पदीय, दलीय, जातीय, क्षेत्रीय कुनै पनि अहम र विभाजन नभई बहालवाला, सेवानिवृत्त कर्मचारी, गृहिणी, कृषक, राजनीतिकर्मी, उद्यमी, व्यापारी व्यवसायीलगायत सबै पेशामा लागेका पेशाकर्मीहरू आफ्नो र आफन्तको शीघ्र स्वास्थ्यलाभको लागि भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट तथा रिसर्च सेन्टरमा धाइरहेका भेटिन्छन्। बुबाको स्वर विस्तारै भासिँदै, खाना खाँदा सर्कने अनि बोल्दा बोली स्पष्ट रुपमा नबुझिनेजस्ता लक्षणहरु देखा पर्दै जाने र जँचाउदा पनि यी समस्याहरु लामो समयसम्म ठिक नभएपछि के भएको हो भन्ने आशंकामा हामी पनि यसै अस्पतालमा जँचाउन आइपुग्यौं।
वायप्सी जाँचको रिपोर्टले बुबालाई क्यान्सर भएको थाहा भयो। अन्ततः सुरूमा सात हप्ताको लागि रेडिएशन, ६ वटा किमो दिने र त्यसपछि अवस्था हेरेर त्यसको मात्रा बढाउने वा के गर्ने भन्ने निर्णय गर्ने गरी डाक्टरहरूको सल्लाहमा बुबालाई अस्पताल भर्ना गरियो।
अस्पतालमा भर्ना गरिएको बिरामी आकस्मिक अवस्थामा र किमो दिँदाबाहेक अरुबेला अस्पतालमा बस्नु नपर्ने व्यवस्था गरिएको रहेछ। हामी पनि सोही अनुसार अस्पतालको नजिकै रहेको रोहणी सेक्टर ५ मा कोठा लिएर बस्यौं। चिकित्सकहरूको सल्लाह बमोजिम रेडिएसनको लागि दैनिक रुपमा र अन्य अवस्थामा आवश्यकता अनुसार डाक्टरलाई भेट्न हामी राजी भयौं। र, सुरू भयो बुबाको क्यान्सरको उपचार। यही बसाइका क्रममा देखेभोगेका कुराहरूका आधारमा मैले अनुभूति गरेका भावनालाई यहाँ अभिव्यक्त गर्ने जमर्को गरेकी छु।
यसै अस्पतालको बेड नं. १०५ मा रहेकी कुरुवा झापा घर भई हाल काठमाडौं कलंकीमा डेरा गरी बस्ने हेमलता जोशी आफ्नो श्रीमानको फोक्सोको क्यान्सरको हरिसिद्धीमा उपचार गरेपश्चात थप उपचारका लागि साढे तीन महिनादेखि दिल्लीमा रहेकी छिन्। रेडिएसनको प्रतिक्षा कक्षमा भेट भएका कास्की, पोखरा निवासी ७० वर्षीय घनश्याम रेग्मी काठमाडौंको ग्य्राण्डी अस्पतालमा किमो दिएर रेडिएसनका लागि यहाँ आएका हुन्। उनी दिल्लीको गर्मी र सकसपूर्ण बसाइदेखि वाक्क छन्। ‘नानी, छोराछोरीले नमानेर मात्रै हो, नत्र मलाई यहाँ आउने मनै थिएन। आज ठ्याक्कै १९ दिन भो मुखमा भातको सीतो नपरेको। के गर्नु नानी खानै रुच्दैन। वाक्क वाक्क हुन्छ। यो जीउ पनि दुखेर थिलथिलो भा’छ । रेडिएसन सकिए पछि म एक सेकेण्ड पनि ढिला नगरी नेपाल फर्कन्छु,’ उनले आप्mनो पीडा म सँग साटे।
