जब ओलम्पिक प्रतियोगिताको आयोजना हुन्छ। सबै देशमा खेलाडी पठाउनेको होडबाजी लाग्ने गर्दछ। तर, रियोमा यस्तो पनि घटना देखियो, जहाँ १० राष्ट्रले एक दमै कम खेलाडी पठाएका छन्। ती देश यसप्रकार छ।
तुभालु:
१० हजार ६ सय जनसंख्या भएको तुभालुमा एक जना मात्र खेलाडी सहभागी छन्। सन् १९७८ मा बेलायतबाट स्वतन्त्र भएको इलिइस टापुमा रहेको यो देश त्यहाँ भएको नौ वटा टापुमध्ये चौथो सानो देश हो। सन् २०१२ मा बेलायती राजकुमार ह्यारी र उनकी राजकुमारीले तुभालुको भ्रमण गरेका थिए। यो देशबाट २४ वर्षीय इटिमोनी टिमुआनीले भाग लिदैँछन्।
उनी वास्तवमा व्यवसायिक फुटबल खेलाडी हुन्, जो त्यहीको तुभालु ‘ए’ डिभिजन क्लबबाट खेल्छन्। उनले रियोमा सय मिटर स्प्रिन्टमा भाग लिदैँछन्।
भुटान
दक्षिण एसियाको यो सानो राष्ट्रले पनि २ जना मात्र खेलाडीलाई रियो ओलम्पिकमा उतार्दैछ। भुटानको जनसंख्या ७ लाख ४० हजार छ। यसमा भुटानको राष्ट्रिय खेल आर्चरीकी २६ वर्षीय खेलाडी कर्मा सहभागी छिन्। उनी महिला एकलतर्फको स्पर्धामा उत्रिँएकी छिन्। उनी दक्षिण एसियाली खेलकुदमा २ वटा कास्य जित्ने खेलाडी पनि हुन्। उनले ६ महिनाअघि भारतको गुवाहाटी र सिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा त्यो पदक जितेकी थिइन्। यस्तै, महिलातर्फको १० मिटर एयर राइफलमा लेन्चु कुन्जाङले भाग लिदैँछिन्। उनको उमेर २४ वर्ष हो।
चाद
पहिलो पल्ट चादबाट १९ वर्षीय बाचेर महमत र २८ वर्षीय बिबेरो अली ताहिर ओलम्पिकमा सहभागी हुँदैछन्। इन्दी प्लेटमा रहेको यो देशको जनसंख्या १ करोड ३६ लाख छ। उत्तरपूर्वको यो देशको मुख्य खेल केनोइङ हो। तर, चादले ४ सय मिटरमा बाचेर र ५ हजार मिटरमा ताहिरलाई उतार्दैछ।
डोमिनिका
क्यारेबियन राष्ट्रको यो सानो देशबाट पनि २ जनाले रियो ओलम्पिकमा भाग लिदैँछन्। जसमा क्युबामा जन्मिएका २८ वर्षीय योर्दानेस डुरानोना र २२ वर्षकी थिया लाफोन्ड छन्। डुरानोनाले लङजम्पमा र लाफोन्डाले हाइजम्पमा भाग लिनेछिन्। दुवै अमेरिकाको मेरिल्यान्डमा अभ्यासरत थिए। ७२ हजार ३ सय जनसंख्या रहेको डोमिनिकामा ३ सय ६५ वटा त नदी नै छन्। डाइभिङ यहाँको मुख्य खेल हो।
इक्वाटोरियल गुएना
स्पेनिस, फ्रेन्च र पोर्चुगलको भाषा बोलिने पश्चिममध्यको यो अफ्रिकी राष्ट्रबाट पनि २ खेलाडी सहभागी छन्। जसमा ३६ वर्षका अनुभवी रियाना–फ्लोर ओकोरी र २७ वर्षका बेन्जामिन इन्जेमा छन्। ओकोरीको यो चौथो ओलम्पिक सहभागिता हो। उनी सय मिटर बाधा दौडमा भाग लिदैँछिन्। यो ओलम्पिक पछि सन्न्यास लिने उनले घोषणा गरिसकेको अवस्थामा उनको प्रदर्शनलाई लिएर धेरै उत्साही छन्। उनी तीनपल्ट ओलम्पिकको सेमिफाइनलसम्म पुगिन्।
