काको छोरी बिहे गर्यो’ भन्नेजस्ता हल्लाले उसलाई झन् डिप्रेशनतर्फ डोर्याउँदै लग्यो।
दसैंमा ससुराली टिका थाप्न जाँदा देवीलालको व्यवहारले ऊ झन् पीडित भयो। ‘झुमाको लागी तीन ठाउँबाट केटाको कुरा आ’को थियो। बीस-पच्चीस हजार महिनाको कमाउने सर, डिग्री पढ्ने केटो सबैलाई छाडेर देवीलालले कोरियन ज्वाइँ रोज्ने हुँदा चाइनिज सामानजस्तै खोक्रो ज्वाइँ हात पर्यो’जस्ता कुरा सुन्दा नन्दबहादुर पूर्णरुपमा डिप्रेशनको शिकार भइसकेको थियो।
आफ्नो श्रीमान् डिप्रेशनमा गइरहेको चाल पाएपछि झुमा पनि दु:खी भई। उनैले बल्लबल्ल फकाएर नन्दबहादुरलाई उपचार्थ डाक्टरकहाँ लगिन्। डाक्टरको जाँचपछि उहाँकै सल्लाहमा नन्दबहादुरलाई केही महिनाका लागि डिप्रेशन हटाउन ‘थेरापी सेन्टर’मा राख्नुपर्ने भयो। नन्दबहादुर पटक्कै मानिरहेको थिएन ‘सेन्टर’मा बस्न। तर, झुमाले अनेक आश्वासन र आड-भरोसा दिएपछि ऊ बल्लबल्ल ‘थेरापी सेन्टर’ बस्न राजी भयो।
आफ्नो पतिलाई ‘थेरापी सेन्टर’ पुर्याएर फर्किँदा बाटोमा झुमाले मनमा अनेक गम्भीर प्रश्न खेलाउँदै आइन्। उनले आफ्नो पतिलाई त्यस्तो हालतमा पुर्याउनका निम्ति कसैलाई दोषी ठहर्याउन सकिनन्। बरु उनले आफ्नै समाजलाई धिकारिन्। र, आफैँसँग सोधिन् के नन्दबहादुरको यस्तो अवस्था निम्त्याउन उनकै पिताको दोष छ त? केही पैसाको लोभमा नक्कली मेडिकल रिपोर्ट बनाइदिने के डाक्टर दोषी छ त? कि आडम्बरी समाजमा पैसाको लालावाला चल्ने हुँदा सामाजिक दबाबले नन्दबहादुरलाई नक्कली मेडिकल रिपोर्टको आडमा कोरिया जान बाध्य तुल्यायो?
जे हुनु थियो भइगयो। उनले कसैलाई आरोप लगाउन चाहिनन्। बरु डिप्रेशनरहित पतिको प्रतिक्षामा समय व्यथित गर्न थालिन्।