उल्लेखित प्रतिनिधि पात्रबाहेक अरु सयौं बिरामी र तिनका आफन्तहरू नेपालमै उपलब्ध उपचार र त्यसपछि त्यहाँबाट गरिएको रेफर अनुसार थप उपचारका लागि अस्पतालमा भौंतारिरहेका भेटिन्छन्। नेपालमै सरकारी तथा निजी दुबै खाले क्यान्सर अस्पतालहरू हुँदाहुँदै पनि उपचारको लागि किन यहाँ आउनु भएको? भन्ने मेरो प्रश्नको जवाफमा भुइँतलामा भेटिएका काठमाडौं, बत्तीसपुतली निवासी ऋषिराम राजभण्डारी भन्छन्, ‘नेपालमा के को लागि कस्तो उपचार गरिँदैछ केही थाहै हुँदैन। वायप्सी गर्नु परे पनि के को लागि गर्न लागिएको केही भनिँदैन, खाली जाँच गर्नु मात्र भनिन्छ। हेर्नोस् त यहाँको सुविधा, कर्मचारीले बिरामी र उनका आफन्तलाई गर्ने व्यवहार, कस्तो राम्रो छ।’
उनी रोगले च्याप्दै गएर अन्तिम अवस्थामा आउनुभन्दा सुरूमै आउनु राम्रो हुन्छ भन्ने लागेर श्रीमती सर्मिला राजभण्डारीको थाइराइडको समस्या भएर उपचारका लागि केही अघिमात्र यहाँ आएका रहेछन्।
नेपालमा वायप्सीको रिपोर्ट आउन पनि दस दिन कुर्नु पर्ने। के रोग हो थाहा नहुँदै एक महिनाको लागि औषधि खाँदै गर्नुस् भनी भिडाइदिने। यो गुनासो थियो मदन केसीको। तेह्र वर्षीय छोरा सुजित केसीको ब्लड क्यान्सरको उपचारका लागि चार महिनादेखि उनी श्रीमतीसहित यतै रहेछन्। डाक्टरले सब ठिक हुन्छ भन्नु भा’को छ। छोरोलाई निको पारेर मात्रै नेपाल फर्कन्छौं भन्दै उनी नयाँ आउने बिमारीलाई फाराम भर्न सहयोग गर्दै थिए।
सिन्धुपाल्चोक घर भई हाल काठामाडौं, बौद्धमा बस्ने कान्छीमाया भन्छिन्, ‘नानी काठमाडौंको सरकारी अस्पतालमा त अन्तिम अवस्था नभइ पालै आउँदैन। तीन महिनापछि आउनुहोस् भनेर पोहोर साल मेरी कान्छी छोरीले कस्तो दुःख पाई। अन्तिममा आइसियुमै १५ दिन बस्नुपर्यो। छिटो त ठूला–ठूला मान्छेले भन्देपछि मात्र गर्छन् रे। हाम्रो त को हुनु र ठूलो मान्छे । आइसियुमा रहँदा कति छिटोछिटो औषधि सकिँदो रहेछ। छिनछिनमा किन्नु पर्ने।’ यहाँको उपचारका लागि लागतको कुरा गर्नु पर्दा एक जना बिरामीको पटक–पटक गरी कम्तीमा अस्पतालको लागिमात्रै १० देखि १५ लाख भारतीय रुपैंया खर्च हुने देखियो। त्यसबाहेक बिरामीको साथमा कम्तीमा दुई जना कुरुवा तथा रेखदेखकर्तालाई बस्न खान र आवतजावतका लागि यातायात खर्चबापत लाग्ने खर्च जोड्दा यो लागत झनै माथि पुग्ने देखिन्छ। रोगको कारण बिरामीले नेपालमा गरिरहेको पेशा व्यवसायबाट ऊ अनिश्चित अवधिका लागि टाढा रहनु पर्ने हुन्छ। लामो उपचार पद्धति र परदेशको बसाइका कारण कुरुवाको पनि पेशा व्यवसाय चौपट्ट हुने नै भयो।
