आठ महिना अघिदेखि नेपालको सेयर बजारले उकालो चढ्न थालेको थियो । दैनिक २ अर्ब रुपैंया सम्मको कारोबार भयो । सेयर दैनिक किनवेच मूल्यका आधारमा तय हुने नेप्से परिसूचक करिव ११ सयबाट १८ सय नाघ्यो । नेप्से अझ बढ्छ, दुई हजार नाघ्छ भनेर हल्लाहरु भए ।
गत सातादेखि नेप्सेमा भइरहेको यो वृद्धिमा ब्रेक लाग्यो । एक सातामा एक सय अंक भन्दा तल झर्यो । यो साताको आइतबार ओलर्नबाट केही टिकेको बजार सोमबार कारोवार शुरु भएको एक घण्टा हुदानहुदै ठूलो अंकले झर्याे । कारोबारको दुई घण्टा हुनै लाग्दा बजार ५ प्रतिशत अर्थात ८८ अंकले घटेपछि नियम अनुसार नेपाल स्टकले सोमबारको कारोबार रोक्नु पर्याे । सेयर बजारमा यस्तो उतारचढाव पहिलो भने होइन् । विगतमा अहिलेको जस्तै अवस्था पटकपटक दोहोरिएका छन् । पछिल्लो पटक झण्डै १२ सय पुगेको नेप्से ४ सय अंकमा झरेको थियो ।
त्यसबेला बजार बढीरहँदा सेयर बजारका चर्चित लगानीकर्ताले भनेका थिए, यो १५ सय नाघ्छ । तर १२ सय नपुग्दै ओरालो लाग्यो ।
जब उच्च दरले बढ्दै गरेको सेयर बजारमा एक्कासी ओरालो लाग्छ, सर्वसाधारण लगानीकर्ता उद्धार गर्नु पर्याे भन्ने शैलीमा सहयोग खोज्दै भौतारिन्छन् । यसपटक पनि यसको सुरुवात भइसकेको छ । लगानीकर्ताले समूह बनाएर अर्थमन्त्रीलाई भेटिसकेका छन् ।
बजार सधैं बढ्छ भनेर सपना देखाउनेहरुले सञ्चार माध्यममा सेयर बजारको नियमन निकाय धितोपत्र बोर्ड, सरकारको रवैया प्रति औंला ठड्याउन थालेका छन् । विगतमा पनि यस्तै भएका थिए । हल्लाका भरमा बजार बढाउन खोज्नेहरु मिडियाले घट्ने खालका समाचार नदिए हुन्थ्यो, धितोपत्र बोर्ड, राष्ट्र बैंकले सधै आफुलाई अनुकुल हुने निर्णय गरिराखे हुन्थ्यो भन्ने चाहन्छन् । जब पुरा हुन सक्दैन अनि आरोप प्रत्यारोपमा लाग्छन् ।
सेयर बजारमा सूचीकृत कम्पनीको नाफा घाटा विवरण, भविष्यका लागि लिन खोजेका निर्णय, बजारमा प्रभाव जस्ता कारणले सेयर मूल्य तल माथि हुन्छ । तर, नेपालको सेयर बजार कम्पनीलाई प्रभाव पार्ने यस्ता सुचनाका आधारमा कमै चल्छ । हल्ला र मूल्य आफ्नो अनुकुल वनाउन चाहनेवाट नेप्से प्रभावित छ । एक बर्ष अघि एउटा प्रतिष्ठित समुहले एउटा बाणिज्य बैंकको सेयर किनिरह्यो । उसले किनेको थाहा पाएर अरु थुप्रै लगानीकर्ताले पनि किन्न थाले । बजारमा त्यस कम्पनीको सेयर माग बढ्यो र मूल्य बढ्यो । मूल्य बढी भएपछि उक्त समूहले विस्तारै बिक्री गर्न थाल्यो । राम्रो नाफा लिएर उक्त समूह त्यो सेयरबाट अलग भयो । किन्ने कम भए । सधै राखिरहन नसक्ने लगानीकर्ताले बेच्नु पर्याे । आपुर्ती वढ्यो, अहिले मूल्य घट्यो लहैलहैमा किन्ने नोक्सानमा परे । ऋण लिएर सानो लगानी गर्नेहरु वढी संकटमा परे । विगत पनि बजारलाई तल माथि पार्न सक्ने गरी चलखेल गर्न सक्नेहरु थिए । केही अझ छैन ।
सेयर बजारमा लगानी गर्ने निर्णय गर्दा आफ्नो बचतको प्रकृति, कम्पनीले दिने प्रतिफल अर्थात लाभांश, वित्तीय अवस्था, सञ्चालकहरु, बजार, भविष्यका योजना लगायतका पक्ष विचार गर्नुपर्छ । अर्थतन्त्रमा ठूलो विपत्ती नआउँदासम्म यसरी लगानी गर्नेलाई नोक्सानी हुने अवस्था कम हुन्छ । अर्थतन्त्रमा संकट आएर सेयर बजार घट्दा सरकार लगायत सम्वन्धित निकायलाई नयाँ नीतिहरु लिन दबाब पनि पर्छ ।
