पियरे डे कुबेर्टेनको सक्रियतामा सन् १८९६ मा आधुनिक ओलम्पिकको सुरुआत गर्ने निर्णय भयो। आयोजक ग्रिसका तत्कालीन राजकुमारले फ्रेन्च दूतावासमार्फत त्यतिबेला चीनमा राज्य सञ्चालन गरिरहेको ‘क्विङ सरकार’लाई निम्तो पठायो।
ओलम्पिक आयोजनाभन्दा दुई वषअघि सन् १८९४ मै पठाइएको उक्त निम्तोलाई तत्कालीन चिनियाँ सरकारले वास्तै गरेन। खेलकुदप्रति अनुदार ‘क्विङ सरकार’ ले ओलम्पिक भाग लिनु त परै जाओस्, निम्तोपत्रको जवाफ दिन पनि जरुरी ठानेन।
यो घटनाको २८ वर्षपछि १९२४ मा आएर बल्ल चीनले ओलम्पिक अभियानको महत्व पहिलोपल्ट महसुस गर्यो। र, पेरिसमा सम्पन्न आठौं संस्करणमार्फत् ओलम्पिकमा सहभागी हुने इच्छा प्रकट गर्यो।
त्यतिबेलासम्म चीन ओलम्पिक अभियानको विषयमा राम्रो जानकार थिएन। उसँग विश्वस्तरका कुनै खेलाडी थिएनन्। न बलियो खेल संरचना नै थियो। त्यही भएर चीनले पेरिस ओलम्पिकमा प्रदर्शनी खेलका रूपमा समावेश टेनिसमा मात्र आफ्ना तीन खेलाडी पठाउने निर्णय गर्यो।
ओलम्पिकमा चिनियाँ सहभागिताको इतिहास लामो भए पनि स्थिर छैन। पहिलो र दोस्रो विश्वयुद्धलाई छाडेर कुरा गर्ने हो भने चीनको ओलम्पिक सहभागिता कहिले अमेरिकी मोर्चाबन्दी त कहिले ताइवानी मुद्दाका कारण प्रभावित छ। यति हुँदाहुँदै पछिल्लो समय यो देशले खेलमा गरेको उन्नति र प्रगति हेरेर जिब्रो टोक्नेको कमी छैन।
आठ वर्षअघि बेइजिङमा ५१ स्वर्ण, २१ रजत र २८ कास्य पदक जितेर मेडल तालिकाको शीर्षस्थानमा रहेको चीन ब्राजिलको रियोमा जारी ३१ औं गृष्मकालीन ओलम्पिकमा आफ्ना सबै प्रतिद्वन्द्वीलाई उछिनेरर अगाडि बढ्ने दाउमा छ। उसको अगाडि यसपालि पनि सबैभन्दा ठूलो बाधा अमेरिका नै बन्ने लगभग पक्का छ। ३ सय ६ स्वर्णका लागि विश्वका २ सय ६ राष्ट्रले भाग लिएको रियो ओलम्पिकमा ६ दिनको खेल समाप्त हुँदा ७२ पदकको नतिजा सार्वजनिक भइसकेको छ। यसमा अमेरिका १ स्वर्णले चीनभन्दा अगाडि छ। अमेरिकाले ११ र चीनले १० स्वर्ण जितेका छन्। चार वर्षअघि लन्डन ओलम्पिकमा ८ स्वर्णले अमेरिकाभन्दा तल परेको चीनका लागि यो नतिजा पक्कै पनि उत्साही बनाउने खालको छ।
सन् १९३२ को दसौं ओलम्पिकमा ‘कुमिङताङ सरकार’ को निर्देशनपछि लस एन्जल्स पुगेको ६ सदस्यीय चिनियाँ टोलीमा पहिलो ओलम्पिक खेल्ने इतिहास दुई सय मिटर धावक लिउ चावुङले रचेका थिए। त्यतिबेला चीन उपाधिविमुख बनेको थियो।
१९४९ मा माओको उदय र १९५८ मा ताइवानलाई छुट्टै ओलम्पिक कमिटीको मान्यता दिने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को निर्णयप्रति रुष्ट चीनले २१ वर्ष ओलम्पिक बहिस्कार गर्ने नीति लियो। यसबीच यो देश ६ ओलम्पिकमा सहभागी भयो। तर, सबै ओलम्पिकमा पदक नबोकी घर फर्कियो।
तत्कालीन सोभियत संघले १९७९ को अन्त्यमा अफगानिस्तानमाथि गरेको हस्तक्षेपको विरोधमा मस्को ओलम्पिक बहिस्कार गर्ने अमेरिकी मोर्चाबन्दीलाई समर्थन गरेको चीनले ओलम्पिक पदक जित्न सन् १९८४ को लस एन्जल्स ओलम्पिक कुर्नुपर्यो। २ सय २४ खेलाडीले भाग लिएको २३ औं गृष्मकालीन ओलम्पिकमा ५० मिटर पिस्तोलतर्फ झु हाइफेङले चीनलाई पहिलो स्वर्ण दिलाएका थिए। त्यसयता ओलम्पिकमा चीनको सफलता यात्रा थामिएको छैन।
चीन ओलम्पिकमार्फत् विश्वलाई नै आफ्नो देश खेलकुदका लागि उर्वरभूमि भएको आभास दिलाउने अभियानमा डटेर लागेको छ। १९८४ को लस एन्जल्स ओलम्पिकमा १५ स्वर्ण, ८ रजत र ८ कास्य गरी ३२ पदक जितेको चीनले रियोसम्म आइपुग्दा एउटै ओलम्पिकमा पदक जित्ने अभियानलाई दुई गुना वृद्धि गरिसकेको छ।
हुन पनि पछिल्लो ३२ वर्षमा चीनले यस्तो छलाङ मार्यो, यो देश अहिले आर्थिक रूपले मात्र होइन, खेलकुदमै सर्वशक्तिशाली देशका रूपमा परिणत भइसकेको छ। खेलकुदमा गरेको उच्च लगानी यो सफलताको एउटा कारण हुनसक्छ। अर्को कारण हुनसक्छ, अमेरिकालाई पछारेर विश्वशक्तिराष्ट्र बन्ने उत्कट अभिलाषा।
शक्तिराष्ट्रको उचाइँमा पुगेपछि आर्थिक रूपले सम्पन्न भएर मात्र पुग्दैन, खेलकुद, कला, साहित्यजस्ता विविध क्षेत्रमा पनि उत्तिकै उचाइँ कायम गर्नुपर्छ भन्ने चीनले बुझेको छ। ओलम्पिकको लगातार सफलता त्यसैको एउटा पाटो हुनसक्छ।
नब्बेको दशकमा सोभियत संघको पतनपछि सन् १९९६ एट्लान्टा ओलम्पिकमार्फत् विश्व खेलकुदमा राज गर्दै आइरहेको अमेरिकी दबाबलाई चीनले बेइजिङ ओलम्पिकमा निस्तेज पारेको थियो। त्यो सफलता रियो ओलम्पिकमा पनि दोहोर्याउन चीन सफल होला त?