मेरो आफ्नै कुरा गर्दा मेरो कार्यालय (राष्ट्रिय योजना अयोग)ले चौधौं योजनाको आधारपत्रमा छलफल र आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको छलफलका क्रममा सबै कर्मचारीले अत्यावश्यक अवस्थामा बाहेक बिदा नलिनू, नदिनू भनी निर्देशन गरेको केही दिनमै १५ दिनको घर बिदा लिएर म बुबाको उपचारको लागि दिल्ली आउनु पर्यो। अहिले बिदा लम्ब्याएर बस्नु परिरहेको छ। बाध्यताले गर्दा महत्वपूर्ण समयमा कार्यालयमा आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नबाट म चुकें। यदि बुबाको उपचार नेपालमै भइदिएको भए म कार्यालय समयमा आफ्नो जिम्मेवारी पूरा गर्दै बिहान बेलुका बुबाको हेरचाह गर्न सक्थें। यसले गर्दा समय र कामको राम्रो व्यवस्थापन भई मनमा ग्लानी हुँदैनथ्यो। अहिले खर्च भइरहेको बिदा अन्य उत्पादनशील कार्यका लागि उपयोग गर्न सक्थें।
यस्तै, दुखेसो चितवनबाट आमाको उपचारका लागि आएका नारायणघाटका कम्प्युटर सफ्टवेयर व्यापारीको थियो। हेर्नुहोस् भूकम्प र नाकाबन्दीपछि खुलेको पसल फेरि बन्द गर्नुपर्यो। सफ्टवेयरका सामान अरुलाई बेच्देऊ भन्न पनि नमिल्ने, आफू यता, के हुने हो, म त बिलखबन्दमा परें। यत्रो समय पसल बन्द हुँदा के भने होलान्? मैले त सोच्नै सकेको छैन। आमा बिरामी हँुदाको पीडा त छँदैछ, अर्को पीडा पनि थपियो। उनी भन्दैथिए।
यता रोहणी सेक्टर ५ नयाँ दिल्लीमा विशेषगरी क्यान्सर उपचारको लागि आउने बिरामीलाई लक्षित गरी गरिएका व्यापार व्यवसाय फस्टाउँदै गएका देखिन्छन्। चार जनासम्मको लागि भाँडाकुडा, बिस्तरा, पलङ, रेफ्रिजेरेटर, टेलिभिजन लगायतका सम्पूर्ण घरायसी सामग्रीको बन्दोबस्त गरिएका कोठा दैनिक कम्तीमा ६०० भारु (मासिक १८,००० भारु) र सुविधा हेरी सोभन्दा बढीमा भाडामा लिने दिने व्यवसाय राम्रोसँग चलेको छ। यसबाहेक कोठा सफा गर्ने, लुगा धोइदिने, खाना पकाइदिनेजस्ता सेवा पनि राम्ररी चलेका छन्। खाद्यान्न, फलफूल, जुस, औषधि लगायतका पसलहरूले पनि राम्रो व्यापार गरेका छन्। यसबाट धेरै भारतीयहरूले रोजगारी पाएको अवस्था छ। उनीहरूले अपूmले प्रदान गरेको सेवा सुविधामा कमीकमजोरी नहोस् भनेर निकै ध्यान दिएको पनि देखिन्छ। पानी बिहान बेलुका, बिजुली २४ सै घन्टा, दैनिक फोहोर उठाउने र रात्रिकालीन दिल्ली प्रहरीको गस्तीले गर्दा यहाँ बस्न आउने मानिसहरूले आफन्त बिरामी परेको तथा नेपालमा घरायसी व्यवहारहरूको चिन्ता बाहेक अन्य सुविधाबाट गाह्रो मान्नु पर्ने अवस्था छैन।
नेपाल सरकारले क्यान्सर पीडितको उपचारका लागि सेवा सुविधा वर्षेनी बढाउँदै लैजाने, सूर्तीजन्य सामग्रीको उत्पादन बिक्री वितरण तथा उपभोगका हरेक क्षेत्रमा कर बढाउँदै लैजाने, जनचेतना अभिवृद्धि गर्नेजस्ता कार्यक्रम सञ्चालन गरिरहेको अवस्थामा दैनिक सयौं नगारिक सकिनसकी (ऋणमा डुबेर भए पनि) राम्रो उपचारको लागि बाहिरी देशमा भांैतारिने अवस्था आउनुको कारणको मिहिन अध्ययन गरिनु जरुरी छ। यस्तै प्रवृत्ति यसरी नै बढ्दै गयो भने प्रत्यक्ष रुपमा बिरामी तथा बिरामीका आफन्त प्रभावित हुने त छँदै छ, अप्रत्यक्ष रुपमा नेपालबाट करोडौं राजस्व बाहिरिने क्रम बढ्दै जान्छ।
