चोटका कारण एक महिनाअघि जमैकाको राष्ट्रिय प्रतियोगितामा भाग लिन नसकेका उसेन बोल्टको विषयमा थुप्रै अफवाह फैलिएको थियो। देब्रे खुट्टाको नसा तन्किएपछि २९ वर्षीय तीब्र धावकको विषयमा धेरैले अनुमान लगाएको थिए, अब बोल्टको ओलम्पिक यात्रा सकियो।
तर, रियोमा ओलम्पिक सुरु नहुँदै दुई साताअघि उनले बेलायतमा भएको लन्डन वार्षिकोत्सव खेलमा भाग लिए। र, त्यहाँ आफ्नो फिटनेश ठीक भएको प्रमाणित गर्न सफल भएपछि बोल्ट रियो ओलम्पिकका लागि अन्तिम समयमा जमैकाको टोलीमा अटाउन सफल भए। रियो पुग्नुअघि बोल्टले आफ्नी आमा जेनिफरलाई बचन दिएका थिए–ढुक्क भएर बस्नु। स्वर्ण म नै बोकेर आउनेछु।
नभन्दै बोल्टले (नेपाली समयअनुसार सोमबार बिहान) सय मिटर स्पर्धा ९ दशमलव ८१ सेकेन्डमा पुरा गर्दै रियोमा फेरि ३ वटा स्वर्ण जित्ने अभियानको सुरुवात गरिसकेका छन्।
सय मिटरमा आफ्ना प्रतिद्धन्द्धी अमेरिकाका जस्टिन ग्याटलिनलाई पुनः पछाडि पारेका बोल्ट अब २ सय र ४ गुना सय मिटर रिले खेल्दैछन्।
बोल्टले सय मिटर स्पर्धामा लगातार ३ वटा स्वर्ण जितेपछि उनकी आमाले छोराको विषयमा थुप्रै रोचक जानकारी दिएकी छिन्। उनले रियो ओलम्पिकपछि छोराले खेलबाट सन्यास लिँदै वैवाहिक बन्धनमा बाधिन लागेको खुलासा गरिन्। भनिन्– ‘अन्य आमाहरू जस्तै मलाई पनि छोराको दाम्पत्य जीवन सुरु होस् भन्ने लागेको छ। उसले पनि ओलम्पिक सकिएपछि बिहे गर्ने स्वीकृति मलाई दिएको छ।’
५४ वर्षीय जेनिफर उसेनले भविष्यमा कमाल गर्छ भन्ने आफूलाई ऊ ३ महिनाको हुँदै थाहा भएको बताइन्।
बोल्ट रियो ओलम्पिकमा डान्सरसँग नाचिरहेको भेटिन्थे। जमैकाले गरेको पत्रकार सम्मेलनमा उनको तस्बिर आफ्नो क्यामरामा कैद गर्न पाइने लोभले ५ सय ३० देशका पत्रकारले उपस्थितिका लागि आवेदन भरेका थिए।
रियो आयोजक समितिले मौकामा उनलाई टेलिभिजन उपलब्ध गराउन नसकेपछि उनले आफैंले किनेको टेलिभिजन ओलम्पिक भिलेजस्थित आफ्नो कोठाको भित्तामा टाँगेका छन्।
६ फिट ४ इन्च अग्ला बोल्टको बानी रसिक छ। तर, उनलाई ट्रयाकभित्र कसैले चुनौती दिएको मन पर्दैन्।
यसबाट उनको प्रतिद्धन्द्धीहरू पनि साक्षात्कार छन्। सन् २०११ मा जाग्रेबमा आयोजना भएको एउटा स्पर्धामा अमेरिकाका जस्टिन ग्याटलिनले उनीतर्फ हेर्दै उनले दौडिने लेनमा थुकेपछि बोल्ट मनमनै यति आगो भए। उनले त्यो दौड ९ दशमलव ६० सेकेन्डमा पुरा गर्दै ग्याटलिनलाई पछाडि छोडे।
अर्को वर्ष जमैकाको राष्ट्रिय दौड प्रतियोगिताअन्तर्गत २ सय मिटर स्पर्धामा बोल्ट आफ्ना सहपाठी योहान ब्लेकसँग पराजित बन्न पुगे। त्यतिबेला उनलाई हेर्दै ब्लेकले मुखमा औला राखेर चुप लाग्न गरेको इसारा बोल्टको मनमा यति गढेछ। उनले ब्लेकको इसारालाई आफ्नो खिल्ली उडाएको घटनाको रूपमा लिए।
घटना लगत्तै लन्डनमा आयोजना भएको अर्को प्रतियोगितामा उनले सय र २ सय मिटर दौडमा ब्लेकलाई धेरै पछि छोडे। दुवै स्पर्धामा ब्लेकले रजतमा चित्त बुझाउनु पर्यो। बोल्ट सन् २००९ मा कालको मुखबाट फर्किएका थिए। उनी आफ्नो आत्मवृत्तान्तका लागि सुटिङमा सहभागी हुँदा कार दूर्घटनामा परेका थिए। त्यतिबेला तीब्र गतिमा कुदाइएको बिएमडब्लु एम–३ मोडलको कार नियन्त्रणभन्दा बाहिर पुगेपछि ३ बल्ड्याङ खाएर कच्याक–कुचुक भएको थियो। उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो। उनको घुँडामा अनगिन्ति सिसाका टुक्राहरू थियो। उनलाई होसमा ल्याउन चिकित्सकहरूलाई १२ घण्टा लागेको थियो। होसमा आएपछि बोल्टले सबैभन्दा पहिले आफ्नो घुँडा र पाइताला हेरेका थिए। दुवैको अवस्था ठीक भएको पत्तो पाएपछि उनले सर्वप्रथम भगवानलाई धन्यवाद दिएका थिए।
सन् २००४ को एथेन्स ओलम्पिकमा बोल्ट १५ वर्षे फुच्चे खेलाडीको रूपमा सहभागी थिए। तर, हयामस्ट्रिङको समस्याले गर्दा उनले बीचैमा २ सय मिटर खेल परित्याग गर्नु पर्यो। बोल्टले आफू जन्मिएको गाउँमा स्वास्थ्य सुधारका लागि ३० लाख अमेरिकी डलरको सहयोग स्थानीय निकायलाई गरेका थिए।
उनले ३ वर्षअघि गाउँमा पिउने पानीको व्यवस्था गर्न आफ्नो फाउन्डेसनमार्फत ४० लाख डलर सहयोग गरेका थिए।