साँखर गाविसको सामुदायिक वनमा अज्ञात समूहले राखेका तीन वटा क्यामरा फेला परेका छन्।
साँखर-८ मा रहेको सोहर्दी सामुदायिक वनको सालको रुखको हाँगामा बाँधेर राखिएको अवस्थामा क्यामेरा मङ्गलबार फेला परेको हो भने थप दुई वटा क्यामरा बुधबार फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
दुई वटा क्यामरा साँखर-८ कै जंगलमा रुखमा भेटिएको हो। पहिलो क्यामेरा भेटिएको स्थानमा क्यामेरा राख्ने क्रममा तीन जनालाई स्थानीयवासीले भेटेको र सोधपुछ गर्दा सिकारका लागि राखिएको बताउँदै कसैलाई खबर नगर्न आग्रह गरेको बताइएको छ।
प्रहरी चौकी साँखर र इलाका प्रहरी कार्यालय रत्नपुरले सो क्यामराको थप अनुसन्धान गरिरहेको छ। बरामद गरिएका क्यामेरा अहिले रत्नपुर प्रहरी चौकीमा राखिएको छ। प्रहरीका अनुसार विदेशी क्यामेरा झन्डै १० हजार मूल्य बराबरको रहेको छ।
वन जङ्गलमा क्यामेरा देखेपछि यहाँका स्थानीयवासीलाई घाँस दाउरा गर्न, गाईबाख्रा चराउनका लागि जङ्गलमा जान पनि त्रास बढेको स्थानीयवासी कमलप्रसाद अधिकारीले बताए। रासस