विगत ८–९ महिना सेयर बजार उकालो लागिरहँदा विष्णु पौडेल अर्थमन्त्री थिए । उनले ९ महिनाको कार्यकालमा सेयर बजारलाई प्रथामिकतामा दिएर कहिले पनि केही सार्वजनिक अभिव्यक्ति दिएनन । उनको प्रथामिकतामा सेयर बजार थियो थिएन थाहै भएन । तरपनि बजार बढिनै रह्यो । नयां अर्थमन्त्री कृष्णबहादुर महरा आए । उनले सेयर बजारका बारेमा न केही बोलेका छन् न अर्थतन्त्रलाई प्रभाव पार्ने कुनै नीति नै ल्याएका छन् । बजार घटेको छ । विगतका उतारचढावको बेलाका अनुभवका आधारमा भन्न सकिन्छ, बजार बढ्दा वा घट्दा सरकार आइहाल्छ र केही गर्छ भन्ने भ्रम छ भने यसबाट मुक्त भए हुन्छ । सेयर बजार निर्दयी पनि हुन्छ, कति पैसामा सेयर किन्ने हो वा बिक्री गर्ने हो यो लगानीकर्ताको अधिकार हो । यसमा उ नै जिम्मेवार हुन्छ ।
सेयर बजारमा आएको पैसाको स्रोत खोज्न सम्बन्धित निकायले समिति बनाउन, धितोपत्र बोर्डले साना लगानीकर्तालाई सचेत हुन आग्रह गर्दा बजार घटेको आरोप छ । बैंकमा १० लाखभन्दा बढी बचत गर्दा स्रोत खुलाउनु पर्छ । बैंकले पनि यस्ता खाता धनीको विवरण नियमित रुपमा राष्ट्र बैंकमा पठाउँछन् । यो केही वर्ष पहिले देखिकै व्यवस्था हो । सेयर बजारमा पैसा कहाँबाट आइरहेको छ, यो हेर्नु हुदैन भन्ने होइन । सेयर बजारमा लगानी भएको पैसा कहाँबाट आएको हो, कस्तो प्रकृत्तिको हो यो हेर्न भनेर नै नियम बनेका हुन् । अर्थतन्त्रलाई पारदर्शी र सुचारु गर्न यो आवश्यक पर्छ । सचेत गराउने काम पनि नियमन निकाय हो । राम्रोसँग वुझेर, कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर भनेर भन्नु नियम निकायको दायित्व भित्रै पर्छ ।
तर, नियमन निकाय धितोपत्र बोर्ड आफैं कमजोर निकायको रुपमा रहेको छ । अर्थमन्त्रालय अन्तर्गत रहेको बोर्ड सरकारको प्रथामिकतामा खासै पर्दैन । बोर्डको कार्यालयमा नियमित रुपमा प्रहरीको सुरक्षा समेत उपलव्ध छैन । यो कमजोरीको फाइदा उठाउनेहरु छन् । नियमन निकाय कमजोर हुँदा जो कोहीले पनि उसका विरुद्ध भाषणबाजी र धम्की समेत दिने गर्छन ।
सेयर बजार अर्थतन्त्र नाप्ने व्यारोमिटर हो, होइन अर्थशास्त्रीहरुका आफ्नै खालका धारणा पाइन्छन् । मिल्छ र मिल्दैन भन्नेहरु छन । दैनिक २ अर्ब रुपैंयाको हाराहारीमा कारोबार हुन थालेको भएपनि नेपाल सेयर बजार अर्थतन्त्र ब्यारोमिटरका रुपमा लिन सकिने अवस्थाको छैन । सूचीकृत र दैनिक कारोबार हुने अधिकांश कम्पनी बैंक बिमा तथा वित्तीय क्षेत्रसँग सम्बन्धित छन् । ९५ विकास बैंक (लघु वित्त कम्पनी पनि), ४६ फाइनान्स कम्पनी, २९ वाणिज्य बैंक र २२ बिमा कम्पनी नेपाल स्टक एक्स्चेञ्जमा सुचिकृत छन् । जबकि उत्पादनशील क्षेत्रका जम्मा १८ वटा कम्पनी सेयर बजारमा सूचीकृत छन् । यस मध्ये पनि केहीको कारोबार नै हुदैन । पर्यटन क्षेत्रमा पर्ने जम्मा ४ वटा होटल सूचीकृत छन् । यसमा पनि एउटाको कारोवार बन्द छ । व्यापार क्षेत्रका ४ कम्पनीमध्ये २ वटाको मात्र कारोबार हुन्छ । ऊर्जा क्षेत्रका ८ कम्पनी छन् । अधिकांश नयाँ हुन् । अन्य क्षेत्रका ३ कम्पनी मात्र सूचीकृत छन् । सेयर बजारमा कम्पनी सूचीकरणको यो अवस्थाले पनि नेपालको सेयर बजार अर्थतन्त्र नाप्ने ब्यारोमिटर हो भन्ने मिल्ने कुनै आधार छैन । बैंक तथा बिमा क्षेत्रका कम्पनीको सेयरमा हुने उतारचढावका आधरमा देशको अर्थतन्त्रलाई नाप्न सकिंदैन । वित्तीय क्षेत्रको विस्तारले मात्र सेयर बजारको वृद्धिलाई धानिरहन सक्दैन । विगतका र अहिलेको उतारचढावको कारण पनि यही हो ।