आन्तरिक मतभेदका कारण वर्तमान सरकारमा दुई जना मात्र मन्त्री पठाएको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले उसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको चुनाव सकिएपछि मात्रै पार्टीका तर्फबाट थप मन्त्री चयन गर्ने भएको छ।
पार्टीभित्र मन्त्रीका धेरै आकांक्षी भएपछि आन्तरिक सन्तुलन मिलाउन पार्टी सभापति देउवालाई हम्मे परेको छ। अहिले नै थप मन्त्री चयन गर्दा नेविसंघको चुनावमा त्यसको असर पर्ने सम्भावनालाई ध्यानमा राखेर मन्त्री चयनको निर्णय थाती राखेको उनी नजिक एक नेताको दाबी छ।
‘नेविसंघको चुनाव सकिएपछि मात्र थप मन्त्रीको नाम पठाउने जानकारी देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराइसक्नु भएको छ,’ देउवानिकट नेताले सेतोपाटीलाई बताए।
महाधिवेशन सत्र सुरु गरेको नेविसंघमा देउवापक्ष अरु भ्रातृ संगठनभन्दा केही कमजोर छ। भ्रातृ संगठनहरुमध्ये पार्टीमा नेविसंघको प्राभाव धेरै रहेने गरेको छ। त्यही भएर नेविसंघमा आफ्नो पक्षलाई जिताउन देउवा र पौडेल पक्षका नेताहरु कम्मर कसेर लागेका छन्। प्रतिनिधिको विवाद बल्ल सुल्झेको छ र पर्सी शुक्रबारसम्ममा नेविसंघमा नेतृत्वको चुनाव हुने कार्यक्रम तय भएको छ।
अहिले नै थप मन्त्रीको चयन गरेमा मन्त्री नपाउनेहरुले आफूलाई असहयोग गर्लान् भन्ने आशंका देउवाको छ। गएको महाधिवेशनमा देउवालाई सघाएका खुमबहादुर खड्का देउवा पार्टी र सरकारमा आफूलाई भाग नदिएको भनेर रुष्ट बनेका छन्। मन्त्रीमण्डल विस्तारमा पनि उनको चित्त बुझेन भने उनी पौडेल खेमामा पुग्ने डर देउवालाई छ।
त्यसैगरी, गत महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीमा उठेका अर्जुननरसिंह केसी पनि देउवासंग रुष्ट बनेका छन्। आफूले गृह मन्त्रालय पाउनुपर्ने दाबी गरेका केसी सो मन्त्रालय नपाएपछि मन्त्री बन्न नै अस्वीकार गरेर बसेका छन्। देउवा अहिले पनि उनलाई रक्षा वा स्वास्थ्य मन्त्रालयमध्ये एकमा मनाउन प्रयासरत छन्।
कोइराला परिवारका प्रभावशाली सदस्य शेखर कोइराला पनि परराष्ट्र मन्त्रालय नपाएकाले मन्त्रिमण्डलमा जान अस्वीकार गरेर बसेका छन्। आफ्नै समूहभित्र मन्त्रीका आकांक्षीहरुको व्यवस्थापन गर्न देउवाले चुनौती खेप्दै आएका छन्।
यस्तो अवस्थामा मन्त्रिमण्डलमा कांग्रेसका थप मन्त्री पठाउँदा सन्तुष्टभन्दा असन्तुष्टहरुको संख्या धेरै हुने छ।
‘ती असन्तुष्टहरुले नेविसंघमा आफू पक्षका उमेद्वारलाई हराउनतिर लाग्न सक्छन्,’ देउवानिकट नेताले भने, ‘त्यही भएर नेविसंघको महाधिवेशनपछि मात्र कांग्रेसका थप मन्त्रीको चयन हुनेछ।’
पुष्पकमल दाहालको मन्त्रिमण्डलमा १३ मन्त्रालय पाएको कांग्रेसले अहिलेसम्म जम्मा दुई जना मन्त्री मात्र पठाएको छ। दाहाल सरकारमा अहिले कांग्रेसका तर्फबाट गृहमन्त्री विमलेन्द्र निधि र भौतिक योजना मन्त्री रमेश लेखक मात्र सहभागी छन्।
कांग्रेसले थप मन्त्री पठाउन ढिलो गरेपछि माओवादी केन्द्रले पनि मन्त्री छान्न हतार गरेको छैन। मंगलबारमात्रै मन्त्री छान्न बसेको माओवादी सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै मन्त्री छान्ने अन्तिम अधिकार दिएको छ।
माओवादी केन्द्रका एक नेताले सेतोपाटीसँग भने, ‘कांग्रेसले मन्त्री नपठाएपछि हाम्रोतिर पनि खासै हतार छैन। हिजो प्रधानमन्त्रीलाई अधिकार दिएको भए पनि आज मन्त्रिमण्डल विस्तार हुन्न।’
उनका अनुसार कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीलाई अहिले माओवादी मन्त्री मात्र थप्ने भए पनि थप्नुहोस् भनिसकेका छन्। ‘प्रधानमन्त्रीले हाम्रामात्रै मन्त्री भोलि थप्नुहुन्छ वा कांग्रेसलाई पनि पर्खिनुहुन्छ थाहा छैन,’ उनले भने।