आदरणीय पाठकहरू,
केही साताअघि हामीले सेतोपाटीको ‘स्वैच्छिक शुल्क योजना’ चाँडै नै सुरु गर्ने बताएका थियौं। हामीलाई धेरै पाठकले आफू यो योजनाको सदस्य बन्न तयार रहेको जाकारी दिँदै चाँडो सुरु गर्न हौस्याउनुभएको थियो। हामी आज त्यसै सम्बन्धमा थप जानकारी लिएर तपाईंहरुसमक्ष आएका छौँ।
'स्वैच्छिक शुल्क योजना' को प्राविधिक तयारी लगभग पूरा भएको छ। अब हामी यो योजनाप्रति इच्छुक पाठकहरुको प्रारम्भिक तथ्यांक संकलन गर्ने र 'स्वैच्छिक शुल्क योजना' को प्राविधिक परीक्षण गर्ने अन्तिम प्रक्रियामा आइपुगेका छौं।
यो योजनाप्रति इच्छुक आदरणीय पाठकहरुले हामीलाई आफ्नो इमेल वा फोन नम्बर पठाएर प्रारम्भिक 'डेटाबेस' निर्माण गर्न सहयोग गरिदिनुहुन हामी विनम्र अनुरोध गर्दछौं। तपाईंहरुले saath@setopati.com मा हामीलाई आफ्नो इमेल वा फोन नम्बर पठाउन सक्नुहुनेछ।
हामीले यसअघि नै भनिसकेका छौं, पत्रकारिता क्षेत्रमा लामो समय काम गरेको अनुभवका आधारमा हाम्रो टिमको एउटा निचोड छ– कुनै पनि सञ्चारगृहको वार्षिक खर्चको महत्वपूर्ण अंश पाठकहरूले नबेहोरुञ्जेल त्यो सञ्चारगृहले स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्न सक्दैन। आम्दानीको ८०–९० प्रतिशत विज्ञापनले धान्ने सञ्चारगृह अन्ततः पाठकमा हैन, बजारमाथि निर्भर हुन पुग्छ। अर्थशास्त्रको सामान्य तर क्रूर नियम यही हो।
हामी आफ्नो निष्ठा सधैं पाठक र समाजप्रति राख्न चाहन्छौं। स्वतन्त्र सञ्चारगृह निर्माणमा पाठकको अभिरुचि र साथ अपरिहार्य हुन्छ भन्ने हामीले सुरुदेखि नै विश्वास गर्यौं। त्यही विश्वासको फेरो समातेर हामी यहाँसम्म आइपुगेका छौं।
सेतोपाटीमा कसको लगानी छ र यो आजसम्म कसरी चलेको छ भन्नेबारे हामीले पहिले पनि बताएका छौं। नयाँ पाठकका लागि दोहोर्याउन चाहन्छौं, यहाँ काम गर्ने पत्रकारबाहेक सेतोपाटीमा अरु कसैको लगानी छैन। यस अर्थमा सेतोपाटी पूर्ण रूपमा पत्रकारहरूको कम्पनी हो। सन् २०१३ अप्रिल १ तारिखमा स्थापना भएदेखि लगभग दुई वर्ष यो संस्थाको आर्थिक व्ययभार हामी आफैंले बेहोर्यौं। त्यो समय हाम्रा लागि आर्थिक हिसाबले निकै चुनौतीपूर्ण रह्यो।