फ्रान्सको दोहोरो नागरिकता लिइसकेकी ओकोरी ३ पल्टकी फ्रेन्च विजेता पनि हुन्। उनको समकक्षी इन्जेमाले पनि लन्डन ओलम्पिकको अनुभव सङ्गालिसकेका छन्। उनी ८ सय मिटरमा दौडिदै छन्। यो देशको जनसंख्या १२ लाख मात्र छ।
लाइबेरिया
पश्चिम अफ्रिकाको यो सानो देशबाट पनि २ जना धावकले भाग लिदैँछन्। जसमा मारियम क्रोमाह र इमानुअल माटाडी सहभागी हुँदैछन्। लाइबेरिया मु्ख्यतः फुटबल खेलाडी जर्ज वेहाको नामले चिनिन्छ। फिफाले विश्व वर्ष खेलाडीबाट पुरस्कृत गरिसकेको वेहा चर्चित फुटबल खेलाडी हुन्। यहाँको जनसंख्या ४५ लाख छ।
लाइबेरिया अमेरिकामा मजदुरको जीवन विताएर १९ औं सताब्दीको मध्यमा फर्किएका अफ्रिकीहरूले बनाएको देश हो। त्यसैले यसलाई स्वतन्त्रताको भूमि पनि भनिन्छ। यस देशबाट २२ वर्षीय महिला खेलाडी क्रोमाले ४ सय र माटाडीले सय र २ सय मिटर पुरुष स्पर्धामा भाग लिदैँछन्। यि दुवै खेलाडी अमेरिकामा अभ्यास गरेर ओलम्पिकमा सहभागी हुन लागेका हुन्।
माउरिटानिया
एटलान्टिक महासागरको पश्चिम सहारा किनारमा पर्ने यो देशबाट पनि २ जना धावकले भाग लिदैँछन्। प्रायः ५० डिग्रीको हाराहारीमा तापमान हुने माउरिटानियामा ४० लाख जनसंख्या छ। यो देशबाट लन्डन ओलम्पिकमा झन्डा बोकेका २ सय मिटरका धावक जिदोउ अल मोक्तार र होउलेये बाले भाग लिने छन्। मोक्तार पुरुष सय मिटरमा सहभागी हुँदैछन्। बाले ८ मिटरमा उत्रिने छिन्।
नाउरु
११ हजार मात्र जनसंख्या भएको नाउरुले पहिलो पल्ट ओलम्पिकमा भाग लिएको हो। प्यासिफिक समुन्द्रको तटमा रहेको नाउरुबाट रियोमा २ खेलाडीले भाग लिदैँछन्। जसमा २८ वर्षीय ब्ल्याक बेल्ट ओभिनी उराले जुडोको पुरुष ९० केजी हेभिवेटमा भाग लिने छन्। यस्तै, भारत्तोलक इल्सन ब्रेचटेफिल्ड ५६ केजीमा उत्रिने छन्।
सोमालिया
१ करोड ८ लाख जनसंख्या भएको यो गरिब अफ्रिकी राष्ट्रले पनि २ खेलाडी मात्र रियो पठाएको छ। सोमालियाको तर्फबाट यसपालि मोहम्मद मोहम्मद र मार्यान मुसे रियोमा सहभागी छन्। २० वर्षीय मोहम्मद पुरुष ५ हजार मिटर र १९ वर्षीय मार्यान महिलाको ४ सय मिटर स्पर्धामा समावेश हुँदैछिन्।
स्वाजिल्यान्ड
११ लाख १९ हजार जनसंख्या भएको स्वाजिल्यान्डबाट पनि दुई धावकले भाग लिदैँछन्। २८ वर्षीय सिबुसिसो माट्सेजावा पुरुष दुई सय मिटर र २३ वर्षीय फुम्लिले डाजिनिसाले महिलाको सय मिटर स्पर्धामा भाग लिनेछिन्।