कतै हामीले हामीसँगै भइरहेको उपचार पद्धतिबारे जनतालाई जानकारी गराउन सकेनौ कि? सकेनौ भने त्यसको प्रचार–प्रसार गर्नु जरुरी छ। व्यक्ति बिरामी हुनु आफैंमा मानवीय संवेगसँग जोडिएको कुरा हो। यस्तोबेला बिरामी र उसको परिवार तनावमा हुने नै भयो। तर, अस्पताल, कर्मचारी, वरिपरिको वातावरण, सेवा सुविधा राम्रो हुने सकेन भने उनीहरूमा अझ तनाव थपिन्छ। हाम्रा अस्पतालहरूको विस्तार र प्रवद्र्धन गर्ने क्रममा त्यसको वरिपरिको वातावरणमा पनि ध्यान दिन जरुरी देखिन्छ।
क्यान्सर रोग केही समयमै निको भइहाल्ने रोग होइन। यसमा लामो समयको उपचार जरुरी हुन्छ। यसको लािग हाम्रा क्यान्सर अस्पताल वरिपरि उपचारका लागि आउनेहरूलाई बस्न अनुकूल हुने गरी रोहणी सेक्टर ५ मा जस्तै सुविधासम्पन्न आवास क्षेत्रको व्यवस्था गरिनु जरुरी छ।
एक जना व्यक्ति र उसको परिवार राज्यको प्रतिनिधि हो। यस्तै व्यक्ति–व्यक्तिले गरेको कार्य तथा तिरेको करबाट राज्यको अर्थतन्त्र चलायमान हुन्छ। त्यसको लागि हरेक नागरिकले गर्ने स–सानो खर्च राज्यभित्रै गर्न सके थोरै भए पनि देशको विकासमा सहयोग पुग्दछ । आखिर थोपा–थोपा जम्मा भएर नै त समुद्र बन्ने हो। केही जनाले मात्र भए पनि आफ्नै नागरिकले स्वदेशमै रोजगारी पाउँछन्।
अहिले जस्तो वैदेशिक रोजगारीबाट सिर्जना भइरहेको सामाजिक तथा पारिवारिक बिखण्डनको अवस्थामा एक जनाको भए पनि कमी आउन सक्छ। उपचारका लागि वर्षेनी बाहिर जाने ठूलो संख्याका क्यान्सरका बिरामीको उपचारका लागि नेपालमै राम्रो प्रबन्ध मिलाएर उनीहरूको विश्वास जित्न सकियो भने अस्पतालका सञ्चालक, डाक्टर, नर्स तथा अन्य कर्मचारीको रोजगारीको अलवा त्यसको वरपर व्यापार व्यवसाय बिस्तार गरी थुप्रै नेपालीले आयआर्जन गर्न सक्छन्। सरकारको राजस्वमा बृद्धि हुन्छ। बिरामीको कुरुवाले आफ्नो पेशा व्यवसाय पूरै माया मार्नु पनि पर्दैन। आफ्नो काम र आफन्तको स्याहार सँगसँगै गर्न सक्छ।
यतिमात्रै गर्न सक्यो भने पाँच महिनासम्म दिल्लीको यसै अस्पतालमा स्तन क्यान्सरको सफल उपचार गरेर घर फर्कन लागेकी बिमला कार्कीले ‘मैले त पुनर्जन्म पाएँ। तपाईं पनि बुबालाई सञ्चो गराएर छिट्टै नेपाल फर्कनुहोस् है’ भन्दैगर्दा देखिएको जस्तो सन्तोषको मुस्कान आफ्ना नागरिकका मुखमा देख्न सकिन्छ। यसले राज्यप्रति नागरिकको विश्वास र अपनत्व बोध बढाउँछ। नेपाली भएर नेपालमै उपचार गर्न पाउँदा उनीहरूले गर्वको अनुभूति गर्छन् र उनीहरूमा राष्ट्रियताको भावना मजबुत बन्दछ।