हामीले पहिले पनि जानकारी गराएका छौं, सन् २०१५ जनवरीमा हंगेरीको राजधानी बुडापेस्टस्थित ओपन सोसाइटी इन्स्टिच्युटले आठ महिनाका लागि सेतोपाटीको सञ्चालन खर्चको केही हिस्सा बेहोर्ने लगायत कार्यालय विस्तारमा केही पुँजीगत सहयोग गर्ने निर्णय गर्यो। यो संस्थाले संसारभरका सयौं स्वतन्त्र र वैकल्पिक मिडियालाई सहयोग गर्ने गरेको छ। हामीलाई इन्स्टिच्युटले त्यो बेला करिब १ लाख २८ हजार अमेरिकी डलर सहयोग उपलब्ध गराएको थियो। त्यस्तै, त्योभन्दा अघि ओपन सोसाइटी इन्स्टिच्युटकै श्रोतबाट चल्ने काठमाडौंस्थित एलायन्स फर सोसियल डायलगले सेतोपाटीलाई हामी आफैंले छानेका नीतिगत विषयमा बहस तथा रिपोर्टिङ गर्न र खोजमूलक पत्रकारितामा गर्न चार लाख रुपैयाँ सहयोग गरेको थियो।
त्यो हाम्रा लागि कठिन समयमा प्राप्त महत्वपूर्ण सहयोग थियो। ओपन सोसाइटी इन्स्टिच्युटको माथि उल्लिखित रकमबाहेक हामीले कुनै संस्था वा व्यक्तिबाट कुनै सहयोग लिएका छैनौं। लगभग पछिल्लो एक वर्ष सेतोपाटी आफ्नै आयस्रोतबाट चल्दै आएको छ र अहिले यसको वार्षिक खर्च एक करोड भन्दा बढि छ। सेतोपाटी कम्पनी रजिस्ट्रारको कार्यालय र भ्याटमा दर्ता कम्पनी हो र यसले समयमै कर चुक्ता गर्ने गर्छ।
आदरणीय पाठकहरू, तपाईंहरूले देख्नुभएको छ, पछिल्ला केही महिनादेखि सेतोपाटीमा विज्ञापन केही मात्रामा बढेको छ। तर, कुनै संस्थाको अनुदान वा बजारको विज्ञापनमा मात्र आश्रित मिडिया पूर्ण रूपमा स्वतन्त्र हुन सक्दैन भन्ने हामी फेरि दोहोर्याउन चाहन्छौं। त्यसैले, सेतोपाटीको दीर्घकालीन आर्थिक स्थायित्व र सम्पादकीय स्वतन्त्रताका लागि हामीले ‘स्वैच्छिक शुल्क योजना’ अघि बढाएका हौँ।
नेपालभित्रबाट पढ्ने पाठकलाई महिनाको ५० रुपैयाँ र नेपाल बाहिरबाट पढ्ने पाठकलाई महिनाको दुई डलर स्वैच्छिक शुल्क तोकिएको हामीले यसअघि नै जानकारी गराइसकेका छौं।
नेपालभित्रका ग्राहकले एटिएम कार्ड प्रयोग गरेर र नेपाल बाहिरका ग्राहकले भिसा वा मास्टर कार्ड प्रयोग गरेर सेतोपाटीकै पेजमार्फत् शुल्क तिर्न सक्नुहुनेछ। यो स्वैच्छिक शुल्क प्रभावकारी ढंगले अघि बढाउन तपाईंको इमेल वा फोन नम्बर पठाइदिनुहुन फेरि पनि हामी अनुरोध गर्दछौं।
सेतोपाटी नेपालसहित संसारका दुई सय मुलुकमा बसोबास गर्ने नेपाली तथा विदेशीले पढ्नुहुन्छ। यो हाम्रा लागि गर्वको कुरा हो। पाठकको यही विश्वास नै हाम्रो सबैभन्दा ठूलो पुँजी हो। यसले हामीलाई हरेक दिन जिम्मेवार, निडर र निष्पक्ष पत्रकारिता गर्न प्रेरित गर्छ।
आर्थिक आत्मनिर्भरतासँगै हामी सेतोपाटीलाई थप सबल र थप सिर्जनशील बनाउने छौं। हामी पत्रकार र पाठक मिलेर नै नेपाली समाजको सरोकार पछ्याउने एउटा सशक्त सञ्चारगृह बनाउन सक्छौं। सधैझैँ सेतोपाटीलाई तपाईं पाठकहरूको साथ रहनेछ भन्ने हाम्रो विश्वास छ।